नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण भइरहेका कारण नेपालगन्ज क्षेत्रमा विद्युत अनियमितता देखिएको बताएका छन् । नेपालगन्ज वितरण केन्द्रको स्थलगत निरीक्षणपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै मन्त्री श्रेष्ठले सातौँ विद्युतीकरण आयोजना अन्तर्गत सन् १९९० पछि वितरण सञ्जालमा सुधार हुन नसकेको बताएका छन् ।
उनले नेपालगन्ज वितरण केन्द्र अन्तर्गतको वितरण प्रणालीमा विगत लामो समयदेखि अपेक्षित स्तरोन्नति हुन नसक्दा संरचनागत तथा प्राविधिक समस्या बढ्दै गएको उल्लेख गरेका छन् । ‘विद्युत् माग वार्षिक रूपमा करिब १५ प्रतिशतका दरले वृद्धि भइरहेकाले पुरानो संरचनाबाट बढ्दो लोड व्यवस्थापन गर्न कठिनाइ भइरहेको पाइयो,’ उनले लेखेका छन्, ‘कोहलपुर राष्ट्रिय तथा टनकपुर आपूर्तिको अन्तिम बिन्दुमा रहेको वितरण प्रणाली, स्वीचिङ प्रणालीका चुनौती, नजिकै उत्पादन केन्द्रको अभावका कारण देखिने न्यून भोल्टेज तथा निर्माणाधीन न्यू नेपालगन्ज सबस्टेशन समयमै सञ्चालनमा आउन नसक्दा विद्युत् आपूर्तिको गुणस्तरमा प्रत्यक्ष असर परेको रहेछ। फिडर ओभरलोड, पटक–पटक हुने ट्रिपिङ तथा पुराना वितरण संरचनाले उपभोक्ताले अपेक्षा गरेको स्तरको सेवा दिन सकेका छैनन्।’
मन्त्री श्रेष्ठले नेपालगन्ज जस्तो देशकै अत्यधिक तापक्रम हुने क्षेत्रमा गुणस्तरीय, सुरक्षित र भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्नु सरकारको प्राथमिकता भएको उल्लेख गर्दै यसै आर्थिक वर्षदेखि वितरण प्रणालीको स्तरोन्नति तथा सुदृढीकरणका लागि आवश्यक बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आगामी गर्मीयामअघि निर्माणाधीन न्यू नेपालगन्ज सबस्टेशन सञ्चालनमा ल्याउन आवश्यक समन्वय र सहजीकरण गरिने जनाउँदै उनले आवश्यक क्षमताका थप ट्रान्सफर्मर नेपालगन्जमा उपलब्ध गराइनेछ, वितरण सञ्जालको क्षमता अभिवृद्धि, पुराना लाइन तथा कन्डक्टरको स्तरोन्नति, आवश्यक स्थानमा नयाँ फिडर विस्तार तथा लोड व्यवस्थापनका कार्यलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
फिडर ओभरलोड, ट्रिपिङ, न्यून भोल्टेज लगायतका सम्पूर्ण प्राविधिक समस्याको तत्काल विस्तृत अध्ययन गरी यथाशीघ्र समाधानका लागि आवश्यक निर्णय तथा कार्यान्वयन गरिने उनको भनाई छ । उनले नेपालगन्जका नागरिक, उद्योग–व्यवसाय तथा सम्पूर्ण उपभोक्ताले भरपर्दो, गुणस्तरीय र निरन्तर विद्युत् सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्न मन्त्रालय र नेपाल विद्युत् प्राधिकरण पूर्ण प्रतिबद्धताका साथ अघि बढ्ने समेत जनाएका छन् ।



















प्रतिक्रिया