२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

बिस्का : नौ दिन आठ रात जात्रा



भादगाउँ । भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु हुँदैछ । साँझ तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्‍याई भैलखः(भैरवनाथको रथ) तानातान गरी जात्राको सुरुआत गरिन्छ । अब भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ ।

काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीन तल्ले भैलखःमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा रहेको छ । तान्नु अघि भैलखःमा खड्ग, तरवार, निशान राख्ने गर्दछ ।

बिस्का जात्राको पहिलो दिन पाँचतल्ले मन्दिर प्राङ्गणबाट भैलखलाई क्वने र थनेका बासिन्दाले अगाडि पाँच र पछाडी चार वटा डोरी तानातान गरेर आ-आफ्नो टोलतर्फ लैजाने परपम्परा रहेको छ । जात्राको मुख्य आकर्षण नै भैलखः तानातान गर्नु हो । यसरी तानातान गर्ने क्रममा थनेतर्फ तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः तमारीहुँदै क्वनेतर्फको तेखापुखुसम्म ल्याएर त्यहाँबाट फर्काएर गःहिटीमा द्योः थातेलाकेगु (भैलखःलाई ठाउँमा पु¥याएर) पहिलो दिनको जात्रा सम्पन्न गरिन्छ ।

जात्रामा भैलखः तान्ने परम्परागत रुट क्वने (तल्लो टोल) तर्फ तमारी, बुलुँचा, घट्खा, नासमना, मुलाखु, बंशगोपाल, तेखापुखुसम्म र थने (माथिल्लो टोल)तर्फ क्वाछें, साकोठा, सुकुलढोका, गोमारी, इनाचो, दत्तात्रयसम्म रहेको छ । जात्राको दोस्रो दिनलाई शुन्य मानिन्छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई राँगो बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलिपुजाको मासु प्रसादका रुपमा लाकुलाछेबासीलाई बाँडिन्छ, जसलाई स्थानीय भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ ।

जात्राको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह यसींद्यो(हात नभएको लिङ्गो) उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ५५ हात लामो यसींद्योः भेलुखेलस्थित ल्यसिङखेलमा उभ्याइन्छ । यसींद्योः(लिङ्गो) उभ्याउने जात्रा बिस्काको अर्को आकर्षण रहेको छ । पुरानो वर्षको विदाइ र नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा यसींद्योः उभ्याउने गरिन्छ ।

यसींद्योः कोखामा झुण्ड्याइएका दुई ध्वजाहरुलाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एकजोडी ध्वजाहरु फुकाएपछि एउटा संवत फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ । यसींद्योः उभ्याउन बाँधिएका आठवटा डोरीलाई अष्ट मात्रिकाको प्रतिक मानिन्छ । यसींद्योः उठाईसकेपछि राती नवदुर्गा देवगण त्यहाँ उपस्थित हुन्छ । तलेजुमा दुमाजुको विशेष पूजा गरी जात्रा गरिन्छ ।

यसींद्योः उठाएको हेर्नाले शत्रुहरु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यसलाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । यसदिन भैलखः र भद्रकालीको रथलाई ल्यसिङखेलमा पुर्‍याइन्छ । यसींद्योः उठ्नासाथ स्थानीय बाराही देवीको तिंप्वाः जात्रा इन्द्रायणी देवीको त्वारिवा जात्रा मनाइन्छ ।

बिस्का जात्राको पाँचौं दिन अर्थात नयाँ वर्ष बैशाख १ गते विहानैदेखि चुपिङघाट र ल्यसिङखेलमा भक्तजनहरुको भिड हुन्छ । यसदिन स्थानीय टोल टोलमा रहेका विभिन्न बाजागाजा बजाएर परम्परागत पोसाक लगाएर भैरव, भद्रकाली, बेताल र यसींद्योःको दर्शनपुजन गरिन्छ । बेताललाई पोथी कुखुराको बली दिइन्छ । साँझ भैरवनाइकेहरुले विधिवत रुपमा पुजा गरी साँझ यसींद्योः ढालिन्छ । त्यसको लगतै भैलखः र भद्रकालीको रथलाई तानेर गाःहिटीमा पु¥याएर एक आपसमा जुधाइ संगम जात्रा मनाइन्छ । जसलाई स्थानीय भाषामा द्योः ल्वाकिगु जात्रा भनिन्छ । तलेजुमा दुमाजु देवीको जात्रा गरिन्छ ।

