५ बैशाख २०८३, शनिबार | April 18, 2026

मुस्ताङको छुसाङमा राताम्मे पहाडमा गुफाभित्र गुम्बा



मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ छुसाङमा राताम्मे पहाडको भित्ता खोपेर निर्माण गरिएका गुफाभित्र पनि गुम्बा छ । यो गुम्बामा प्रतिस्थापन गरिएको मूर्तिहरूको इतिहास बुझ्दा गुफाभित्र रहेको गुम्बा करिब एक हजार २०० भन्दा बढी पुरानो हो ।
जोमसोम हुँदै कागबेनी-कोरला सडकको नजिकै भिरालो सतहमा अवस्थित गुफाभित्रको गुम्बालाई ‘मिन्ची ल्हवङ’ गुम्बा भन्ने गरिएको छ । यो गुफाभित्रको धार्मिक बुद्धिस गुम्बा छुसाङगाउँका छ परिवारको स्वामित्वमा छ । यहाँ दैनिक साँझ छ परिवारका व्यक्तिले बर्सेनि आलोपालो गरी बत्ती बाल्ने र पूजाआजा गर्ने गर्दछन् ।
कोरला सडकमार्गको माथि भिरालो सतहमा अवस्थित गुफा निकै जोखिमयुक्त स्थानमा अवस्थित छ । परापूर्व कालमा छुसाङ गाउँका पूर्खाहरूले यहाँ पहाड खोपेर गुम्बा प्रतिस्थापन गरेका स्थानीय बताउँछन् । यहाँको गुम्बा कति वर्ष पुरानो हो भन्ने तथ्य स्वयं गुम्बाको स्वामित्व बोकेका पछिल्ला पुस्तालाई यकिन जानकारी नभएको छ परिवारमध्येका स्थानीय श्याम गुरुङले जानकारी दिए। परापूर्वकालमा मनाङबाट आएका पूर्खाले आफ्नो देवतालाई साथै लिएर छुसाङ गाउँमा स्थानान्तरण भएको भन्ने विश्वास रहँदै आएको उनले बताए।
निकै कमजोर भूसतहमा अवस्थित गुफा आफैँमा जोखिम स्थानमा रहेको जनाउँदै स्थानीय गुरुङले पुरातात्विक र ऐतिहासिक महत्त्वको यस गुफा र भित्र रहेको गुम्बा संरक्षण गर्नुपर्ने अभिभारा यहाँका छ परिवारलाई रहेको बताए। उनका अनुसार वर्षौंदेखि यिनै छ परिवारका पुस्ताले गुफा र गुम्बा संरक्षण गर्दै आइरहेका छन् ।
करिब एक सय मिटर अग्लो माटोको पहाडमा रहेको गुफामा भूक्षय र बाढीले क्षति पु¥याउन सक्ने जोखिम रहेकाले सरोकार भएका निकायले यसको संरक्षण गर्नुपर्नेमा स्थानीय गुरुङले जोड दिए। भगवान्को शक्तिले गुफा र गुफाभित्रको गुम्बामा हालसम्म कुनै असर नभएको उनले उल्लेख गरे।
यस अनौठो गुफाभित्रको माथिल्लो तलामा गुम्बा प्रतिस्थापन गरिएको छ । गुम्बामा अधिकांश माटोद्वारा निर्मित बुद्धका विभिन्न स्वरुपका मूर्तिहरू ८०० वर्षभन्दा बढी पुराना रहेका स्थानीय गुरुङले जानकारी दिनुभयो । एउटा फ्रेम (चौघेरो)भित्र राखिएको हरिताराको ढुङ्गाको मूर्ति एक हजार २०० वर्ष पुरानो मानिएको उनले विश्वास व्यक्त गरे । उनका अनुसार गुम्बाभित्र एक दर्जन बुद्ध भगवान्का विभिन्न स्वरुपका मूर्ति प्रतिस्थापन भएका छन्
“गुम्बामा चन्दा सङ्कलनका लागि बाकस राखिएको छ । गुफा र गुम्बा दर्शन गर्ने र विदेशी पर्यटकले स्वेच्छिक चन्दा दान गर्दछन्”, स्थानीय गुरुङले भने, “चन्दा बाकसमा जम्मा भएको रकम गुम्बाको संरक्षण र हिउँ पर्दा गुफाको छतमाथिको हिउँ पन्छाउन खर्च गरिन्छ ।”
उनका अनुसार गुफाभित्रको मिन्ची ल्हवङ गुम्बाको ओढारभित्र वर्षौँ पुराना कलात्मक पेन्टिङहरू अवस्थित छन् । यसरी गुफाको भूगोलसँग मिल्दो माटोको रङ्गले गुफाको माथिल्लो तलाको भित्ता र सिलिङमा पेन्टिङ गरिएको उनले जानकारी दिए ।
