काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवार आज टुंगो लगाउने भएको छ । पार्टीले केही क्षेत्रका उम्मेदवार यसअघि नै निश्चित गरिसकेको भए पनि बाँकी क्षेत्रका उम्मेदवारको नाम आजै अन्तिम रूप दिने जनाएको छ ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन् । उनेपा नेता जितराम लामाका अनुसार अध्यक्ष घिसिङसँगै आफू भक्तपुर-२ बाट उम्मेदवार बन्ने भएका छन् । यस्तै, गोरखा-१ बाट रामकाजी राणालाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
पार्टीले कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाइसकेको जनाएको छ । मधेश प्रदेशतर्फ सप्तरी-१ बाट हर्षनारायण चौधरी, सप्तरी-२ बाट दीपक चौधरी, सिरहा-३ बाट श्रवण पासवान उम्मेदवार रहने भएका छन् ।
यसैगरी बागमती प्रदेशतर्फ काभ्रे-२ बाट ज्योत्सना सैंजु, काठमाडौं-९ बाट रामेश्वर श्रेष्ठ तथा धादिङ-१ बाट श्यामराजा पाण्डे उम्मेदवार बन्ने तय भएको नेता लामाले जानकारी दिए ।
पार्टीले बाँकी रहेका निर्वाचन क्षेत्रका उम्मेदवारबारे आज बस्ने बैठकबाट अन्तिम निर्णय गर्ने जनाएको छ । उनेपाले आगामी निर्वाचनमा सबै प्रदेश र प्रमुख निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्दै आफ्नो उपस्थिति बलियो बनाउने तयारी गरेको बताएको छ ।


















प्रतिक्रिया