चितवन । चितवन जिल्लामा रगतको माग बर्सेनि बढ्दै गए पनि रक्तदाताको सङ्ख्या भने घट्दै जाँदा आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । देशभरबाट उपचारका लागि बिरामी आउने भएकाले यहाँ रगतको माग उच्च रहेको छ ।
नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका अनुसार जिल्लामा दैनिक करिब १५० युनिट रगतको आवश्यकता पर्छ । तर सङ्कलनको अवस्था भने अपेक्षाकृत कमजोर रहेको छ । चालु आर्थिक वर्षको फागुनसम्म १६९ स्थानमा आयोजित रक्तदान कार्यक्रमबाट ११ हजार ५३२ युनिट र केन्द्रमा सिधै आएका दाताबाट ३ हजार १८१ युनिट मात्र रगत सङ्कलन भएको छ ।
तथ्याङ्कअनुसार केन्द्रमा प्रत्यक्ष रक्तदान गर्नेहरूको सङ्ख्या घट्दो क्रममा छ । आर्थिक वर्ष २०८०/८१ मा ६ हजार ९२० युनिट रगत सङ्कलन भएकोमा २०८१/८२ मा यो घटेर ४ हजार ६४० युनिटमा सीमित भएको थियो ।
केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार युवा जनशक्ति वैदेशिक रोजगारीतर्फ जाने क्रम बढ्नु र उमेर बढ्दै गएका दातामा उच्च रक्तचाप तथा मधुमेहजस्ता समस्या देखिनुले दाताको सङ्ख्या घटेको हो । उनले माग र आपूर्तिबीच सन्तुलन मिलाउन कठिन भएको र आवश्यकताअनुसार छिमेकी जिल्लाबाट समेत रगत ल्याउनुपर्ने अवस्था रहेको बताए ।
नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति हरि पौडेलले १४ भन्दा बढी जिल्लाबाट रगत ल्याउँदा समेत अपुग हुने गरेको जानकारी दिए । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, मेडिकल कलेजहरू, भरतपुर अस्पताल लगायतका स्वास्थ्य संस्थाका कारण काठमाडौंपछि सबैभन्दा बढी रगतको माग चितवनमै हुने गरेको छ ।
ब्लड डोनर्स सोसाइटी नेपालका अध्यक्ष अर्जुन अधिकारीले व्यवस्थापन सुधार र सङ्घसंस्थासँग समन्वय बढाए रगत सङ्कलन वृद्धि गर्न सकिने सुझाव दिएका छन् । यस्तै, भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष डा. भोजराज अधिकारीले विद्यालय र क्याम्पस स्तरमै रक्तदानको महत्त्वबारे शिक्षा दिनुपर्ने र राज्यले प्रोत्साहनमूलक नीति ल्याउनुपर्ने बताए ।
हाल क्यान्सरका बिरामी र दुर्घटनाका घाइतेहरूको सङ्ख्या बढ्दै जाँदा चितवनमा रगतको माग र आपूर्तिबीचको खाडल झन् गहिरिँदै गएको छ ।


















प्रतिक्रिया