जात्राको छैठौ दिन महाकाली र महालक्ष्मीको जात्रा गरिन्छ । सातौ दिन तचपालमा ब्रम्हायणी र महेश्वरीको जात्रा गरिन्छ । यसैदिन तालाक्वमा बटुकभैरव र ज्याठा गणेशको सिन्दुर जात्रा गरिन्छ भने खँलामा परदेशी भिमसेनको खटजात्रा मनाइन्छ । आठौ दिनमा भक्तपुरका शक्तिशाली देवदेवीहरुलाई आ-आफ्नो द्यो छेंबाट निकाली प्राङगण, सतल र पाटीहरुमा राखेर पुजा आजा गरी विभिन्न प्रसादहरु चढाएर द्यो स्वगं पुजा (सगुन जात्रा)मनाइन्छ । यो जात्रा दिनभरी मनाइन्छ ।

जात्राको अन्तिम दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह यसींद्यो (हात नभएको लिङ्गो) ढाल्ने जात्रा मनाइन्छ । साँझ चोछें टोलमा छुमा गणेश जात्रा मनाइन्छ । यसदिन भैलखःलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने(माथिल्लो) र क्वने(तल्लो) टोलका बासिन्दाहरुले तानातान गरी जात्रा सम्पन्न गरिन्छ ।

बिस्का जात्राका ऐतिहासिक पक्षका सम्बन्धमा तमारीस्थित यक्ष मल्लको पालाको शिलालेखमा पहिलो पल्ट जात्रालाई सम्बोधन गर्दा विश्व जात्रा भनि उल्लेख गरिएको संस्कृतीविद् एवम् ईतिहासविद् प्रा।डा। पुरुषोत्तमलोचन श्रेष्ठ बताए । भक्तपुरको राजदरबारमा नेपालसम्वत् ८०८ र ८१८ को राजा जीतामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विस्क्यात शब्द उल्लेख रहेको प्रा.डा श्रेष्ठले बताए । तलेजुमा अहिलेसम्म चल्ने बिस्का जात्राको संकल्प पुजामा विश्वजात्रा महापर्व भनेर सम्बोधन गरिएको उनले भने ।

प्राडा श्रेष्ठले बिस्का जात्राको प्रचलित किंवदन्ती गलत भएको दावी गरेका छन् । उनले बिस्का जात्रा नितान्त भैरवनाथ र भद्रकालीसँग सम्बन्धीत रहेको र यसको प्रचलित सर्प मारेको, नागनागिनीसँग जोडिएको किंदन्ती भ्रम रहेको बताए ।

‘यो जात्रा विश्वनाथ भैरवको मात्र नभई उनकै शक्ति भद्रकालीको हो । विश्व भैरवनाथको प्रतिक जात्राको चौथो दिन भेलुखेलको ल्यसिंङखेलमा उठाएको योसिंद्योःमा फहराइने एकजोडी हलिपत(ध्वजा) साक्षात भैरव र भद्रकालीको हो । यसलाई जर्वजस्ती वि को अर्थ सर्प र स्यातको अर्थ मारियो भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केत चल्दै आएको भम्र मानसिकता व्याप्त रहेको छ ।

