काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि हुने भनिएको मतदान दिउँसो १ बजेदेखि हुने भएको छ । मतदानको तयारी पूरा नभएकाले समय सारिएको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए ।
महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछन् । सभापतिसहित १८ पदाधिकारीका लागि ७१ जना तथा २१० केन्द्रीय सदस्यका लागि ७४१ जना गरी ८१२ उम्मेदवार चुनावी मैदानमा छन् ।
कांग्रेसको २९७ सदस्यीय केन्द्रीय कार्यसमितिमा ६६ जना केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित सभापतिले मनोनीत गर्ने व्यवस्था छ । त्यस्तै, केन्द्रीय सदस्यमध्येबाट चार सहमहामन्त्री र एक कोषाध्यक्ष पनि सभापतिले मनोनीत गर्ने व्यवस्था रहेको छ ।
दुई पदाधिकारी र एक केन्द्रीय सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन् । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको संशोधित कार्यतालिकाअनुसार बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभागृहमा रहेको मतदान केन्द्र ‘क’ बाट मतदान गर्नेछन् । खुलामञ्चमा मतदान केन्द्र ‘ख’ तोकिएको छ । त्यहाँ कोशी प्रदेश र तराई–मधेस समूहका प्रतिनिधिका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
त्यसैगरी, गण्डकी प्रदेशका प्रतिनिधिले खुलामञ्चमा रहेको हिमाल हलबाट मतदान गर्नेछन् भने मधेश प्रदेशका प्रतिनिधिका लागि तराई–मधेस हल तोकिएको छ । लुम्बिनी प्रदेशका प्रतिनिधिले पहाड हलबाट मतदान गर्ने व्यवस्था गरिएको छ । कर्णाली, सुदूरपश्चिम, नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधिले पनि खुलामञ्चस्थित पहाड हलबाट मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।
मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूले आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्नुपर्नेछ । मतदानअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ ।
मतदानलाई व्यवस्थित र मर्यादित बनाउन निर्वाचनसम्बन्धी आचारसंहितासमेत जारी गरिएको छ । आचारसंहिताअनुसार महाधिवेशन स्थलमा चिटलगायत प्रचार सामग्री वितरण गर्न प्रतिबन्ध लगाइएको छ । निर्वाचन समितिले उम्मेदवार तथा प्रचारप्रसारमा खटिएका सबैलाई आचारसंहिताको पालना गर्न आग्रह गरेको छ ।
















प्रतिक्रिया