२१ माघ २०८२, बुधबार | February 4, 2026

मर्चवारको विकास र देशको समृद्धिका लागि एमालेको जित अनिवार्य : प्रमोद कुमार यादव



भैरहवा । नेकपा एमालेका तर्फबाट रुपन्देही क्षेत्र नं. ४ का उम्मेदवार प्रमोद कुमार यादवले मर्चवार क्षेत्रको समग्र विकास र देशको समृद्धिका लागि एमालेको जित अपरिहार्य रहेको बताएका छन् ।

मंगलबार पत्रकारहरूसँग कुराकानी गर्दै उम्मेदवार यादवले पछिल्लो समय एमालेप्रति जनलहर बढ्दै गएको उल्लेख गरे । विशेषगरी जेन-जि र जेन-वाई पुस्ता उत्साहपूर्वक एमालेको पक्षमा उभिएको भन्दै उनले यो सकारात्मक संकेत भएको बताए ।

“आज विभिन्न दलका उम्मेदवारहरू घर-घर पुगेर जनतासँग संवाद गरिरहेका छन्, यो राजनीतिक संस्कार एमाले, केपी शर्मा ओली र महेश बस्नेतले सुरु गरेको अभियानको परिणाम हो,” यादवले भने । उनले जति पार्टी आए पनि एमालेजस्तो राष्ट्रप्रति जिम्मेवार, विकासप्रेमी र समृद्धि केन्द्रित दल अरू नभएको दाबी गरे ।

देश निर्माण, विकास र समृद्धि ल्याउने काम एमालेले मात्रै गर्न सक्ने उल्लेख गर्दै यादवले देश बेच्ने प्रवृत्तिविरुद्ध एमाले सधैं दृढतापूर्वक उभिँदै आएको बताए । “यो देश हाम्रो हो, हामी आफैंले बनाउनु पर्छ, त्यसका लागि सबै एकढिक्का भएर एमालेको पक्षमा उभिन आवश्यक छ,” उनले जोड दिए ।

आफू निर्वाचित भए मर्चवार क्षेत्रको पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउँदै यादवले बेथरीदेखि थुम्हवासम्मको सडकलाई चार लेनमा स्तरोन्नति गरी लुम्बिनी-मर्चवार-भैरहवा सडक सञ्जाललाई व्यवस्थित गर्ने योजना सार्वजनिक गरे । साथै मर्चवार लिफ्ट सिँचाइ आयोजनालाई प्रभावकारी बनाएर वर्षैभरि खेत सिँचाइ हुने व्यवस्था मिलाइने उनले बताए ।

किसानको उत्पादनले उचित मूल्य पाओस् भन्ने उद्देश्यले मर्चवार कृषि हाटबजारलाई व्यवस्थित गरी सिधै खरिद प्रणाली लागू गरिने, समरीमाईमा निर्माणाधीन शीत भण्डार सम्पन्न गरी बीउबिजन केन्द्र सञ्चालन गरिने उनले बताए । बन्द अवस्थामा रहेको आँखा अस्पताल पुनः सञ्चालनमा ल्याउने र तरेनी-थुमुवामा छोटी भन्सार स्थापना गर्ने योजना पनि उनले अघि सारे ।

स्वास्थ्य सेवातर्फ प्रत्येक पालिकामा कम्तीमा १५ शैयाको अस्पताल, सुविधासम्पन्न स्वास्थ्य संस्था र सर्पदंश उपचार केन्द्र स्थापना गर्ने लक्ष्य रहेको यादवले बताए । शिक्षातर्फ कोटहीमाईको मझगावस्थित डिग्री कलेजलाई व्यवस्थित गर्ने र मर्चवारमा कृषि प्राविधिक शिक्षालय सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए ।

युवालाई खेलकुदमा आकर्षित गर्न अन्तर्राष्ट्रियस्तरको कुस्ती स्पोर्ट्स एकेडेमी, सुविधायुक्त खेल मैदान तथा फुटबल, भलिबल र क्रिकेट प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

पूर्वाधार विकासअन्तर्गत मर्चवार रिङरोड निर्माण, भैरहवा विमानस्थलदेखि बेथरी-छपिया हुँदै वनघुसरीसम्म सडक स्तरोन्नति, छपियादेखि लुम्बिनी जोड्ने मार्ग सुधार तथा दानव नदीमा पक्की पुल निर्माणलाई प्राथमिकतामा राखिएको छ । डुबान समस्या समाधानका लागि तटबन्ध निर्माण, घर-घरमा शुद्ध खानेपानी धारा जडान, सार्वजनिक शौचालय, वाइफाइ सेवा र हरेक पालिकामा दमकल व्यवस्था गर्ने प्रतिबद्धता पनि उनले जनाए ।

धार्मिक तथा ग्रामीण पर्यटन प्रवर्द्धन गर्दै मर्चवारमाई, कोटहीमाई र समरीमाई क्षेत्रलाई राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सार्दै यादवले जेन-जि पुस्ताको जोश र जेन-वाई पुस्ताको अनुभवलाई एकसाथ जोडेर “समृद्ध मर्चवार, सुखी मर्चवारबासी” अभियान सफल बनाइने विश्वास व्यक्त गरे ।

अन्त्यमा यादवले मर्चवारलाई अन्न भण्डारको केन्द्रका रूपमा विकास गर्न संघीय सरकारबाट विशेष कार्यक्रम ल्याउने, किसानलाई मलखाद सहज उपलब्ध गराउने र स्थानीय उत्पादनमा आधारित रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाउँदै सूर्य चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गरे ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ८ : ४५ बजे

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास

राष्ट्रपति पौडेल जापानबाट स्वदेश फर्किँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा