१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

मौद्रिक नीतिपछि सेयर बजारमा निरन्तर दबाब, दोस्रो दिन पनि १९.६७ अंकले घट्यो नेप्से



काठमाडौं । नेपाल राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक भएपछि सेयर बजारमा देखिएको दबाब बिहीबार पनि कायम रह्यो। लगातार दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लाग्दै १९.६७ अंकले घटेर २६०१.९२ विन्दुमा पुगेको छ। यसअघि बुधबार पनि नेप्से करिब ३० अंकले घटेको थियो।

बजार खुलेदेखि नै बिक्रीकर्ता हावी हुँदा नेप्से दिनभर रातो रह्यो। बजार घटे पनि कारोबार रकम भने उल्लेख्य नै रह्यो। बिहीबार ३६१ कम्पनीका ८७ लाख ५१ हजार ३८० कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ६१ करोड १९ लाख ५४ हजार ७८२ रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन ४ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

आजको कारोबारमा २२९ कम्पनीको सेयर मूल्य घटेको छ भने ४२ कम्पनीको मूल्य मात्रै बढ्न सफल भयो। ६ कम्पनीको मूल्य स्थिर रह्यो। यसले बजारमा लगानीकर्ताको मनोबल अझै कमजोर रहेको संकेत गरेको छ।

सबै समूह राताम्मे

बिहीबार कुनै पनि समूहले हरियो संकेत देखाउन सकेन। सबै १२ समूहगत परिसूचक घटेका छन्।

सबैभन्दा धेरै व्यापार (ट्रेडिङ) समूह २.३६ प्रतिशतले ओरालो लाग्यो। उत्पादन तथा प्रशोधन समूह १.१९ प्रतिशत, विकास बैंक १.११ प्रतिशत, लगानी ०.९५ प्रतिशत, होटल तथा पर्यटन ०.७६ प्रतिशत, जलविद्युत् ०.७० प्रतिशत, माइक्रोफाइनान्स ०.६९ प्रतिशत, निर्जीवन बीमा ०.६६ प्रतिशत, फाइनान्स ०.६२ प्रतिशत, जीवन बीमा ०.६१ प्रतिशत, बैंकिङ ०.५० प्रतिशत तथा अन्य समूह ०.१८ प्रतिशतले घटेका छन्।

यी कम्पनीका लगानीकर्ताले कमाए बढी नाफा

बजार समग्रमा घटे पनि केही कम्पनीका लगानीकर्ताले राम्रो प्रतिफल पाए। उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै १२.६८ प्रतिशतले बढ्यो। स्नो रिभर लिमिटेड ११.७६ प्रतिशतले उकालो लाग्दा जनउत्थान लघुवित्त ३.०९ प्रतिशत र त्रिशूली जलविद्युत् २.७७ प्रतिशतले बढेका छन्।

यता, सालपा विकास बैंकको सेयर मूल्य ८.२८ प्रतिशतले घट्यो। थ्रीस्टार हाइड्रोपावर ७.९२ प्रतिशत तथा ओम मेगाश्री फर्मास्युटिकल्स ५.७६ प्रतिशतले ओरालो लागेका छन्। ऋणपत्रतर्फ बैंक अफ काठमाडौंको डिबेञ्चरको मूल्य सबैभन्दा धेरै ८.६६ प्रतिशतले घटेको छ।

ऋणपत्रको कारोबारले तान्यो  

कारोबार रकमका आधारमा बिहीबार पनि ऋणपत्रहरू नै अग्रस्थानमा रहे। ग्लोबल आईएमई बैंकको ऋणपत्रमा ३५ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यसपछि सिद्धार्थ बैंकको ऋणपत्रमा २८ करोड ६५ लाख रुपैयाँ र बैंक अफ काठमाडौंको ऋणपत्रमा २० करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यसबाहेक रिलायन्स स्पिनिङ मिल्स, एसियन लाइफ इन्स्योरेन्स (संस्थापक), आँखुखोला जलविद्युत्, सेन्ट्रल फाइनान्स र बेस्ट फाइनान्स पनि उच्च कारोबार हुने कम्पनीको सूचीमा परेका छन्।

किन घटिरहेको छ बजार ?

बजार विश्लेषकका अनुसार मौद्रिक नीतिमा संस्थाको वित्तीय सबलताका आधारमा सेयर धितो कर्जाको सीमा निर्धारण गरिने व्यवस्था उल्लेख भएपछि लगानीकर्तामा केही अन्योलता सिर्जना भएको छ। हाल १८० दिनको औसत मूल्य वा बजारको वर्तमान मूल्यमध्ये जुन कम हुन्छ, त्यसको ७० प्रतिशतसम्म सेयर धितो कर्जा उपलब्ध गराउने व्यवस्था लागू छ। नयाँ व्यवस्थाको कार्यान्वयन कसरी हुन्छ भन्ने स्पष्टता नआएकाले लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा देखिएका छन्।

यससँगै असार मसान्त नजिकिएकाले बैंकको साँवा र ब्याज भुक्तानी गर्नुपर्ने दबाब पनि बजारमा देखिएको छ। शुक्रबारसम्म बिक्री गरिएको सेयरको रकम असार मसान्तभित्र खातामा प्राप्त हुने भएकाले धेरै लगानीकर्ताले नगद व्यवस्थापनका लागि सेयर बिक्री बढाएको विश्लेषण गरिएको छ।

यी दुई कारणले बजारमा बिक्री दबाब बढ्दा मौद्रिक नीतिपछिको दोस्रो कारोबार दिन पनि नेप्सेले सुधारको संकेत दिन सकेन।

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार  ३ : ४३ बजे

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा