बुटवल । रुपन्देही-“जहाँ रहे पनि जन्मभूमिको माया र समुन्नतिका लागि योगदान गर्न सकिन्छ”- यही भावनालाई आत्मसात् गर्दै पूर्वी पाल्पा समाज रुपन्देही (बुटवल-रामपुर) ले आफ्नो चौथो साधारणसभा तथा दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ । बुटवलमा आयोजित अधिवेशन केवल नेतृत्व चयनमा सीमित रहेन, यसले सामाजिक उत्तरदायित्व, स्वास्थ्य सचेतना र गाउँ-सहर सहकार्यको नयाँ मार्गचित्रसमेत प्रस्तुत गर्यो ।
समाज, सेवा र सहकार्यको साझा मञ्च
संस्थापक अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित पाल्पा क्षेत्र नं. १ का संघीय सांसद सन्दीप रानाले समाजले देखाएको सक्रियता र जन्मभूमिप्रतिको समर्पणको प्रशंसा गरे । उनले जहाँ रहे पनि आफ्नो ठाउँका लागि योगदान गर्नुपर्नेमा जोड दिँदै समाजसँग सहकार्य गर्न आफू सधैं तयार रहेको बताए । त्यस्तै मणिमुकुन्द सेन उद्यानका अध्यक्ष माधव नेपालले सामाजिक काममा निरन्तर सक्रिय रहने संस्थालाई राज्यले पनि प्रोत्साहन गर्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा हिलपार्क परिषदका अध्यक्ष टंक पराजुली, बुटवल वडा नं. ८ का अध्यक्ष यज्ञ पंगेनी र समाजसेवी कृष्ण पाण्डेले शुभकामना मन्तव्य व्यक्त गरे ।
ज्ञान, स्वास्थ्य र क्षमता विकासमा जोड
अधिवेशनका अवसरमा वरिष्ठ फिजिसियन डा.पुष्पराज जोशीले स्वास्थ्य सचेतनासम्बन्धी प्रशिक्षण दिएका थिए भने लुम्बिनी वाणिज्य क्याम्पसका सहप्राध्यापक रोमनाथ शर्माले क्षमता अभिवृद्धि विषयमा सहजीकरण गरे । निर्वाचन समितिका संयोजक दामोदर घिमिरे सहित अनन्त सिलवाल र सर्मिला बास्तोलाले नव निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र प्रदान गरे ।
छोरी शिक्षाअक्षयकोषदेखि एम्बुलेन्ससम्म
समाजले स्थापना गरेको छोरी शिक्षा अक्षयकोष, गरिब जेहेन्दार विद्यार्थी अक्षयकोष र विपद् व्यवस्थापन अक्षयकोष*ले यसको सामाजिक दृष्टिकोण प्रस्ट पार्छ । छोरी शिक्षा अक्षयकोषमा हालसम्म १० लाख रुपैयाँ संकलन भइसकेको छ । यसका साथै, सबै सदस्यको एक लाख रुपैयाँ बराबरको बीमा गरिएको छ भने आगामी दिनमा एम्बुलेन्स सेवा सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ । यसका लागि रोटरी क्लबसँग सहकार्य गरिने जनाइएको छ ।
`प्रगतिको आधार: बुटवल-रामपुर कारोबार´
“तन सहरमा, मन गाउँ विकासमा” भन्ने भावनालाई मूर्तरूप दिन समाजले “प्रगतिको आधार: बुटवल-रामपुर कारोबार” अभियान सञ्चालन गर्ने भएको छ । यस अभियानमार्फत गाउँका उत्पादन सहरमा र सहरको पूँजी गाउँमा प्रवाह गर्ने लक्ष्य लिइएको संस्थापक अध्यक्ष श्रेष्ठले बताए । साथै “रुपन्देही हाम्रो पहिचान, समृद्ध रामपुर पाल्पा हाम्रो अभियान” नारासहित विकासका आधार तय गर्दै जनप्रतिनिधिसँग सहकार्य गर्ने योजना पनि अघि सारिएको छ । कार्यक्रममा प्रदेशसभा सदस्य तथा संसदीय समिति सभापति राजु श्रेष्ठ, नगर प्रमुख रमणबहादुर थापा, रोटरी क्लब अफ रामपुरका कृतनाथ श्रेष्ठ तथा उद्योग वाणिज्य संघ रामपुरका अध्यक्ष भोजेन्द्र ढकाललगायतको सहभागिता रहेको थियो ।
संस्कृति जोगाउँदै पहिचान संरक्षण
सांस्कृतिक पहिचानलाई जोगाउन “रामपुर सांगीतिक साँझ” कार्यक्रम आयोजना गरिएको थियो, जसले गाउँ-सहरबीच भावनात्मक सम्बन्ध अझ प्रगाढ बनाएको सहभागीहरूले बताए ।
नयाँ नेतृत्व, नयाँ ऊर्जा
अधिवेशनले वृन्दादेवी भट्टराई आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा हरिहर भण्डारी, महिला उपाध्यक्षमा मञ्जु बास्तोला, महासचिवमा गणेश सेढाई, उपमहासचिवमा देवराज खनाल, सचिवमा ध्रुब कंडेल, कोषाध्यक्षमा लक्ष्मीदेवी अर्याल र सहकोषाध्यक्षमा खुमबहादुर राना चयन भएका छन् । सदस्यहरूमा लक्ष्मण कंडेल, मञ्जुश्री नेपाली, पिताम्वर राना, दामोदर घिमिरे, बाबुराम भण्डारी र गीता पराजुली पाठक रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिले संस्थापक अध्यक्ष सुनिल श्रेष्ठ तथा सल्लाहकारहरुलाई सम्मान गर्दै संस्थाको योगदानको कदर गर्दै सम्मान गरेको थियो ।
छोटो इतिहास, ठूलो लक्ष्य
वि.सं. २०८० साल मंसिर ४ गते स्थापना भएको यस समाजमा हाल १२५ जना सदस्य आबद्ध छन् । पूर्वी पाल्पाका पाँच पालिकाबाट रुपन्देहीमा आएर बसोबास तथा व्यवसाय गरिरहेका व्यक्तिहरूलाई एकताबद्ध गर्दै समाजले सामाजिक, शैक्षिक र आर्थिक क्षेत्रमा उल्लेखनीय पहल गर्दै आएको छ ।
पूर्वी पाल्पा समाज रुपन्देहीको यो अधिवेशनले केवल नेतृत्व परिवर्तन मात्र होइन, गाउँ र सहरबीचको सम्बन्धलाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा सुदृढ गर्ने स्पष्ट दृष्टि प्रस्तुत गरेको छ । `तन सहरमा, मन गाउँ विकासमा´ भन्ने सन्देशलाई व्यवहारमा उतार्दै समाज अब अझ व्यापक र प्रभावकारी भूमिकामा अघि बढ्ने संकेत देखिएको छ । समाजले पूर्वी पाल्पाका जनप्रतिनिधि मात्रै होइन रुपन्देहीका विभिन्न पालिकाका जनप्रतिनिधिहरुसंग पनि अन्तरक्रिया र सुझाव संकलन गरेको छ । प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रा अर्याललगायतसंग विभिन्न समयमा अन्तरक्रिया गर्नुका साथै सुझाव संकलन गरेको थियो । यस्ता कार्यक्रमलाई निरन्तरता दिइने समाजका नवनिर्वाचित अध्यक्ष आचार्यले बताइन् ।




















प्रतिक्रिया