१३ भदौ २०८३, शनिबार | August 29, 2026

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न



महोत्तरी । मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको छ । साउन शुक्लपक्षको तृतीयाका दिन सुरु हुने झुला पर्व साउन पूर्णिमाको मध्यरातमा सम्पन्न भएको हो ।

साउन शुक्लपक्षका पछिल्ला १३ दिन मिथिला क्षेत्रमा मनाइने झुला पर्वमा परम्पराअनुसार विष्णु-लक्ष्मीका प्रतिमा झुलाइन्छ । पूर्णिमाको मध्यरातपछि झुला हल्लाउने डोरी छिनाएर पर्व सम्पन्न गर्ने परम्परा छ ।

भगवान् विष्णु र भगवती लक्ष्मीको आराधनामा आधारित यो पर्व मिथिलाका मठमन्दिरमा सामूहिकरूपमा मनाइन्छ । विष्णु-लक्ष्मीका अवतार मानिने राम-सीता तथा कृष्ण-राधाका प्रतिमालाई विशेष झुला (कोक्रा अर्थात् एक प्रकारको कलात्मक पिङ) मा राखेर हल्लाउनु यस पर्वको मुख्य विधि हो । श्रद्धालुले झुलाको डोरी समाएर झुला गीत गाउँदै देवदेवीका प्रतिमा हल्लाउने गर्छन् ।

साउन पूर्णिमाको मध्यरात कटेपछि देवदेवीलाई झुलाइने झुलाको डोरी छिनाएर १३ दिने पर्व सम्पन्न गरिएको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्रदास वैष्णवले जानकारी दिए । उनका अनुसार यो पर्व वैष्णव परम्पराका मठमन्दिरमा मनाइने मिथिलाको पुरानो परम्परा हो ।

मिथिलामा जनकपुरधामस्थित जानकी मन्दिर तथा महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ र लक्ष्मीनारायण मन्दिर परिसरमा रहेको झुलाघरको झुला उत्सव प्रसिद्ध छ । यस अवसरमा पायक पर्ने मुख्य मठ तथा मन्दिरमा वरपरका अन्य मठमन्दिरबाट विष्णु-लक्ष्मीका प्रतिमा ल्याएर सामूहिकरूपमा उत्सव मनाउने चलन छ । महोत्तरीमा विभिन्न स्थानका मन्दिरमा रहेका राम-सीता तथा राधा-कृष्णका प्रतिमा मुख्य मठ तथा मन्दिरमा ल्याएर पर्व मनाइन्छ ।

महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ र लक्ष्मीनारायण मन्दिरको झुलाघरमा विशेषरूपमा झुलनोत्सव मनाउने परम्परा रहेको छ । झुलनोत्सवकै लागि निर्माण गरिएको झुलाघरमा लक्ष्मीनारायण मठ तथा मन्दिरबाट विष्णु-लक्ष्मीका प्रतिमा डोलीमा बोकेर ल्याई झुलामा झुलाउने गरिन्छ । मटिहानीमा नेपाल र भारतका गरी दर्जनौँ मठमन्दिरका प्रतिमा झुलाका लागि ल्याइएको महन्थ वैष्णवले बताए । पर्वभरि साधुसन्त तथा श्रद्धालु केन्द्रमा जम्मा भएर उत्सवमा सहभागी हुने गर्छन् ।

मल्हार र कजरी गीतका लयमा गाउँदै, नाच्दै मनाइने झुलनोत्सव मिथिलाको विशिष्ट लोकपरम्परा भएको मिथिला लोकपरम्पराका जानकार बताउँछन् । मिथिलामा यो उत्सवको परम्परा विक्रम संवत् १७८७ तिर सन्त सुरकिशोर दासले सुरु गरेको विश्वास गरिँदै आएको जनकपुरस्थित जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताए ।

साउन शुक्लपक्ष मिथिलामा मुख्य बाली धान रोपाइँ सकिएपछिको समय हो । यस समयमा किसानले मन्दमन्द पानी परिरहोस् भन्ने कामना गर्छन् । धानको रोपो हरियो भएर लहलहाएको दृश्यले किसानलाई आफ्नो मेहनतप्रति खुसी बनाउने भएकाले पनि यो समय उत्सव र उल्लासको समय मानिन्छ । यही समयमा आफ्ना इष्टदेव राम, कृष्ण, सीता र राधासँग खेलेको अनुभूति सँगाल्न मैथिल समुदायले झुला पर्व मनाउने गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) का प्राचार्य हेमनारायण लाल कर्णले बताए ।

मिथिलामा यो पर्व रामको जन्मभूमि अवध (अयोध्या) र कृष्णको बाललीलास्थल मानिने वृन्दावनको परम्पराबाट प्रभावित भएर भित्रिएको विश्वास गरिन्छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधाम सीताको माइती भएकाले ज्वाइँलाई प्रसन्न राख्ने मैथिल परम्पराअनुसार साउन शुक्लपक्षका पछिल्ला १३ दिन श्रीराम र सीतालाई झुलाउने परम्परा चलेको प्राचार्य कर्णले बताए ।

जनकपुरमा राम-सीताको विवाह हुँदा राजा जनकले दाइजोमा दिएको हिरा, रत्न तथा मणिमाणिक्यको थुप्रो लागेर पहाडजस्तै बनेको स्थानलाई अहिले मणिपर्वत भनिने गरेको जनविश्वास छ । जनकपुरस्थित जानकी मन्दिरबाट करिब पाँच किलोमिटर उत्तरपश्चिममा रहेको मणिपर्वतमा साउन शुक्ल तृतीयाका दिन पूजा गरेर झुला पर्व सुरु गर्ने मिथिला परम्परा रहेको छ ।

झुला पर्वमा जनकपुरधामस्थित जानकी मन्दिर र महोत्तरीको मटिहानीस्थित झुलाघरमा विशेष उत्सव आयोजना गरिन्छ । पर्वभरि साधुसन्त, श्रद्धालु तथा स्थानीयवासीको सहभागिताले मठमन्दिर क्षेत्रमा उल्लास छाउने गर्छ । यो पर्व मिथिलाको मौलिक लोकपरम्परा र सांस्कृतिक पहिचानसँग जोडिएको विशिष्ट पर्वका रूपमा रहँदै आएको जलेश्वर-५ पतैली निवासी तथा याज्ञवल्क्य विद्यापिठ, मटिहानीका अवकाशप्राप्त नेपाली साहित्यका सहप्राध्यापक ध्रुव रायले बताए ।

प्रकाशित मिति : १३ भदौ २०८३, शनिबार  ८ : १२ बजे

राहतमा दोहोरोपन रोक्न काठमाडौं प्रशासनको एकद्वार प्रणाली

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका

भोटेकोशीमा बाढीको जोखिम कायमै

काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले

बाढी र लेदो पन्छाएपछि काठमाडौं-मुग्लिन सडक सञ्चालनमा

काठमाडौं । बाढी र लेदोका कारण प्रभावित पृथ्वी राजमार्गअन्तर्गत काठमाडौं-मुग्लिन

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

काठमाडौं । अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी-२० सिरिजमा

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर । भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा)