काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीका कारण मुलुकमा शासकीय अराजकता बढेको र नागरिकमा अनिश्चितता, हतासा तथा आक्रोश बढ्दै गएको बताएका छन्।
आजदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा धारणा राख्दै थापाले कार्यपालिकाले आफ्नो संवैधानिक सीमा मिच्दै गएको आरोप लगाए। उनले सरकारका गतिविधि विधि र प्रक्रियाभन्दा बाहिर जान थालेको भन्दै त्यसलाई अब छुट दिन नसकिने बताए।
‘हामी अब शासकीय अराजकताबारे बोल्नुपर्नेछ,’ थापाले भने, ‘मेरो गाडीमा ब्रेक छैन, एक्स्प्रेस वेमा हिँडेको छ भनेर प्रधानमन्त्रीले भन्नुभयो। स्पिडमा हिँड्ने तपाईंको छनोट हो तर लेन मिच्न पाउनुहुन्न।’
उनले एकपटक हुने गल्तीलाई संयोग वा भूलका रूपमा लिन सकिए पनि त्यही प्रवृत्ति दोहोरिँदै गए त्यसलाई स्वीकार गर्न नसकिने बताए।
थापाले कार्यपालिकाले आफ्नो सीमा नमानेको भन्दै न्यायपालिका, संवैधानिक निकाय र संसद्लाई समेत आफ्नो आदेश पालक ठान्ने प्रवृत्ति देखिएको आरोप लगाए।
‘कार्यपालिकाले आफ्नो सीमा मान्दैन । न्यायपालिकाको सीमा पनि मेरै ठान्छ,’ उनले भने, ‘संवैधानिक निकाय पनि आदेश पालक हो भन्छ । संसद् पनि मेरो आदेश पालक हो भन्ने ठान्छ । नेपाल अहिले शासकीय अराजकताबाट आक्रान्त भएको छ ।’
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई प्रधानमन्त्रीको कार्यकक्षमा थुन्ने जस्तो अवस्था स्वीकार्य हुन नसक्ने भन्दै प्रश्न उठाए।
सभापति थापाले सरकारप्रति नागरिकको धारणा तीन प्रकारको रहेको पनि बताए। आफूले नागरिकसँग निरन्तर संवाद गरिरहेको उल्लेख गर्दै उनले केही नागरिकमा भविष्यप्रति अनिश्चितता, केहीमा हतासा र केहीमा आक्रोश देखिएको बताए।
‘केही नागरिकमा अनिश्चितता भएको पाउँछु । केही नागरिकसँग कुरा गर्दा हिजो राम्रो भएन, आज पनि भएको छैन, भोलि पनि हुँदैन भन्ने हतासा भएको पाउँछु । केही नागरिकलाई आक्रोश छ,’ उनले भने।
नागरिकमा बढेको यही आक्रोशको परिणामका रूपमा प्रधानमन्त्री बालेन्द्र शाहको केही दिनअघिको अभिव्यक्ति र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको शनिबारको अभिव्यक्तिलाई आफूले बुझेको थापाले बताए। नागरिकमा रहेको आक्रोशबाट कांग्रेसले खुसी नभई त्यसलाई गम्भीर चिन्ताका रूपमा लिनुपर्ने उनको भनाइ थियो।
थापाले गत भदौ ८ गते संसद्मा आफूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवासँग नागरिक आक्रोशित रहेको बताएको स्मरणसमेत गरे।
उनले नागरिकले राज्य र राजनीतिक दलप्रति प्रतिरोध गर्नसक्ने अवस्थाप्रति कांग्रेस नेतृत्वलाई त्यतिबेलै सचेत गराएको बताए। जनताको भावनालाई बेवास्ता गर्दै ‘हामी जितेर आएका हौं’ भन्ने मानसिकताले राजनीतिक दलहरूलाई गम्भीर संकटतर्फ लैजान सक्ने उनको भनाइ थियो।
थापाले भदौ २३ र २४ गतेको घटना एकाएक सिर्जना नभएको दाबी गर्दै त्यसअघि नै नागरिकमा सञ्चित हुँदै आएको असन्तुष्टि र आक्रोश क्रमशः विस्फोट भएको बताए। त्यसको पछिल्लो अभिव्यक्ति फागुन २१ गतेको मतदानमा देखिएको उनको विश्लेषण थियो।
सभापति थापाले वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसले नागरिकको असन्तुष्टि र आक्रोशलाई गम्भीरतापूर्वक आत्मसात् गर्दै विधिको शासन, संवैधानिक सीमा र जवाफदेही शासन व्यवस्थाको पक्षमा स्पष्ट भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।


















प्रतिक्रिया