४ माघ २०८२, आइतबार | January 18, 2026

रूरूक्षेत्र धार्मिक पर्यटकीय गन्तव्य बन्दै



गुल्मी । हिन्दू धर्मावलम्बीका लागि विशेष आस्थाको केन्द्र मानिने रूरूक्षेत्र पछिल्लो समय धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकासित हुँदैछ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सङ्गमस्थल कालीगण्डकी नदीको तटमा अवस्थित रुरुक्षेत्रलाई हिन्दूहरुको पवित्र तीर्थस्थलका रुपमा लिइन्छ ।

यहाँ हरेक वर्ष जेठी, माइली र कान्छी गरी तीन दिनसम्म माघेसङ्क्रान्ति पर्व मनाइने प्रचलन छ । माघे सङ्क्रान्तिका अवसरमा रिडीमा छ दिनसम्म माघे मेलासमेत सञ्चालन हुने गर्दछ । रुरुक्षेत्रमा आयोजना हुने रिडी मेलाले स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउँदै आएको छ ।

माघे सङ्क्रान्तिदेखि सुरु हुने रिडी मेलामा दैनिक हजारौँ श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ । विशेषगरी स्नान, पाठपूजा, श्राद्ध तथा पिण्डदान, धार्मिक अनुष्ठानलगायतका धर्मकर्ममा आउने भक्तजनका कारण रूरूक्षेत्रमा चहलपहल बढेको देखिन्छ । धार्मिक विश्वासअनुसार यहाँ स्नान गरे पाप नास हुने र मनोकामना पूरा हुने जनविश्वास रहेको छ । जसका कारण टाढाटाढाबाट समेत भक्तजनहरु यहाँ आउने गदर्छन् ।

रिडी क्षेत्रलाई धार्मिक, पौराणिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले पनि निकै महत्वपूर्ण मानिन्छ । रिडी गुल्मी जिल्लाको सदरमुकाम तम्घासदेखि ४५ किलोमिटर र पाल्पाको सदरमुकाम तानसेनदेखि ३० किलोमिटरकाबीचमा भागमा छ । पाल्पाबाट गुल्मीतर्फ प्रवेश गर्ने पहिलो द्वारका रुपमा रिडीलाई चिनिन्छ ।

कालीगण्डकी नदी र रिडी खोलाको बीच भागमा पर्ने रिडी क्षेत्र गुल्मीको सदरमुकाम तम्घासपछिको दोस्रो ठूलो बजार पनि हो । समुद्री सतहदेखि एक हजार ८०० फिटको उचाइमा रहेको रिडी बजार यस क्षेत्रका व्यापारिक केन्द्र पनि हो ।

रिडी नामाकरणका विषयमा विभिन्न किम्वदन्तीहरु रहेको पाइन्छ । कतिपय धर्मग्रन्थमा देवदत्त ऋषिको छोरी कन्यालाई रुरु (मृग) ले आफ्नो दूध खुवाएर हुर्काएको हुनाले ती कन्याको नाम रुरु कन्या रहेको र त्यही रुरुकै नामले रिडी रहन गएको भनाइ छ । जातीय दृष्टिकोणले हेर्दा गुल्मी र पाल्पालाई मगराती क्षेत्र भन्ने गरिन्छ । त्यसै कारणले पनि यी जिल्लाहरुको अधिकांश स्थानहरुको नाम मगराती भाषाअनुसार रहेको हुनाले मगर भाषामा ‘ऋ’ को अर्थ धमिलो या मैलो र ‘डी’ को अर्थ पानी हुने भएको र रिडी खोलामा धमिलो पानी बग्ने हुनाले त्यस क्षेत्रको नाम रिडी रहन गएको भन्ने मान्यता पनि छ ।

कतिपय पुस्तकमा रुरुक्षेत्रको अपभ्रंश शब्द रिडी क्षेत्र हो भन्ने तर्क रहेको पाइन्छ । स्थानीय अग्रजहरुका अनुसार रुरु कन्याको नामवाट अपभ्रंस भएर रिडी नाम रहन गएको हो ।

रिडी क्षेत्रमा देवदत्त ऋषिले तपस्या गरेको स्थान कालीगण्डकीको किनारमा एउटा गलफूल नाम गरेको गुफा समेत छ । त्यसै गुफामा रुरु कन्याको मन्दिर, देवदत्त ऋषि र हरिहर भगवान्को मूर्तिसमेत रहेको छ । श्रद्धालुहरु त्यस ठाउँमा पूजाआजाका लागि जाने गर्दछन् ।

रिडी क्षेत्रमा एक दर्जनभन्दा वढी प्राकृतिक गुफासमेत छन् । ती गुफाहरु मध्यमा गलफूल गुफा, आनन्दकुटी, रामकुटी र वशिष्ठ गुफा निकै महत्वपूर्ण मानिन्छ । बाहिरबाट आएको सन्यासीहरु तिनै गुफामा बस्ने गर्दछन । सांस्कृतिक रुपमा रिडीमा नेवार समुदायको बसोबास केही बढीमात्रामा छ । आफ्नो सांस्कृतिक परम्पराअनुसारका चाडपर्व मनाउने प्रचलन विद्यमान छ ।

