काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फको बन्द सूचीमा रूपन्देहीबाट एजाज आलमको नाम थप गरेको छ । यसअघि सार्वजनिक गरिएको समानुपातिक सूचीमा रूपन्देही जिल्लाबाट एक जना पनि उम्मेदवार नसमेटिएको भन्दै पार्टीभित्र र बाहिर आलोचना हुँदै आएको थियो ।
जिल्लाका नेता तथा कार्यकर्ताहरूको दबाब र आलोचनापछि एमालेले सूची संशोधन गर्दै एजाज आलमको नाम समावेश गरेको हो । निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको समानुपातिक बन्द सूचीअनुसार आलमलाई मुस्लिम पुरुष कोटाबाट पहिलो नम्बरमा राखिएको छ ।
एजाज आलम हाल नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य छन् । उनी उद्योग-व्यवसाय क्षेत्रमा परिचित व्यक्तित्वका रूपमा चिनिन्छन् । आलम रूपन्देही उद्योग संघका पूर्व अध्यक्ष भइसकेका छन् भने हाल नेपाल उद्योग परिसंघ (सीएनआई) लुम्बिनी प्रदेश अध्यक्ष तथा औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्षको जिम्मेवारीमा छन् ।
सानो उमेरदेखि नै उद्योग, व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय आलमको अगुवाइमा बुटवलमा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल सञ्चालनमा रहेको छ । सो अस्पतालका अध्यक्षसमेत रहेका आलम सामाजिक सेवामा पनि उल्लेख्य योगदान दिँदै आएका छन् ।
एमालेले समानुपातिक सूचीमा रूपन्देहीबाट प्रतिनिधित्व सुनिश्चित गरेसँगै जिल्लाका नेता-कार्यकर्ताले पार्टी नेतृत्वको निर्णयलाई सकारात्मक रूपमा लिएका छन् ।


















प्रतिक्रिया