६ श्रावण २०८३, बुधबार | July 22, 2026

भलिबलको एउटै टिममा एकै परिवारका चार जना सदस्य



म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-३ फलियागाउँको एउटा भलिबल टिममा एकै घरका चार जना सहभागी छन् । ६ जना खेलाडी आवश्यक पर्ने भलिबल टिममा सबहादुर गोतामे र उनका तीन छोराहरू स्थायी सदस्य हुन् । बयालीस वर्षीय सबहादुरका २० वर्षीय नरेश, १९ वर्षीय नवीन र १७ वर्षीय केशव भलिबलका खेलाडी छन् ।

दुई जना परिवार बाहिरका खेलाडीलाई थपेर विभिन्न ठाउँमा आयोजना हुने भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने उनीहरू ‘घरपरिवार भलिबल’ समूहका नामले चिनिन थालेका छन् । ‘बुबा सबहादुर सानैदेखि भलिबल खेल्दै आउनुभएको छ’, नरेशले भने, ‘हामी पनि बुबाको खेल कलाबाट प्रभावित भएर भलिबल खेल्न सिकेका र घरपरिवारकै टिम बनाएर प्रतियोगितामा खेल्न थालेका हौँ ।’ कक्षा १२ उत्तीर्ण गरेका नरेशले बुबाको घोडा व्यवसायलाई सघाउँदै आएका छन् । नवीन र केशव फलियागाउँको कक्षा १२ मा अध्ययनरत छन् ।

एकै किसिमका अग्लो र पातलो जिउडाल भएका सबहादुर र उनका छोरा भलिबल टिमको सेटर, रेज, लिब्रोलगायत सबै खेलाडीको भूमिका निभाउन सक्छन् । घरपरिवार भलिबल समूहले हालै धवलागिरि गाउँपालिका-७ धारापानी र वडा नम्बर २ खोरियामा आयोजित प्रतियोगितामा उपाधि जितेको छ ।

नवीन र केशवले धवलागिरि गाउँपालिकाले पछिल्लोपटक आयोजना गरेको राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा एथलेटिक्सतर्फ तीन-तीनवटा स्वर्ण पदक दिलाउँदै धजनता माविलाई विजयी बनाउन योगदान गरे । नरेशले पनि धवलागिरि गाउँपालिकाको तर्फबाट प्रदेशस्तरीय भलिबल प्रतियोगितामा सहभागी हुने अवसर पाएका छन् ।

नरेश र नवीनले प्रदेशस्तरीय दौड र ज्यावलिङ थ्रो प्रतियोगितामा पनि भाग लिएका छन् । केशवले गत माघमा जिल्ला भलिबल सङ्घले आयोजना गरेको म्याग्दी कप भलिबल प्रतियोगितामा उत्कृष्ट सेटरको उपाधि जितेका थिए । मध्यमवर्गीय पारिवारिक पृष्ठभूमि भएका सबहादुर कतारमा दुई वर्ष रोजगारी गरेर फर्किएका हुन् । कतारबाट फर्किएपछि ढुवानी व्यवसायका लागि सबहादुरले घोडापालन गर्दै आएका छन् ।

आठवटा घोडा पालेका सबहादुर घोडामा बोकाएर तरकारी र फलफूल बिक्रीका लागि गाउँठाउँमा पुग्ने गर्छन् । फुर्सदको समय र मेलाजात्रामा उनीहरूको टोली भलिबल प्रतिस्पर्धा गर्न जान्छ । उनीहरूको खेल मन पराएर दर्शकले आर्थिक सहयोगका साथै पोशाक सहयोग गर्न थालेका छन् । मुना घर भई हाल अस्ट्रेलियामा रहेका इम रोकाले शनिबार २७ हजार मूल्यबराबरको जर्सी र ट्रयाक उपलब्ध गराएका छन् । अमेरिकामा रहेका दलबल रोका, टेक रसाइली र अस्ट्रेलियाबाट ठहरबहादुर भण्डारीले पनि उनीहरूलाई जर्सी सहयोग गरेका छन् ।

“सहयोगले हामीलाई भलिबल खेलमा निरन्तर सक्रिय हुन हौसला मिल्नुका साथै उत्साह पैदा भएको छ”, सबहादुरले भने, “शारीरिक अवस्थाले साथ दिँदासम्म भलिबल खेलमा निरन्तर सक्रिय रहनेछु ।”

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ८ : २३ बजे

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न