रिडीको कालीगण्डकीमा अन्त्येष्टि गरिए जीवन कर्ममा गरेका पापबाट मुक्ति मिल्ने र वैकुण्ठबास हुने धार्मिक तथा सांस्कृतिक मान्यताका आधारमा मानिसको मत्युपछि रिडीमा लैजाने प्रचलन विद्यमान छ । रिडीको कालीगण्डकी किनारमा कुनै समयमा कसैको दाहसंस्कार नभएमा स्थानीय मानिसहरुलाई हानी गर्छ भन्ने मान्यताका आधारमा सिद्रा पोलेर दाहसंकार गर्ने प्रचलन रहेको थियो । तर आजभोलि भने उक्त परम्परा भने हराउँदै गएको छ ।

रिडीमा माघेसङ्क्रान्ति र कात्तिक एकादशीदेखि पूर्णिमासम्म ठूलो मेला लाग्ने गर्दछ । तीन दिनसम्म लाग्ने माघेसङ्क्रान्ति मेला व्यापारिक दृष्टिकोणले जिल्लामा महत्वपूर्ण मानिन्छ । माघे मेलामा गुल्मीलगायत पाल्पा, स्याङ्जा, अर्घाखाँची, बागलुङ, रुकुम र रोल्पासम्मका व्यापारीहरु आउने गर्दछन् । कम्मल, काम्ला, बाँसबाट निर्मित सामग्री र ओखरका घाँजी रिडीको माघेसङ्क्रान्ति मेलाका थप आकर्षकका वस्तुअन्तर्गत पर्दछन् ।

यातायातको दृष्टिले रिडी मुख्य नाका पनि हो । यसै ठाउँ हुँदै गुल्मी, अर्घाखाँची र वागलुङ्को बुर्तिवाङसम्म सवारीसाधन ओहोरदोहोर गरिरहेका हुन्छन् । सनातन धर्ममा विभिन्न तीर्थस्थल मध्यमा रुरुक्षेत्रको ठूलो महत्व छ । नेपालका चारधाम भनेर मुक्तिक्षेत्र, पशुपति क्षेत्र, रुरु क्षेत्र, बराह क्षेत्रलाई चिनिन्छ । तीमध्ये मुक्तिक्षेत्र र रुरुक्षेत्र धाम नेपालमा पर्दछन् ।

रुरुक्षेत्रमा शालीग्राम, ऋषिकेश मन्दिर, शिवालय मन्दिर, रुरुकन्या मन्दिर, भृगुतुङ्गेश्वर मन्दिरलगायतका प्रसिद्ध मन्दिरहरु छन् । यहाँ विशेषतः माघेसङ्क्रान्ति र ठूला एकादशीमा ठूलो मेला लाग्ने गर्दछ । प्रत्येक सङ्क्रान्ति, ग्रहण, एकादशी, औँशी आदि पर्वमा श्रीकृष्ण गण्डकीमा स्नान गरी ऋषिकेश भगवानको दर्शन गर्न श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । रूरूक्षेत्र गाउँपालिकाले रूरू क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित विभिन्न काम थालेको छ । गाउँपालिकाले रुरुक्षेत्रको संरक्षण, सरसफाइ, घाट व्यवस्थापन, सडक पहुँचमार्ग सुधार तथा प्रचारप्रसारलाई प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताए ।

“रूरूक्षेत्र केवल धार्मिकस्थल मात्र होइन, यो ऐतिहासिक एवं पर्यटकीय विकासको सम्भावनाको केन्द्र पनि हो, यसलाई धार्मिक पर्यटनसँग जोडेर दिगो विकास गर्ने हाम्रो योजना छ”, गाउँपालिका अध्यक्ष ज्ञवालीले भने ।

रिडी मेलामा घरेलु सामग्रीको व्यापार निकै राम्रो हुने गर्दछ । मेला भर्न आउने अधिकांश मानिसले विशेषगरी कम्मल, काम्ला, राडीपाखी, काठ तथा बाँसका चोयाबाट निर्मित सामग्रीहरुका साथै ओखरका घाँजी, गुँड, सुन्तला, कफीलगायत वस्तुहरु खरिद गरि लैजाने गर्दछन् ।

रुकुम र रोल्पाबाट भेँडाको ऊनबाट बुनेर ल्याएका राडीपाखी, कम्बल तथा काम्लाहरुको यहाँ राम्रो व्यापार हुने गर्दछ । रुरुक्षेत्र गाउँपालिकाको संरक्षकत्वमा गुल्मी उद्योग वाणिज्य सङ्घ रिडी शाखाको आयोजनामा ठूला मेला सञ्चालन हुँदै आएको छ ।

हालै सम्पन्न रिडी मेलाको मुख्य आकर्षणमा कालीगण्डकी क्षेत्रमा निर्माण गरिएको तीनमुखे झोलुङ्गे पुल र स्थानीयहरुको पहलमा खोला थुनेर बनाइएको कृत्रिम ताल र त्यही तालमा सञ्चालन गरिएको डुङ्गा आन्तरिक पर्यटकहरुको रोजाइमा परेको स्थानीय सुन्दर कसजुले जानकारी दिए ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ५ : ४० बजे

समानुपातिकमा ५७ निर्वाचन चिह्नमा ६३ राजनीतिक दलबाट ३ हजार २१३ जना उम्मेदवार(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान । धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको

उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा १३ प्रकारका कागजात बुझाउन आवश्यक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

धरानका मेयर साम्पाङले दिए राजीनामा

विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले पदबाट औपचारिक रूपमा

क्याननमा ‘फुड क्यानिभल’

बुटवल । बुटवल ८ सुख्खानगरस्थित क्यानन माध्यमिक विद्यालयमा आईतबार ‘फुड