उनले भने, ‘नाम, प्रमाण र भाषा विज्ञानकै साहारा लिएर भन्ने हो भन्ने वि को अर्थ हो पुरानो । नवदुर्गा गणलाई वि त्वंकेगु भन्दा तान्त्रिक विधि पुर्वक पुरानो रगत खुवाउने प्रचलन अहिलेसम्म चलिआएको छ । स्यातको अर्थ मारियो हो तर बिस्क, बिस्कामा कहाँ क हरायो त भन्ने मेरो प्रश्न हो ? स्यातबाट कसरी स्का हुन गयो ? यो जात्राको विषयमा अहिलेसम्म चलेका प्रमाण, अभिलेखक र मल्लकालिन राजा जगत प्रकाश मल्लदेखि शाह वंशिय राजा त्रिभुवन, ज्ञानेन्द्र र तत्कालिन प्रधानमन्त्री गिरिजाले फेरेका हलिपतमा हेर्न हो भन्ने विश्वकेतु, विरध्वजा लेखिएको छ । यस मानेमा विश्वनाथको ध्वजा विश्वध्वजा र विरध्वजा हो भन्ने कुरा स्पष्ट छ । यसमा विर भनेर भैरवको वाहान विर बेताललाई भनिएको हो । त्यस मानेमा ध्वाजा विश्वध्वाजा र विरध्वाजा मान्न सकिन्छ । तर जनमानसमा यो नागनागिनी भनेर प्रचलित छ यो गलत हो ।’

जात्रामा पहिलो र अन्तिम दिन भैलखः तान्ने क्रममा झडप हुने गरेको छ । सम्भावित झडप रोकी जात्रालाई व्यवस्थित रुपमा मनाउन दिउँसो ३ बजे भैलखः तानेर ५ बजे जात्रा सम्पन्न गर्ने तयारी गरिएको छ । रातको समयमा जात्रा सञ्चालन हुँदा भैलखःले किचेर मानिसको मृत्यु हुने, जात्रा हुने स्थानका घर र सार्वजनिक पाटीपेटीमा क्षति पुग्ने भएकाले त्यसलाई रोक्न दिउँसो जात्रा शुरु गर्ने सम्पुर्ण तयारी पुरा भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

जात्रालाई मर्यादित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न चरणवद्धरुपमा सरोकारवालाहरुसँग छलफल गरेर विभिन्न रणनीति तयार गरेको बताउँदै प्रजिअ ढकालले यसवर्ष जात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोशाकमा करिव २ हजार सुरक्षाकर्मी परिचालन गर्ने जानकारी दिए । जात्रामा उत्श्रृंखल गतिविधि गर्ने र हुलदंगा मच्चाउन खोज्नेको पहिचान गर्न व्यापकरुपमा सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गर्ने उनले बताए ।

भैलखःमा अनियन्त्रित तरिकाले धेरै मानिस चढ्नाले रथबाट खसेर घाईते हुनु, च्यापनु, किचेर ज्यान जाने भएकाले त्यसलाई नियन्त्रण गर्न भैलखःमा भैरव नाईके, गुथि र स्थानीय क्लवका सिमित पदाधिकारीहरु मात्र चढ्ने व्यवस्था गरिएको छ । साथै यसवर्ष रथमा बस्ने सबैले नाङ्गो खुट्टा राख्ने व्यवस्था मिलाएको छ ।

जात्रामा हुलदंगा गर्नेको पहिचानका लागि चोक चोकमा सिसी क्यामेरा जडान गरिएको जानकारी दिँदै प्रजिअ ढकालले क्यामेराको फुटेजका आधारमा जात्रापछि पनि नियन्त्रणमा लिई कारबाही गरिने बताए । जात्रामा हुलदङ्गा गरी सुरक्षा व्यवस्थामा खलल पुर्याउनेलाई पक्राउ गरी प्र्रचलिन कानुन बमोजिम कारबाही गरी विदेश जान नहुने गरी रेर्कड राखिने बताए । लक्ष्मी गारु/रासस

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ७ : ४० बजे

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु

तनहुँ । नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ

ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ । घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ सङ्कलन तथा चिस्यान गृह

त्रिवेणी गाउँपालिकामा अदुवा बिक्रीबाट मात्रै पाँच करोड ५६ लाख ५० हजार भित्रियो

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा

दुई सय तेइस जनामा ‘सिकलसेल एनिमिया’

कञ्चनपुर । कञ्चनपुरको लालझाँडी गाउँपालिकाका दुई सय २३ जनामा ‘सिकलसेल

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ जना घाइते

कपिलवस्तु । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा