५ कार्तिक २०८३, बिहिबार | October 23, 2026

घट्न सकेन किशोरी आमा बन्नेक्रम



चितवन । स्वास्थ्य, शिक्षा र सचेतनाका दृष्टिले सुगम जिल्लाका रूपमा चिनिने यस जिल्लामा अझै पनि किशोरी आमा बन्ने समस्या अन्त्य हुनसकेको छैन । विगत तीन आर्थिक वर्षको तुलना गर्दा २० वर्षमुनिका आमा बन्नेहरूको सङ्ख्या उस्तै छ ।

जनस्वास्थ्य कार्यालय चितवनका अनुसार हरेक वर्ष स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउनेमध्ये किशोरी आमा आठदेखि नौ प्रतिशतको बीचमा रहेको पाइएको छ । कार्यालयका सूचना अधिकारी इन्द्रमणि भण्डारीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा शिशु जन्माएकामध्ये ९८५ किशोरी छन् । सो आवमा ११ हजार ८६८ जनाले अस्पतालमा प्रसूति सेवा लिएका थिए ।

यस्तै आव २०८१/८२ मा अस्पतालमा आएका ११ हजार ८९ जनामध्ये ९५८ जना किशोरी आमा रहेका थिए । आव २०८०/८१ मा १३ हजार ५०३ जनाले विभिन्न अस्पतालमा प्रसूति सेवा लिएकामा एक हजार १८८ जना किशोरी आमा बनेका छन् । अझै पनि समाजमा बालविवाह कायम रहेकाले किशोरी आमा बन्ने क्रम नघटेको उनले जानकारी दिए । आफ्नो समाजको चलन छाड्न नसक्ने र कानुन कार्यान्वयनमा ल्याउन नसक्दा समस्या भएको उनले बताए ।

उनका अनुसार २० वर्षमुनि विवाह गर्न नपाउने कानुनी व्यवस्था छ । बीस वर्ष मुनिकालाई किशोरीका रूपमा लिने गरिएको छ । तर यसको प्रभाव ग्रामीण क्षेत्रमा पर्न नसक्दा किशोरी आमा बन्दै आएका छन् । सानो उमेरमा आमा बन्ने र घरमा नै सुत्केरी हुने चलन अझै नरोकिँदा चुनौती बढेको उनले बताए ।

उनका अनुसार गत आवमा किशोरी आमामध्ये ६३० जनाले दक्ष प्रसूतिकर्मीबाट शिशु जन्माएका थिए भने दक्ष स्वास्थ्यकर्मीबाट ३२७ जनाले शिशु जन्माएका थिए । यस्तै अन्य स्वास्थ्यकर्मीबाट १० र घरमा नै प्रसूति गराउनेको सङ्ख्या १८ रहेको कार्यालयको तथ्याङ्कले जनाएको छ । स्वास्थ्यका दृष्टिले यस उमेर समूहमा आमा बन्नु भनेको जोखिमपूर्ण रहेको उनले बताए ।

भरतपुर अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा सुजन भुसाल न्यौपाने कम उमेरमा आमा बन्नु स्वास्थ्यका लागि राम्रो नहुने बताउँछिन । शारीरिक बनावट पूर्ण रूपमा तयार भइनसक्ने जनाउँदै उनले यसबाट दीर्घकालीन स्वास्थ्यमा समस्या हुनसक्ने बताईन । कम उमेरमा शिशु जन्माउँदा प्रसूतिमा जटिलता र भविष्यमा गर्भधारणसम्बन्धी जटिलताहरूको जोखिम बढ्न सक्छ । बच्चाको कम तौल हुने, शारीरिक विकास कम हुने खतरा हुने उनको भनाइ छ । त्यसबाहेक, शिक्षा र सामाजिक अवसरहरू पनि प्रभावित हुन सक्छन् ।

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  ७ : ५८ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही