काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यी निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
यस्तै बैठकले सुनसरी र सिरहामा भएका झडपका क्रममा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।
सुनसरीमा ज्यान गुमाएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहतालाई शहीद घोषणा गरिएको छ । त्यस्तै, सिरहामा ज्यान गुमाएका गणेश यादवलाई पनि शहीद घोषणा गरिएको प्रवक्ता पोखरेलले बताए ।
मन्त्रिपरिषद्का निर्णय :
१. नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युत्बाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने ।
२. सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चारजना (सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्र कुमार मेहता र सिराहाका गणेश कुमार यादव) लाई सहिद घोषणा गर्ने ।
३. पोर्चुगल सरकारलाई काठमाडौंमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने ।
४. वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा निर्मलकुमार उप्रेती (बारा) लाई नियुक्ति गर्ने ।
५. पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन २०८० सार्वजनिक गर्ने ।


















प्रतिक्रिया