२ पुस २०८२, बुधबार | December 18, 2025

महामारीको बेला कसरी मनाउने दशैं ?



काठमाडौं । दशैं जति नजिकिँदो छ उति नै कोरोना भाइरस संक्रमण बढ्दो छ ।

यस्तो बेला कसरी मनाउने दशैं ? सरकारले यसपटक अनलाइन वा फोनबाट आशीर्वाद लिन आग्रह गरेको छ । टीका थाप्दा हुने भेटघाट र भीडभाडले संक्रमणको समस्या बढाउने सरकारको बुझाइ छ । सरकारले दसैं किनमेल नगर्न र भएकै लुगाकपडामा दशैं मनाउन पनि भनेको छ ।

संस्कृतिविद् पनि यसपटकको दशैं जो जहाँ छ त्यहीँ मनाउन सुझाउँछन् । उनीहरूले टीका थाप्न परिवारलाई बाहिर नजान र आशीर्वादका लागि सामाजिक सञ्जाल प्रयोग गर्न भनेका छन् । अन्तर्राष्ट्रिय पञ्चांग निर्णयाक समितिका अध्यक्ष प्राध्यापक डा. माधव भट्टराई दशैं साधनामुखी अनुष्ठान गर्ने पर्व भएकाले पारिवारिक जमघट गर्नै पर्छ भन्ने नरहेको बताउँछन् । भन्छन्, ‘भगवतीको साधनामुखी अनुष्ठानको प्रसादस्वरूप लगाइने टीका, दिइने आशीर्वादका लागि गरिने आवतजावत र पारिवारिक जमघटले संक्रमण फैलिने खतरा हुन्छ । यस्तो अवस्थामा लापरबाही गर्नु खतराको संकेत हो ।’

दशैंअघि हाल बजारमा देखिएको भीडभाड बेहोसीपन भएको र यसले धेरैको ज्यान जान सक्ने हुँदा सबैलाई सजग रहन उनको सुझाव छ । धर्मसंस्कृतिअनुसार बनेका थुप्रै नियम वैज्ञानिक दृष्टिले पुष्टि भएकाले सोहीअनुसार काम गर्नु बुद्धिमानी हुने उनको धारणा छ ।

इतिहास एवं संस्कृतिविद् ज्ञानमणि नेपाल लकडाउन भएयता इन्द्रजात्रा, सेतो र रातो मच्छिन्द्रनाथ, तीज, श्राद्ध आदि सबै चाडपर्वमा रोक लगाइएकाले सरकारले भनेबमोजिम दशैंतिहार मनाउनुपर्ने बताउँछन् । ‘मेरा बुवाका ६ छोरा ३ छोरी, सबैका परिवार गरी झन्डै ७० जना भेला हुन्थ्यौं’, उनी भन्छन्, ‘मैले यसपटक नआउनू, घरघरमै बसेर मनाउनू, आशीर्वाद सामाजिक सञ्जालबाटै दिऊँला भनिसकें ।’

संस्कृतिविद् डा. जगमान गुरुङ टीका थाप्न गाउँ नजानु र गाउँबाट सहर नआउनु उत्तम हुने बताउँछन् । गाउँ जान नपाउँदा आफूलाई पनि दुःख लागेको उनको भनाइ छ । भन्छन्, ‘अर्को मनले सोचें, ज्यान रहे चाडबाड मनाइरहन पाइन्छ । तर, जबरजस्ती एकपटक चाड मनाउँदा बाँकी चाडपर्व मनाउन नपाइएला । सबैलाई यो कुरो मनन गर्न आग्रह गर्छु ।’

सरकारले मठमन्दिर खोल्ने निर्णय नगरेको र यसअघिका चाडपर्व पनि घरमै बसेर मनाइएकाले दसैंतिहार पनि यसैगरी मनाउनु उचित हुने उनको सुझाव छ । ‘जो जहाँ छौं त्यहीँ त्यत्ति नै जनाले मनाऔं’, उनी भन्छन्, ‘यसपटक परिवारबीच विगतका घटना, सन्दर्भ, पुर्खा, नातागोता, गाउँ, खेतीपाती र जनजीवन, हालसम्मको पारिवारिक यात्रा सबैबारे खुलेर कुरा गरौं ।’

संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार नेवार समुदायले दशैंलाई मोहनी उपनाम दिएर मनाउँछन् । पूर्णिमापछि पनि नखट्यामा छोरीचेली बोलाएर मनाउने भएकाले यस दसैंमा ती सबै काम गर्न नहुने उनी बताउँछन् । ‘जिन्दगी छ र त चाडपर्व आउँछन् र मनाउन पाइन्छ’, उनी भन्छन्, ‘विश्वभरका देश र नागरिकले झेलेका संक्रमणका चुनौतीबाट पाठ सिकौं । घरमै बसेर सुरक्षित ढंगले दसैं मनाऔं ।’

हिन्दू जागरण नेपालका अध्यक्ष पण्डित रामकृष्ण उपाध्याय भने महान् चाड भएकाले दसैं मनाउनुपर्नेमा जोड दिन्छन् । ‘तर, विगतजस्तो शैलीमा होइन ।

मास्क लगाएर अनि परिवारबीच पनि दूरी कायम गरेर टीका र आशीर्वाद थापौं’, उनी भन्छन्, ‘दशैंलाई उल्लासमय बनाऔं त्यसले यस्तो बेला प्रसन्नता र आत्मबल बढाउँछ । संक्रमणको तनाव कम गराउँछ ।’ उक्त समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ७ : ५५ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल