काठमाडौं । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै विपद् पर्ने बित्तिकै सशस्त्र प्रहरी बलकै सम्झना आउँछ । आपत् प-यो कि सशस्त्रलाई सम्झने उनको बानी नै परिसक्यो । उनले भने, “प्राकृतिक वा मानवजन्य विपद्मा मानवीय उद्धारमा झवाट्ट सम्झने एउटै नाम सशस्त्र प्रहरी बल हो । यो सङ्गठनले मानवीय उद्धारमा गरेकोे कामकै कारण मैले सम्झिने गरेको हो ।”
रमेशबाबु मात्रै होइनन्, पछिल्लो समय विपद्का बेला मानवीय उद्धार गर्नुपरेमा अधिकांशले सशस्त्र प्रहरीलाई नै सम्झिने गरेका छन् । देशमा शान्ति सुरक्षा र अमनचयनसँगै बाढीपहिरो, डुबान, भूकम्प, दुर्घटना र आगलागीजस्ता प्राकृतिक तथा दैवीप्रकोप जोखिमका बेला नागरिकको उद्धारमा सशस्त्र प्रहरी बल नेपाल सधैँ अग्रपङ्क्तिमा रहने गरेकाले पनि प्रशंसा हुने गरेको छ ।
उद्धारमा निरन्तर क्षमता अभिवृद्धि
त्यसो त सशस्त्र प्रहरीको प्रशंसा त्यसै भएको हैन । यो संस्थाले उद्धारका क्षेत्रमा आफ्नो क्षमतालाई निरन्तर अभिवृद्धि गर्दै आएकाले यो सम्भव भएको हो ।
पछिल्लो समय विपद् व्यवस्थापनलाई सुदृढ, प्रभावकारी र परिणाममुखी बनाउन सशस्त्र प्रहरी बलले विभिन्न काम गरिरहेको छ । गोताखोर, अग्निनियन्त्रक, उद्धारकजस्ता जोखिमयुक्त काममा सशस्त्रकै भर पर्नुपर्ने अवस्था छ ।
सशस्त्रले देशका विभिन्न स्थानमा हालसम्म नौ विपद् व्यवस्थापन केन्द्र सञ्चालन ल्याइसकेको तथा छवटा स्थापना प्रक्रियामा रहेको जनाएको छ । यसै वर्षको मनसुनमा ५९ वटा विपद् व्यवस्थापन केन्द्र अस्थायी रूपमा सञ्चालनमा ल्याउँदैछ ।
बलले कुरिनटारमा १३९ वटा तालिममार्फत आफ्ना तीन हजार १२ जनशक्तिसहित छ हजार ९२९ जनालाई तालिम प्रदान गरिसकेको छ । यस अवधिमा उक्त शिक्षालयले १३४ जना विशेष तालिमप्राप्त गोताखोर तयार गरेको छ ।
चितवन इच्छाकामना–४मा अवस्थित शिक्षालयबाट प्रशिक्षित जनशक्तिले २०६३ सालदेखि हालसम्म ३६ हजार ८४ विपद्का घटनामा १५ हजार ५४१ भन्दा बढीको सकुशल उद्धार, ८८ हजार ५०० घाइतेको उद्धार तथा २५ हजार ७७८ जना मृतकको उद्धार गरेको छ ।
त्यस्तै विभिन्न विद्यालय र संस्थामार्फत छ लाख ५७ हजार २८४ जनालाई विपद् व्यवस्थापन न्यूनीकरणसम्बन्धी तालिम सञ्चालन गरी समुदायस्तरमा सचेता वृद्धि गरिएकाले सङ्गठनकोे प्रतिबद्धता र कार्यक्षमता स्पष्ट रूपमा देखाएको सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल बताउँछन्।
कुरिनटार शिक्षालय उत्कृष्ट
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारले ‘वाटर रेस्क्यु’, मेडिकल फस्र्ट रेस्पोन्डर (एमएफआर), कोल्याप्स स्ट्रक्चर सर्च एन्ड रेस्क्यु (सिएसएसआर), अग्नि नियन्त्रण, डिपवाटर रेस्क्युमा दक्ष जनशक्ति उत्पादन गर्दै खोज तथा उद्धारमा राष्ट्रिय क्षमता बढाएको छ ।
देशमा नदीजन्य दुर्घटना हुनासाथ सशस्त्र प्रहरी, गोताखोर र कुरिनटार सम्झनुपर्ने परिस्थितिले शिक्षालयले राष्ट्रिय रूपमा पहिचान दिलाउन सफल भएको महानिरीक्षक अर्यालको भनाइ छ । त्यसो त २०७२ सालको भूकम्पमा पनि खोज तथा उद्धारमा सशस्त्र प्रहरी बल सफल भएको थियो ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सशस्त्र प्रहरी बल प्राकृतिक प्रकोप तथा विपद्पछिको प्रथम र अन्तिम महत्त्वपूर्ण विकल्प रहेको बताए। उद्धार र राहतमा व्यवस्थापकीय हिसाबले सशस्त्र प्रहरी बल उत्कृष्ट र उदाहरणीय रहेको उनले बताए ।
नेपाल भूकम्पका हिसाबले ११औँ, प्राकृतिक प्रकोपका घटनाका हिसाबले ३०औँ र जलवायु परिवर्तनका कारण उत्पन्न हुने जोखिमका हिसाबले चौथो जोखिमपूर्ण मुलुक मानिन्छ । विपद् व्यवस्थापनमा खटिने जनशक्ति र स्रोतसाधनको सीमितताले प्रकोपका बेलामा जनअपेक्षा र आवश्यकताबीचमा खाडल देखिए पनि स्थापना भएको २२ वर्षमा कुरिनटारस्थित शिक्षालयले राम्रो नतिजा दिएको छ ।
महानिरीक्षक अर्याल भन्छन्, “सङ्गठनलाई प्राप्त कार्यादेशमध्ये विपद् व्यवस्थापन र उद्धारकार्यको जिम्मेवारीलाई छोटो अवधिमै देशको अग्रणी र विशिष्ट शिक्षालयका रूपमा कुरिनटार स्थापित छ ।”
राष्ट्रले भोग्दै आएको प्रकृति विपद् र आकस्मिक सङ्कटका बेला उद्धारका लागि आवश्यक पर्ने दक्ष, अनुशासित, प्रतिबद्ध जनशक्ति उत्पादन गर्ने मूल उद्देश्यले स्थापित शिक्षालयले यही वैशाख २ गते २२औँ वार्षिकोत्सव मनाएको छ । शिक्षालयले प्रशिक्षणको भूमिकामा मात्र सीमित नरही व्यवहारिक उद्धारमा प्रत्यक्ष रूपमा परिचालित हुने इकाईका रूपमा पुरस्कृत हुँदै आएको छ ।
विशेषगरी पृथ्वी राजमार्ग आसपासमा हुने सवारी दुर्घटना, बाढीपहिरो र अरु आकस्मिक घटना तथा देशको दुर्गम तथा चुनौतीपूर्ण क्षेत्रमा पनि यहाँबाट जनशक्ति परिचालित भई जीवनरक्षा तथा मानवीय सहयोगमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
विसं २०५८ मा सशस्त्र प्रहरी बल, नेपालको बेस क्याम्पका रूपमा स्थापना भई २०६७ साल वैशाख १९ गतेदेखि पहिलो विपद् व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरी २०६८ साल मङ््सिर २२ देखि विपद् व्यवस्थापन तालिम केन्द्रका रूपमा उक्त शिक्षालय स्थापना भएको हो । सशस्त्र प्रहरीले देशका विभिन्न नौ स्थानमा विपद् व्यवस्थापन बेस स्थापना गरी पछिल्लो २० वर्षमा सडक दुर्घटना, पहिरो, नदीजन्य, आगलागीलगायतका घटनामा परेका एक हजार सात जनाको जीवितै उद्धार गरेको छ ।
विपद्का घटनामा परिचालन हुने क्रममा सङ्गठनका ११ जनाले हालसम्म सहादत प्राप्त गरिसकेका छन् । दुर्घटनामा परी ज्यान गुमाएकाहरूको शव निकाल्न हतारो गर्दा अर्को व्यक्तिको सासलाई जोखिममा पार्नुहुन्न भन्ने जनचेतना समाजमा फैलाउनुपर्ने आवश्यकतामा बलले जोड दिएको छ । महानिरीक्षक अर्यालले विपद्का समयमा उद्धार गर्न सशस्त्र प्रहरी नआएको भए हामी बाँच्ने थिएनौं भन्ने सन्देश नागरिकलाई दिनेगरी काम गर्न तथा देश र जनहितविपरीत हुनेगरी कुनै गल्ती नगर्न निर्देशन दिए ।
विपद्पछिको त्यस्ता जोखिमपूर्ण उद्धार कर्यमा परिचालित हुँदा मृत्यु भएमा विपद् सहिद घोषणा गर्ने प्रस्ताव पनि सङ्गठनले अघि बढाएको छ । सशस्त्र प्रहरी बलले धादिङको नौबिसेदेखि चितवनको मुग्लिङसम्मको बाटोमा सडक सुरक्षा परामर्शसम्बन्धी नयाँ कार्यक्रम सुरु गर्दैछ । त्यस कार्यक्रमसँग यस क्षेत्रमा रहेका सामुदायिक अस्पताल र एम्बुलेन्स सेवालाई पनि समेटिनेछ । त्यस क्रममा दुर्घटनामा परेकालाई तत्काल उद्धार गरी संयुक्त प्रयासमा सम्बन्धित अस्पताल पुर्याइनेछ । विपद् व्यवस्थापनलाई सुदृढ, प्रभावकारी र परिणामुखी बनाउन सङ्गठनले विभिन्न पहल गरेको छ ।
विपद् वा दुर्घटनामा परेका व्यक्तिको उद्धारका लागि खटिने प्रहरी ज्यान नै जोखिममा पर्नसक्ने पक्षलाई हेक्का गर्दै सङ्गठनको अनुरोधमा गोताखोरलगायतका जनशक्तिलाई अघिल्लो वर्ष १० लाखबराबरको दुर्घटना बीमा गरेको छ ।
सङ्गठनले जोखिमयुक्त क्षेत्रमा काम गर्ने त्यस्ता करिब ५०० जनशक्तिलाई २५ लाख रुपैयाँको बीमा र अन्यबाट थप दुई लाखसमेत प्राप्त गर्ने व्यवस्था मिलाएको छ । प्राकृतिक प्रकोपमा हुनसक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्न जल तथा मौसम विभागबाट मनसुनसम्बन्धी पूर्वानुमान उपलब्ध हुनासाथ सम्भावित जोखिम क्षेत्रमा आवश्यक जनशक्ति परिचालित गरी विपद् व्यवस्थापन तयारीको व्यवस्था मिलाइएको शिक्षालयका समादेशक भरत खनियाँले जानकारी दिए ।
पछिल्लो समय सशस्त्र प्रहरी बलले मुलुकका सबै वडामा २५ जनाका हिसाबले एक लाख ६७ हजार विपदसूचक नाम सङ्कलन गरेकाले त्यसमा आवश्यक सहयोग पुर्याउन स्थानीय तहलाई आग्रह गरेको छ ।


















प्रतिक्रिया