भैरहवा । रुपन्देहीको सदरमुकाम भैरहवामा पछिल्लो समय क्यासिनो पर्यटनका कारण चहलपहल बढेको छ । क्यासिनोमा रमाउन आउने पर्यटकका कारण छिमेकी देशकै पुरानोमध्यको व्यापारिक केन्द्रका रुपमा परिचित भैरहवा बजारमा चहलपहल बढेको हो ।
भारतको सुनौली नजिकै रहेको भैरहवा क्षेत्रमा खुलेका क्यासिनोहरु पर्यटन तान्ने मुख्य मनोरञ्जनका साधनहरु बनेका स्थानीयको भनाइ छ । कोरोना भाइरसको सङ्क्रमणपछि अधिकांश पेसा, व्यावसायको आर्थिक गतिविधि प्रभावित भइरहेको अवस्थामा पछिल्ला समय यो बजार क्यासिनो पर्यटनबाट लाभान्वित भएको देखिन्छ ।
यसै सन्दर्भमा सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्य विशेषगरी भारतीय पर्यटक आकर्षित गर्न भैरहवास्थित क्यासिनोका कारण यस क्षेत्रमा सञ्चालित होटल, रेष्टुराँ तथा ‘स्पा’लगायतका अन्य व्यापारसमेत लाभान्वित हुनपुगेको बताउँछन ।
क्यासिनोमा आउने पर्यटकले गर्दा यस क्षेत्रको समग्र व्यापार, व्यावसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लाभ पुगेको उल्लेख गर्दै अध्यक्ष आचार्यले भने, “नेपालमा पर्यटन प्रवद्र्धन गरी बढीभन्दा बढी पर्यटक भित्र्याउन सम्भावित क्षेत्रलाई सूक्ष्म रुपले विश्लेषण गर्दै आवश्यक नीतिगत व्यवस्था गरिनुपर्दछ । पछिल्लो समय फस्टाएको क्यासिनो पर्यटनबाट भैरहवा क्षेत्र लाभान्वित भएको छ, समग्र व्यवसायीका लागि यो खुसीको विषय हो ।”
पर्यटन विकास परिषद्, लुम्बिनी प्रदेश सरकारका सदस्य राजेश महोत्रा कामको खोजीमा हरेक दिन युवा विदेशिनुपरेको अवस्थामा स्वदेशमै रोजगार दिन सफल क्यासिनो व्यवसायलाई थप चलायमान बनाउन सरकारको महत्वपूर्ण भूमिका हुने बताउँछन ।
पर्यटकलाई मनोरञ्जन दिन सफल यो व्यवसायलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सके मुलुकको समग्र पर्यटनक्षेत्रमा थप टेवा पुग्ने बताउँदै सदस्य महोत्राले भने, “भैरहवा अहिले क्यासिनोको ‘हब’ बन्नु पर्यटन क्षेत्रका लागि ठुलो उपलब्धिसहित सकारात्मक सन्देश हो, यस व्यवसायलाई अझ विस्तार गर्न सक्नुपर्दछ ।”
यसैगरी पर्यटन व्यवसायी अमित गुप्ता पर्यटकीय गन्तव्यका रुपमा नेपाल विश्वमै प्रख्यात रहेको सन्दर्भमा क्यासिनो पर्यटनको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिन्छन । क्यासिनो व्यावसायीलाई संस्थागत गर्नका लागि निजी क्षेत्र र सरकारी निकायले सहकार्य गर्न जरुरी रहेको उल्लेख गर्दै क्यासिनो सञ्चालनका लागि सुरक्षा व्यवस्थासहित आवश्यक नीतिगत व्यवस्था भए उल्लेखनीय मात्रामा राजस्व सङ्कलन हुने र व्यावसायी पनि लाभान्वित हुने धारणा व्यक्त गर्छन ।
हाल भैरहवामा आठ र बुटवलमा एक गरी यस क्षेत्रमा नौ वटा क्यासिनो सञ्चालनमा आएका छन् भने थप दुई वटा क्यासिनो खुल्ने तयारीमा रहेको जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले जनाएको छ । भैरहवा क्षेत्रमा सञ्चालित क्यासिनोमा अहिले करिब दुई हजारभन्दा बढिले रोजगारी पाएका छन् ।

















प्रतिक्रिया