काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुला) पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी भएका छन् । कांग्रेस १५औँ महाधिवेशनअन्तर्गत आज सम्पन्न मतगणनामा खतिवडा र शिवाकोटी विजयी भएका हुन् । उक्त पदमा नौ जना प्रतिस्पर्धी थिए ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले खतिवडाले दुई हजार ९१० र शिवाकोटीले दुई हजार १७३ मत प्राप्त गरी विजयी भएको जानकारी दिए ।
डिल्लीराम सुवेदीले एक हजार ८५२, देवेन्द्रराज कँडेलले एक हजार ३८१, राजीव ढुङ्गानाले एक हजार २३२, विकास कोइरालाले एक हजार १४४, अमृत अर्यालले ९२१, रमेशप्रसाद धमलाले ७८० र विमलराज क्षेत्रीले २८३ मत प्राप्त गरे ।
महिला सहमहामन्त्रीमा गौतम विजयी
महिला सहमहामन्त्री पदमा प्रतिमा गौतम विजयी भएकी छन् । महिला सहमहामन्त्री एक पदका लागि भएको निर्वाचनमा गौतमले पाँच हजार ११६ मत प्राप्त गरी विजयी भएकी हुन् । उनको प्रतिस्पर्धी नानु बाँस्तोलाले एक हजार ५५४ मत प्राप्त गरिन् ।
कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित
महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । निर्वाचन समितिले दिएको जानकारीअनुसार वासना थापा सर्वाधिक पाँच हजार १९३ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएकी हुन् ।
उर्मिला थपलियाले तीन हजार ९७०, निमा गिरीले तीन हजार ९०६, कुसुमदेवी थापाले तीन हजार २५०, धनाकुमारी खतिवडाले तीन हजार २३१ मत ल्याएर विजयी भए ।
यसैगरी, विनिता खड्का, अनिता देवकोटा, रीता सेन ओली, सृजना अधिकारी, मुना भुसाल, गीता सत्याल, कल्पना तिवारी, रीता थापामगर, गङ्गा दाहाल र उमा दाहाल विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
महिला खुलातर्फको १५ सदस्यीय समूहमा निर्वाचित हुनका लागि ३६ उम्मेदवारहरूबीच प्रतिस्पर्धा भएको थियो ।


















प्रतिक्रिया