काठमाडौं । विशेष अदालतले घुस लिएको अभियोगमा नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनील पौडेललाई साढे आठ वर्ष कैद सजाय सुनाएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यद्वय हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले बिहीबार उक्त फैसला सुनाएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यवसायी दीपक आनन्दसँग घुस मागेर लिएको आरोपमा पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अदालतले आरोप प्रमाणित ठहर गर्दै पौडेललाई आठ वर्ष कैद सजाय सुनाएको हो।
विशिष्ट श्रेणीका सार्वजनिक पदाधिकारीका रूपमा घुस लिएको ठहर भएपछि उनलाई थप छ महिनाको कैदसमेत सजाय निर्धारण गरिएको छ। यससँगै उनले कुल साढे आठ वर्ष कैद सजाय भोग्नुपर्ने भएको छ।
यसै प्रकरणमा व्यवसायी दीपक आनन्दलाई पनि अदालतले आठ वर्ष कैद सजाय सुनाएको छ।
अदालतले घुसबापत लेनदेन भएको भनिएको ३ करोड ८ लाख रुपैयाँ दामासाहीका आधारमा दुवै अभियुक्तबाट असुलउपर गर्ने फैसला गरेको छ। त्यसअनुसार पौडेल र आनन्दबाट जनही १ करोड ५४ लाख रुपैयाँ जरिवाना असुल गरिने भएको छ।
यो फैसला नेपाल टेलिकमसँग सम्बन्धित चर्चित भ्रष्टाचार मुद्दामध्ये एकमा आएको महत्वपूर्ण निर्णयका रूपमा हेरिएको छ।



















प्रतिक्रिया