सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरामा टिपर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
ढुङ्गा बोकेर मानेश्वराबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा ५ ख ४११० नम्बरको टिपर भित्री सडकखण्डमा अनियन्त्रित भई दुर्घटना भएको हो।
इलाका प्रहरी कार्यालय बाह्रबिसेका अनुसार दुर्घटना हिजो साँझ करिब ६ः५० बजे भएको थियो। टिपर अनियन्त्रित भएपछि दुर्घटनाबाट जोगिन त्यसमा सवार बाह्रबिसे–८ का २९ वर्षीय राजु लामा सडकको छेउतर्फ हाम फालेका थिए। तर, उनी हाम फालेकै दिशातर्फ टिपर पल्टिँदा च्यापिएका थिए।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट इन्स्पेक्टर कृष्ण खड्काको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले उद्धार गरी गम्भीर घाइते लामालाई उपचारका लागि बाह्रबिसे नगर अस्पताल पुर्याएको थियो।
तर, उपचारकै क्रममा चिकित्सकले उनलाई साँझ ७ः४५ बजे मृत घोषणा गरेका थिए।
प्रहरीले दुर्घटनामा संलग्न टिपर र चालक काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१३ का २५ वर्षीय अनिस पाण्डेलाई नियन्त्रणमा लिएको छ।
मृतक लामाको राति नै पोस्टमार्टम गरी शव उनका बुवा हिराबहादुर तामाङलाई बुझाइएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।


















प्रतिक्रिया