काठमाडौं । यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा आज (वैशाख १४) देखि देशभर सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको नयाँ तथा पुरानो पाठ्यक्रम र ग्रेड वृद्धि गर्ने परीक्षार्थीहरूको परीक्षा हुने छ । बोर्डले वैशाख २७ गतेसम्म सञ्चालन हुने परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः परीक्षा सञ्चालन नगरिने स्पष्ट पारेको छ ।
यस वर्ष नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थी सहभागी हुँदैछन् । तीमध्ये १ लाख ७२ हजार १२ छात्र, १ लाख ६० हजार १३७ छात्रा र अन्य २९ जना परीक्षार्थी रहेका छन् । त्यस्तै, आंशिकतर्फ ८५ हजार ८३० जना सहभागी भई कुल ४ लाख १८ हजार ८ जना परीक्षार्थी परीक्षा दिनेछन् ।
जिल्लागत रूपमा हेर्दा सबैभन्दा कम मनाङमा ३१ जना र सबैभन्दा बढी काठमाडौंमा ६४ हजार ३३ जना परीक्षार्थी सहभागी हुनेछन् ।
यस वर्ष देशभर १ हजार ४२० तथा जापानमा एक गरी कुल १ हजार ४२१ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी काठमाडौंमा १६१ केन्द्र रहेका छन् भने मनाङ र मुस्ताङमा एक-एक केन्द्र मात्रै तोकिएको बोर्डले जनाएको छ ।


















प्रतिक्रिया