काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भाग, कर्णाली प्रदेशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
देशका हिमाली भू-भागका केही स्थान तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थान, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।
रातिको समयमा पनि देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । देशका पहाडी भू-भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने जनाइएको छ ।
मौसम विज्ञानमा २४ घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी वर्षा, १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षा मानिन्छ ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
















प्रतिक्रिया