१० चैत्र २०८२, मंगलबार | March 24, 2026

कमला नदीमा अस्थायी ‘डाइभर्सन’



सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवतजावत सहज भएको छ । वर्षौँदेखि भासिएको पुलको विकल्पमा ‘ह्युमपाइप’ राखेर डाइभर्सन बनाइएपछि साना-ठूला सबै प्रकारका सवारीसाधन सञ्चालनमा सहज भएको छ ।

हप्तादिन अघिदेखि नै सार्वजनिक सवारी चल्न थालेको जानकारी दिँदै सिरहा नगरपालिका-६ का वडाध्यक्ष इन्द्रजित यादवले भने, ‘हाल सबै प्रकारका सवारीसाधनहरूको सहज आवतजावत सुरु भइसकेको छ । यसले स्थानीय बासिन्दा र छोटो रुटबाट मधेस प्रदेशको राजधानी जनकपुर जाने यात्रुलाई ठूलो राहत मिलेको छ ।’

गत मङ्सिर ५ गते निवर्तमान भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले पुलको स्थलगत अनुगमन गर्दै पुनर्निर्माणको काम तत्काल अघि बढाउन निर्देशन दिएका थिए । त्यस क्रममा उनले काम सन्तोषजनक नभए ठेक्का तोड्ने चेतावनी दिँदै तत्काल अस्थायी रूपमा आवत-जावतको व्यवस्था मिलाउनसमेत निर्देशन दिएका थिए । घिसिङको निर्देशनलगत्तै निर्माण कम्पनीले ह्युमपाइप राखेर डाइभर्सन तयार पारेको हो ।

यसअघि स्थानीय युवाले निर्माण गरेको बाँसको पुलबाट शुल्क तिरेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । बर्खायाममा बाँसको पुल बाढीले बगाउँदा स्थानीयले डुङ्गाको सहारामा ज्यान जोखिममा राखेर नदी वारपार गर्दै आएका थिए ।

चौध वर्षपछि पुल निर्माण अन्तिम चरणमा

विगत १४ वर्षदेखि अलपत्र अवस्थामा रहेको यहाँको पुल निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ हाल दैनिक ४० देखि ५० जना कामदार ‘फिनिसिङ’ र मर्मतको काममा खटिएको निर्माण कम्पनीले जनाएको छ ।

पप्पु लुम्बिनी जेभीले ठेक्का पाए पनि पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेपछि हाल लुम्बिनी बिल्डर्सले यहाँ काम गरिरहेको छ । निर्माण कम्पनीका साइट इन्चार्ज सुदीप थापाले भने, ‘हामी बाँकी संरचनात्मक कामहरू द्रुत गतिमा गरिरहेका छौँ, असार मसान्तभित्र पुलबाटै सवारीसाधन सञ्चालन हुने गरी काम सम्पन्न गर्ने हाम्रो लक्ष्य छ ।’

२०६८ सालमा तीन वर्षभित्र सम्पन्न गर्ने भन्दै सुरु गरिएको पुल २०७८ साल असारमा आएको बाढीले दुईवटा पिलर भासिएर चारवटा स्ल्याबमा क्षति पुर्‍याएपछि समस्या भएको हो ।

पुल निर्माणमा ढिलाइ हुँदा सिरहा र धनुषाका स्थानीयवासी जोखिमपूर्ण अस्थायी बाटो प्रयोग गर्न बाध्य छन् । स्थानीय युवा सन्तोष यादवका अनुसार तत्कालीन मन्त्री घिसिङको पहलपछि पुल निर्माणले गति लिएको हो ।

हुलाकी राजमार्गको मेरुदण्ड मानिने यो पुल सम्पन्न भएपछि सिरहा र धनुषाका हजारौँ नागरिकको कष्टकर यात्रा अन्त्य हुनेछ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहिबार  ७ : ३७ बजे

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक

झापामा ‘बर्ड फ्लु’ देखियो, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा । झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि