लमजुङ । बाढीपहिरोले क्षति पुर्याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा पुल निर्माणका लागि एक अर्ब आवश्यक पर्ने भएको छ।
बेँसीसहरबाट चामेसम्मको सडकको समग्र स्तरोन्नतिका लागि भने तीन अर्ब लागत अनुमान गरिएको छ । डुम्रे-बेँसीसहर-चामे सडक आयोजनाले दुवै कामका लागि छुट्टाछुट्टै प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाएको आयोजना प्रमुख सतीश सुवेदीले बताए ।
असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले ६५ किलोमिटर लामो बेँसीसहर-चामे सडकका ३५ भन्दा बढी स्थानमा क्षति पुर्याएको थियो । तीमध्ये छ स्थानमा सडकको ट्र्याक क्षतिग्रस्त भएको थियो ।
रामबजार, नासोँ गाउँपालिका-३ को खोत्रो तथा मनाङको कोतोलगायत स्थानमा बढी क्षति पुगेको आयोजना प्रमुख सुवेदीले बताउनुभयो । विभिन्न स्थानका काठे पुलसमेत बगाएको थियो । बाढीपहिरोका कारण छ दिनसम्म सडक अवरुद्ध भएको थियो । सडक खुलाउन विभिन्न स्थानमा नयाँ ट्र्याक खोल्नुपरेको थियो । “नासोँ गाउँपालिका-३ स्थित खोत्रोमा माथिबाट खसेका ठूला ढुंगा बम ब्लास्टिङ गरी हटाएपछि सडक सञ्चालनमा ल्याइएको थियो । हाल सडक सञ्चालनमा रहे पनि विभिन्न स्थानमा मर्मत तथा स्तरोन्नति गर्नुपर्ने छ”, आयोजना प्रमुख सुवेदीले भने।
पुनर्निर्माणका लागि बजेट माग गर्दै केही दिनअघि सम्बन्धित मन्त्रालयमा प्रस्ताव पठाइएको सुवेदीले बताए । हाल उपलब्ध स्रोतसाधनबाट सडकका विभिन्न स्थानमा सामान्य मर्मत तथा स्तरोन्नति भइरहेको उनको भनाइ छ ।
बाढीपहिरोपछि सडक खुलाउन आयोजना, स्थानीय तह तथा जलविद्युत् आयोजनाका डोजरलगायत उपकरण परिचालन गरिएको थियो । सडक कालोपत्र, आवश्यक स्थानमा ढलान तथा पक्की पुल निर्माणसहित स्तरोन्नति गर्ने लक्ष्य राखिएकाले डिपीआरअनुसार बजेट माग गरिएको उनको भनाइ छ । रासस
















प्रतिक्रिया