२९ असार २०८३, सोमबार | July 13, 2026

कालोपत्रपछि बर्खायाममा सहज बन्यो दोर्दीको केन्द्र जोड्ने सडक



लमजुङ । अघिल्लो बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडकका कारण सास्ती खेप्दै आएका दोर्दी गाउँपालिकावासी अहिले सहज रूपमा सडक यात्राको अनुभव गरिरहेका छन् । उदिपुर-रिठ्ठेबगर-नौथर हुँदै दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक कालोपत्र सम्पन्न भएपछि यस वर्षको बर्खायाममा ससवारीसाधन सहज रूपमा सञ्चालन भइरहेका छन् ।

गण्डकी प्रदेश सरकारको ‘एक पालिका, एक सडक’ अभियानअन्तर्गत निर्माण गरिएको उक्त सडक सञ्चालनमा आएपछि सदरमुकाम बेँसीसहर र दोर्दी गाउँपालिकाबीचको यात्रा सहज, छोटो र सुरक्षित बनेको छ । विगतमा वर्षामा सडक हिलाम्मे हुने, सवारीसाधन चिप्लिने, गाडी फस्ने तथा यात्रा गर्न घण्टौँ लाग्ने अवस्था थियो । हिउँदमा धुलो उड्ने समस्या हुँदा स्थानीय बासिन्दा, यात्रु तथा सडक आसपासका बस्तीसमेत प्रभावित हुने गरेका थिए ।

अहिले अस्फाल्ट प्रविधिबाट कालोपत्र भएपछि स्थानीयले राहत पाएका छन् । सडक राम्रो भएपछि वर्षायाममा पनि सहज रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन् भने दैनिक आवतजावत छरितो बनेको छ । दोर्दी गाउँपालिका-४ नौथरसैराका स्थानीय लक्ष्मण गुरुङले सडक कालोपत्र भएपछि बर्खायाममा समेत सहज रूपमा आवतजावत गर्न सकिएको बताए ।

विगतमा हिलो र चिप्लोपनका कारण उदिपुरबाट दोर्दी पुग्न निकै समय लाग्ने गरेको स्मरण गर्दै उनले अहिले मोटरसाइकल तथा साना सवारीसाधनबाट १५-२० मिनेटमै आवतजावत गर्न सकिने भएको बताए । “पहिला बर्खामा सडकको अवस्था खराब हुँदा जोखिम मोलेर यात्रा गर्नुपथ्र्यो । गाडी चिप्लिने, हिलोमा फस्ने र कतिपय अवस्थामा यात्रुले झरेर बाटो मिलाउनुपर्ने अवस्था थियो । अहिले सडक राम्रो भएपछि समयमा नै गन्तव्यमा पुग्न सकिन्छ”, उनले भने ।

बेँसीसहर नगरपालिका-११ रामचोक बेँसीका ईश्वरराज सेढाईले पनि सडक सहज भएपछि दैनिक आवतजावतमा ठूलो सुविधा पुगेको बताए । घर र कामको सिलसिलामा यही सडक हुँदै नियमित यात्रा गर्ने उनले पहिले घर पुगेर फर्किनसमेत धेरै समय लाग्ने गरेकामा अहिले छोटो समयमै काम सकेर फर्किन सकिने अवस्था बनेको बताए ।

“पहिला जानलाई लाग्ने समयले अहिले गएर आएर काम सक्न सकिने अवस्था छ । समयको सदुपयोग भएको छ”, उनले भने । सडक सहज भएपछि कृषि उत्पादन बजारसम्म पुर्याउन, आवश्यक सामग्री ल्याउन तथा सदरमुकाम आवतजावत गर्न पनि सहज भएको उनको भनाइ छ ।

दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले पालिका केन्द्र जोड्ने मुख्य सडक कालोपत्र भएपछि स्थानीयलाई ठूलो राहत पुगेको जानकारी दिए । सडक निर्माण सम्पन्न भएपछि पालिका आउने-जाने र सदरमुकाम बेँसीसहरसम्मको यात्रा सहज, छोटो र सुरक्षित बनेको उल्लेख गर्दै उनले वर्षायाममा हुने जोखिमसमेत हटेको बताए ।

सडक पूर्वाधारको विकासले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानीलगायत अन्य विकासका क्षेत्रमा सकारात्मक प्रभाव पारेको उनको भनाइ छ । “यो सडक दोर्दीको विकासको एउटा महत्त्वपूर्ण उदाहरण हो”, उनले भने ।

पूर्वाधार विकास कार्यालय लमजुङका सूचना अधिकारी नरेशराज जोशीले सडक निर्माण सम्पन्न भई अहिले नियमित रूपमा सञ्चालनमा रहेको बताए । उनका अनुसार गत मङ्सिरको अन्तिमतिर कालोपत्र सम्पन्न भएको हो । प्रदेश सरकारको रु २६ करोड २९ लाख लगानीमा निर्माण भएको ७.१ किलोमिटर सडकको ठेक्का कन्टेक निर्माण प्रालि काठमाडौंले पाएको थियो ।

कम्पनीसँग विसं २०७७ असार ३ गते सम्झौता भएको थियो । कोभिड-१९ लगायतका कारण निर्माण प्रभावित भएपछि तोकिएको समयमा काम सम्पन्न हुन सकेन । त्यसपछि पटकपटक म्याद थप गरिएकामा पछिल्लोपटक थपिएको अवधिभित्र निर्माण सम्पन्न गरी सडक सञ्चालनमा ल्याइएको हो ।

सडकमा अस्फाल्ट कालोपत्रसँगै आवश्यक स्थानमा ढलान, नाला तथा अन्य संरचना निर्माण गरिएको छ । सडक सञ्चालनमा आएपछि दोर्दी गाउँपालिकाका बासिन्दाको दैनिक आवतजावत, कृषि उपज ढुवानी, शैक्षिक तथा स्वास्थ्य सेवामा पहुँच सहज भएको छ । सदरमुकामसँगको सम्पर्क सहज बनेसँगै स्थानीयको आर्थिक तथा सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव परेको छ ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ९ : ०६ बजे

कर्रा खोलाको बाढीमा ट्रक बग्यो, चालक घाइते

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ स्थित कर्रा खोलामा सोमबार बिहान

नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक स्थानान्तरण

काठमाडौं । राहदानी विभागले नेपालको इतिहासमै सबैभन्दा ठूलो डेटा स्थानान्तरण

छत्रगञ्ज रुपन्देही समाजद्वारा पर्यटन प्रवर्द्धनमा नयाँ पहल

अर्घाखाँची । सामाजिक तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा सक्रिय छत्रगञ्ज रुपन्देही

अस्पतालबाट जेनजी अगुवा माजिद अन्सारीको अपिल : ‘जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरियोस्’

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई प्रहरीले गैरकानुनी रूपमा

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

बाँके । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा