काठमाडौं । आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म नेपालका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने जनाएको हो ।
प्राधिकरणका अनुसार सो अवधिमा कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ । देशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।
नेपाल मौसम विज्ञान विभागका अनुसार हाल बंगालको खाडीको मध्य भागमा विकसित न्यून चापीय क्षेत्र क्रमशः उत्तरतर्फ सर्दै जाने क्रममा थप शक्तिशाली भई ‘म्भभउ म्भउचभककष्यल’ ९गहिरो न्यून चापीय क्षेत्र० मा परिणत हुने तथा पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावका कारण बुधबारदेखि नै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना रहेको विभागको पूर्वानुमान छ ।
बाढी, पहिरो र डुबानको जोखिम
प्राधिकरणले भारीदेखि अति भारी वर्षाका कारण नदी तथा खोलामा आकस्मिक बाढी, पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहाव र शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।
विशेषगरी जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई सम्भावित विपद्बाट जोगिन पूर्वतयारी गर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचना तथा चेतावनीलाई गम्भीरतापूर्वक लिन प्राधिकरणले अनुरोध गरेको छ ।
प्राधिकरणले सम्बन्धित संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई आम सर्वसाधारणलाई सुसूचित गर्न तथा सम्भावित विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ ।
त्यस्तै, जोखिममा रहेका राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न तथा जिल्ला सुरक्षा समिति, स्थानीय तह र सुरक्षा निकायलाई पूर्वसूचना तथा चेतावनीअनुसार जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति तथा परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गर्न भनिएको छ ।
आकस्मिक बाढी आउनसक्ने खोला, खहरे तथा नदी किनारका बस्ती र पहिरोको जोखिममा रहेका क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन पनि प्राधिकरणले आग्रह गरेको छ ।
विपद् तथा आपत्कालीन अवस्थामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ११४९, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बलको १११४ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ ।
प्राधिकरणले नेपाल मौसम विज्ञान विभाग तथा सम्बन्धित निकायबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्वसूचना तथा चेतावनी नियमित रूपमा हेर्न र सोहीअनुसार आवश्यक सावधानी अपनाउन समेत सर्वसाधारणलाई अनुरोध गरेको छ ।
















प्रतिक्रिया