बुटवल । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि शिक्षा, स्वास्थ्य, सीप, रोजगार, सूचना प्रविधि, खेलकुद, सुशासन तथा आर्थिक विकासलाई केन्द्रमा राख्दै महत्त्वाकांक्षी नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ । नगर प्रमुख खेलराज पाण्डेयले नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम दोस्रो बैठकबाट सर्वसम्मतिले अनुमोदन भएको हो ।
उपमहानगरपालिकाले “समानता, स्वाभिमान र अवसर-बस्नयोग्य बुटवल शहर” को दीर्घकालीन सोचलाई कार्यान्वयन गर्ने लक्ष्यसहित शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग, व्यापार तथा सूचना प्रविधिमा आधारित विकासलाई प्राथमिकता दिएको छ । नगरले युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने, निजी क्षेत्रसँग सहकार्य बढाउने तथा बुटवललाई आर्थिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने नीति अघि सारेको छ ।
शिक्षामा उच्च प्राथमिकता, ‘पढाइसँगै रोजगार’ अभियान विस्तार
उपमहानगरपालिकाले “शिक्षामा सबल, बुटवल अब्बल” अभियानलाई निरन्तरता दिँदै विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार सुधार गर्ने योजना अघि सारेको छ । सबै आधारभूत तथा माध्यमिक विद्यालयमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) प्रयोगशाला स्थापना, ई–लर्निङ पोर्टल सञ्चालन तथा सामुदायिक विद्यालयलाई क्रमशः पूर्ण प्रविधिमैत्री बनाउने लक्ष्य लिइएको छ ।
विद्यार्थीलाई सीप र रोजगारसँग जोड्न विभिन्न साझेदार संस्थासँग सहकार्य गरिने भएको छ । “छोरी पढाऔँ, समाज बनाऔँ” अभियानमार्फत छात्राहरूलाई प्राविधिक तथा व्यावसायिक शिक्षामा आकर्षित गरिनेछ ।
विपन्न, असहाय तथा जोखिममा रहेका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न ‘नगर प्रमुख शैक्षिक सुधार कोष’ स्थापना गरिने भएको छ । दलित समुदायका विद्यार्थीका लागि छात्रावास निर्माण तथा बेसहारा र अनाथ बालबालिकाका लागि आवासीय शिक्षाको व्यवस्था मिलाइनेछ ।
छात्रवृत्ति वितरणदेखि विद्यालय परीक्षा व्यवस्थापनसम्म डिजिटल प्रणाली
संस्थागत विद्यालयले उपलब्ध गराउने १० प्रतिशत छात्रवृत्तिको परीक्षा, व्यवस्थापन र वितरण प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाइने भएको छ । नगरभित्रका विद्यालयहरूको परीक्षा एकैसाथ सञ्चालन गरी उपमहानगरपालिकाबाट नतिजा प्रकाशन गर्ने व्यवस्था पनि गरिनेछ ।
बालमैत्री, छात्रामैत्री र अपाङ्गमैत्री विद्यालय निर्माणलाई प्राथमिकता दिइएको छ । अटिजमसम्बन्धी विद्यालय स्थापना गर्ने तथा फरक क्षमता भएका र लैङ्गिक अल्पसंख्यकका लागि सीपमूलक कार्यक्रम सञ्चालन गरिने नीति पनि समावेश गरिएको छ ।
जेष्ठ नागरिकदेखि ट्रमा अस्पतालसम्म स्वास्थ्य क्षेत्रमा ठूला योजना
स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै उपमहानगरपालिकाले “बा-आमासँग नगरप्रमुख कार्यक्रम” लाई थप व्यवस्थित बनाउने भएको छ । जेष्ठ नागरिकका लागि वर्षमा एक पटक निःशुल्क स्वास्थ्य परीक्षण, ल्याब परीक्षण तथा थेरापी सेवा उपलब्ध गराइनेछ ।
सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) लाई थप सुदृढ गर्दै २०० शय्यामा विस्तार गर्ने, प्यारामेडिकल शिक्षा विस्तार गर्ने तथा आमा सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने योजना अघि सारिएको छ ।
बुटवल-११ मा आधुनिक आँखा अस्पताल निर्माण गर्ने तथा सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडलमा १०० शय्याको सुविधासम्पन्न ट्रमा अस्पताल स्थापना गर्ने घोषणा गरिएको छ ।
महिला, बालबालिका र विपन्न वर्ग लक्षित स्वास्थ्य कार्यक्रम
महिलाका लागि पाठेघर तथा स्तन क्यान्सर परीक्षण, भिडियो एक्सरे तथा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । एचआईभी संक्रमित तथा दीर्घरोगी विपन्न नागरिकलाई आर्थिक सहयोगलाई निरन्तरता दिइनेछ ।
पूर्णखोप सुनिश्चितता कार्यक्रम, कुपोषण न्यूनीकरण, किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा तथा विशेषज्ञ चिकित्सकसहितका शिविर सञ्चालन गरिने नीति पनि समेटिएको छ ।
डेंगु, चिकनगुनिया तथा पानीजन्य रोग नियन्त्रणका लागि “लार्भा खोज र नष्ट गर” अभियान सञ्चालन गरिनेछ ।
नाइट मार्केटदेखि मोबाइल रेष्टुरेन्टसम्म नयाँ अवधारणा
राजस्व वृद्धि र शहरी व्यवस्थापनलाई प्राथमिकता दिँदै नगरले व्यवसाय दर्तालाई अनिवार्य बनाउने भएको छ । ठेला व्यवसायलाई व्यवस्थित गर्दै रात्रीकालीन बजार (नाइट मार्केट) सञ्चालन गर्ने योजना ल्याइएको छ ।
पुराना बसलाई मर्मत गरी मोबाइल रेष्टुरेन्टका रूपमा सञ्चालन गर्न प्रोत्साहन गरिने भएको छ । व्यवसाय सञ्चालनका लागि अनुमति प्रणाली लागू गरिनेछ ।
बस टर्मिनल आधुनिकीकरण र सडक व्यवस्थापन
लुम्बिनी बस टर्मिनललाई यात्रुमैत्री बनाउँदै शुद्ध खानेपानी, विद्युत सेवा, निःशुल्क वाइफाइ, विश्रामस्थल तथा आधुनिक शौचालयको व्यवस्था गरिनेछ ।
सडक पेटी अतिक्रमण नियन्त्रण, पार्किङ व्यवस्थापन तथा पैदलयात्रीमैत्री संरचना निर्माणलाई प्राथमिकता दिइएको छ । अव्यवस्थित पार्किङ र अतिक्रमणमा कडा कारबाही गरिने नीति लिइएको छ ।
३०० विद्यार्थीलाई रोजगार, युवालाई कर छुट
‘पढाइसँगै रोजगार’ कार्यक्रमअन्तर्गत ३०० जना स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई तीन महिनाका लागि रोजगार प्रदान गरिनेछ ।
३५ वर्षमुनिका युवाले व्यवसाय दर्ता गर्दा दर्ता शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ। यसले स्वरोजगार र उद्यमशीलता प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
सुशासनमा कडाइ, बेरुजु सार्वजनिक गरिने
उपमहानगरपालिकाले “बेरुजुको अन्त्य गरी सुशासनमा जोड” भन्ने नारासहित आर्थिक अनुशासनलाई प्राथमिकतामा राखेको छ । बेरुजु भएका व्यक्ति तथा निकायको नाम सार्वजनिक गर्ने नीति लिइएको छ ।
स्थानीय पत्रपत्रिका तथा उपमहानगरपालिकाको वेबसाइटमार्फत बेरुजुको विवरण सार्वजनिक गरिनेछ । आन्तरिक लेखा परीक्षणलाई थप प्रभावकारी बनाउन विशेष जनशक्ति परिचालन गरिने भएको छ ।
डिजिटल बुटवल निर्माणमा जोड
उपमहानगरपालिकाले ‘डिजिटल पालिका’ र ‘ई-पालिका’ अवधारणालाई पूर्ण रूपमा कार्यान्वयन गर्ने घोषणा गरेको छ । अधिकांश सेवा अनलाइन माध्यमबाट उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
सम्पूर्ण अभिलेखलाई डिजिटल प्रणालीमा रूपान्तरण गरिने, साइबर सुरक्षा सुदृढ बनाइने तथा अनलाइन गुनासो व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाइनेछ ।
सूचना प्रविधि र कृत्रिम बौद्धिकता (एआई) लाई प्रोत्साहन गर्न नगरस्तरीय एआई प्रतियोगिता आयोजना गरिने भएको छ ।
खेल पर्यटनको केन्द्र बनाउने लक्ष्य
खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै उपमहानगरपालिकाले मेयर कप फुटबल र उपमेयर कप भलिबल प्रतियोगितालाई निरन्तरता दिने भएको छ ।
बुटवल-१३ को जबईमा राष्ट्रियस्तरको फुटबल मैदान तथा बुटवल-१६ को डहरगाउँमा क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढाइनेछ ।
नगरले राष्ट्रियस्तरको कबड्डी प्रतियोगिता, लुम्बिनी प्रदेशस्तरीय कराँते प्रतियोगिता सञ्चालन गर्ने तथा खो-खो, डण्डीबियो, तारा हान्ने खेल र डोरी तान्ने खेलजस्ता परम्परागत खेलको संरक्षण र प्रवर्द्धन गर्ने नीति पनि लिएको छ ।
उपमहानगरपालिकाले दीर्घकालीन रूपमा ‘स्पोर्ट्स भिलेज’ स्थापना गरी बुटवललाई खेल पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य अघि सारेको छ ।



















प्रतिक्रिया