“गुफाको दोस्रो तलामाथिको एउटा कुनामा बुद्धका मूर्तिहरू छन् । यहाँ गुम्बा परिक्रममा गर्ने ठाउँ छ । गुफाभित्रको गुम्बालाई केही विदेश संस्थाका अनुसन्धानकर्ताले पनि अध्ययन पनि गरिसकेका छन्”, स्थानीय गुरुङले भने। गुम्बा संरक्षणका लागि विदेशीले प्राविधिक तथा आर्थिक सहयोग गरी गुम्बा मर्मतसम्भार कार्यमा सहयोग पु-याएको स्थानीय उनले बताए। वर्षौं पुरानो गुम्बा र यहाँका मूर्तिहरू जीर्ण बन्दै जान थालेकाले यसको संरक्षण र मर्मतसम्भार गर्न सरोकार भएका निकायले पहल गर्नुपर्नेमा उनले जोड दिए ।
छुसाङको भिरालो पाखोमा अवस्थित गुम्बा, गुफाभित्रको पहिलो तला र दोस्रो तलामा उज्यालोका लागि झ्याल जस्ता केही प्वालहरू बनाइएको छन् । गुफाको भुइँतलाबाट माथि उक्लिन दुई वटा काठका भर्‍याङ राखिएको छ । भर्‍याङ चढेर गुफाको माथिल्लो तलामा पुग्न सकिन्छ ।
व्यक्तिगत रूपमा छ परिवारको स्वामित्वमा रहेकाले यस गुफा र गुम्बाको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्न सके स्थानीयको आयआर्जन वृद्धि हुने स्थानीय गुरुङले बताए। “यो हाम्रो गुफाभित्रको गुम्बा कुलदेवता जस्तै हो, पूर्खाहरूले पूजाआजा गर्ने थलो हो”, गुरुङले भने, “त्यसैले हामीले यसलाई सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्नुपर्छ । गुफा र गुम्बा पर्यटक लोभ्याउने खालको भएकाले पर्यटन प्रवर्द्धन गर्नु जरुरी छ ।”
हालसम्म गुफा र गुम्बालाई प्रचारप्रसार नगरेकाले मुस्ताङका अधिकांश यहाँका गुम्बाबारे अनभिज्ञ रहेका स्थानीय गुरुङको भनाइ छ । कागबेनी-कोरला सडक नजिकै रहेको छुसाङस्थित अनौठो गुफाभित्रको मिन्ची ल्हवाङ गुम्बा ऐतिहासिक धरोहर र पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएकाले पर्यटकलाई आकर्षित गर्ने गन्तव्य बन्नसक्ने स्थानीय गुरुङले बताए ।
गुफासम्म जान मुख्य सडकबाट पैदल हिडेर पाँच मिनेटमा सहजै पुग्न सकिन्छ । गुफा र गुम्बाको आवश्यक प्रचारप्रसार हुन सकेमा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नुका स्थानीयको आयआर्जन वृद्धि हुने स्थानीय बताउँछन् । यसको संरक्षण र प्रवर्द्धनमा स्थानीय तह र अन्य सरोकार भएका निकायले पहल गर्नुपर्नेमा स्थानीयले जोड दिएका हुन् ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ११ : ३० बजे

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच वर्षमा सार्वजनिक

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु

ताप्लेजुङ । जिल्लामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा

बलियो पार्टी निर्माणका लागि सबै एक ढिक्का भएर अघि बढौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका नेता–कार्यकर्तालाई एकताबद्ध

‘अनलाइन’बाट दर्ता गर्नेको सङ्ख्यामा वृद्धि

जुम्ला । राष्ट्रिय परिचयपत्रको नम्बरमार्फत मतदाता नामावलीमा ‘अनलाइन’बाटै नाम दर्ता