१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

सरकार संघीयताप्रति प्रतिबद्ध छ, हिन्दू राष्ट्र र राजतन्त्रको पक्षमा छैनौँ : प्रधानमन्त्री बालेन्द्र



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संघीयताप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेशकेन्द्रित दलका नेताहरूसँग करिब दुई घण्टा भएको छलफलमा प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक व्यवस्थाप्रति सरकार दृढ रहेको स्पष्ट पारेका हुन्। उनले हिन्दू राष्ट्र र राजतन्त्र पुनःस्थापनाको पक्षमा आफू नरहेको पनि बताए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै जनता समाजवादी पार्टी (नेपाल)का महासचिव रामकुमार शर्माले प्रधानमन्त्रीले हिन्दू राष्ट्रको बहसलाई राजतन्त्रसँग जोडिएको विषयका रूपमा व्याख्या गरेको बताए। उनका अनुसार प्रधानमन्त्रीले, “हिन्दू राष्ट्र आएपछि राजा जोडिएर आउँछ, अहिले त्यसो गर्नु उपयुक्त हुँदैन। संघीयताप्रतिको हाम्रो प्रतिबद्धता पूरा गरेर जान्छौँ,” भन्ने धारणा राखेका थिए।

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले पनि प्रधानमन्त्रीले आफू र आफ्नो दल संघीयताको पक्षमा स्पष्ट रूपमा उभिएको बताएको जानकारी दिए।

छलफलको क्रममा प्रधानमन्त्रीले साम्प्रदायिक तनाव अन्त्य गर्न सबै राजनीतिक दल, समुदाय र नागरिकलाई एकजुट भएर अघि बढ्न आह्वान पनि गरेका छन् ।

केही तत्वहरूले साम्प्रदायिक दंगा भड्काएर स्वार्थ पूरा गर्न खोजिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसविरुद्ध सबै राजनीतिक दल र समुदाय एकताबद्ध हुनुपर्नेमा जोड दिएका थिए। तराई–मधेशमा देखिएको तनाव नियन्त्रण गर्न सरकार सक्रिय रहेको भन्दै सबै पक्षबाट सहयोग आवश्यक रहेको उनको भनाइ थियो।

छलफलमा सुनसरीको कप्तानगन्ज घटनाबारे पनि विस्तृत रूपमा चर्चा भएको थियो। मधेशकेन्द्रित दलका नेताहरूले सरकारको प्रारम्भिक प्रतिक्रिया ढिलो हुँदा अवस्था थप जटिल बनेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। प्रधानमन्त्रीले भने छानबिन प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही हुने र पीडित पक्षसँग भएका सम्झौताहरू कार्यान्वयन गरिने विश्वाससमेत दिलाएका छन् ।

अर्का नेता राजेन्द्र महतोले प्रधानमन्त्रीको सम्बोधन चार दिन अघि नै आएको भए थप क्षति हुनबाट वच्नसक्ने अवस्था रहेको बताए । उनले समाजमा मानिस मानिससँगै डराउनुपर्ने अवस्था सिर्जना हुनु देश र समाज दुवैका लागि घातक भएको उल्लेख गर्दै साम्प्रदायिक सद्भाव कायम गर्न सरकारको प्रभावकारी पहल आवश्यक रहेको धारणा राखे।

उनले विगतमा मधेश आन्दोलनका क्रममा नागरिकमाथि भएको बल प्रयोगको पुनरावृत्ति अहिले पनि देखिएको टिप्पणी गर्दै यस्ता घटनामा संवादलाई प्राथमिकता दिनुपर्ने बताए।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले कप्तानगन्ज घटनामा ज्यान गुमाएका युवाका परिवारसँग तत्काल वार्ता गरी माग सम्बोधन गरेको भए स्थिति थप बिग्रिन नपुग्ने बताए। सुरक्षा निकायको आक्रामक शैलीले तनाव चर्किएको उल्लेख गर्दै उनले यस्ता संवेदनशील घटनामा सुरक्षाकर्मीलाई संयमित रूपमा परिचालन गर्न विशेष तालिम आवश्यक रहेको सुझाव दिए।

राउतले साम्प्रदायिक तथा धार्मिक विवाद बल प्रयोगबाट नभई संवादबाट समाधान गर्नुपर्नेमा जोड दिँदै प्रत्येक जिल्लामा सबै धर्मका गुरु, धार्मिक अभियन्ता र सरोकारवालाको सहभागितामा अन्तरधार्मिक परिषद् गठन गरी नियमित छलफल सञ्चालन गर्न सरकारलाई सुझाव दिएको जानकारी दिए।

बैठकमा सहभागी नेताहरूले सुनसरी घटनापछि गृहमन्त्रीसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। विगतका सरकारले गरेका सहमतिहरू कार्यान्वयन नभएको स्मरण गराउँदै उनीहरूले वर्तमान सरकारले त्यस्तो कमजोरी दोहोर्याउन नहुने बताएका थिए।

प्रधानमन्त्रीसँगको छलफलमा महन्थ ठाकुर, लालबाबु राउत, समीम मियाँ अन्सारी, रामकुमार शर्मा, प्रभु साह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउतलगायत मधेशकेन्द्रित दलका नेताहरू सहभागी थिए।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ३ : ०९ बजे

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,

सरकार संघीयताप्रति प्रतिबद्ध छ, हिन्दू राष्ट्र र राजतन्त्रको पक्षमा छैनौँ : प्रधानमन्त्री बालेन्द्र

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संघीयताप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध

शनिबार बिहान नेपालगन्जमा सद्भाव र्याली गरिने

नेपालगन्ज । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना सहित नेपालगन्जमा

नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ र १४ औँ वार्षिक साधारणसभा भोलि बुटवलमा हुँदै

बुटवल । ‘व्यावसायिक एकता, व्यवसायमा पारदर्शिता : महासंघको प्रतिबद्धता’ भन्ने