२ कार्तिक २०८३, सोमबार | October 19, 2026

दसैंले गाउँबस्तीमा बढायो रौनक



भोजपुर। बडादसैँले भोजपुरका गाउँबस्तीमा रौनक थपेको छ । रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा घरबाहिर रहेका आफन्त गाउँ फर्किन थालेपछि परिवारमा खुसी छाएको छ । घटस्थापनासँगै सुरु भएको दसैँको उल्लासले गाउँघरमा भेटघाट, पूजाआजा र रमाइलो गर्ने वातावरण बनेको छ ।

भोजपुरको ग्रामीण जीवनमा दसैँ पारिवारिक मिलन र सांस्कृतिक परम्परा जोगाउने महत्वपूर्ण अवसरका रूपमा रहँदै आएको छ । घर लिपपोत गर्ने, बाटोघाटो सफा गर्ने, पिङ हाल्ने, मठमन्दिरमा पूजाआजा गर्ने तथा सामूहिक रूपमा रमाइलो गर्ने चलनले पर्वको मौलिकता झल्काउँछ । दसैँका अवसरमा आयोजना हुने खेलकुदलगायत विभिन्न प्रतियोगिताले पनि गाउँघरमा उत्साह थप्ने गरेको छ ।

वर्षभरि कामको व्यस्तताले टाढिएका परिवारका सदस्य दसैँमा एकै ठाउँमा भेला भएर सुखदुःख साटासाट गर्ने, मीठोमसिनो खाने र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने तयारीमा जुटेका छन् । विशेषगरी रोजगारीका लागि जिल्ला बाहिर तथा अध्ययनका लागि सहरमा रहेका युवा–युवती घर फर्किएपछि परिवारसँग समय बिताउने अवसर पाएका छन् ।

दसैँका लागि आवश्यक सामग्री किनमेल गर्नेको चहलपहल भोजपुरका मुख्य बजारमा बढेको छ । खाद्यान्न, लत्ताकपडा, जुत्ताचप्पल, फलफूल तथा पूजासामग्रीका पसलमा ग्राहकको आवागमन बढेको छ । सदरमुकाम भोजपुर बजार, दिङ्ला, घोडेटार र प्याउलीलगायतका बजारमा चाडपर्व लक्षित व्यापारिक गतिविधि बढेको छ ।

दसैँले स्थानीय कृषि उपजको बजारीकरणमा समेत सहयोग पु¥याउने गरेको छ । गाउँघरमा उत्पादन गरिएका खसीबोका, कुखुरा, तरकारी तथा फलफूलको माग बढ्दा किसानलाई आफ्नो उत्पादन बिक्री गर्ने अवसर मिल्ने टेम्केमैयुङ गाउँपालिका–५ का स्थानीय किसान देवबहादुर विष्टले बताए। चाडपर्वका बेला स्थानीय उत्पादनको माग बढ्दा किसानको आम्दानीमा सहयोग पुग्ने उनको भनाइ छ ।

दसैँका अवसरमा जिल्लाका विभिन्न शक्तिपीठ तथा धार्मिकस्थलमा पूजाआजा गर्ने परम्परा छ । पछिल्लो समय रोजगारी र अध्ययनका लागि युवा पुस्ता गाउँबाहिर जाने क्रम बढेसँगै परम्परागत चाडपर्व मनाउने शैलीमा परिवर्तन आउन थालेको छ ।

आधुनिक जीवनशैलीको प्रभावले कतिपय मौलिक चलन कमजोर हुँदै गए पनि दसैँले पुराना पुस्ताबाट नयाँ पुस्तामा संस्कृति, संस्कार र परम्परा हस्तान्तरण गर्ने अवसर प्रदान गर्दै आएको छ । परिवारसँगको भेटघाट, स्थानीय परम्पराको निरन्तरता र सामाजिक सद्भावसँग जोडिएको दशैँले भोजपुरका गाउँबस्तीमा आत्मीयता र उत्साह थपेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  ९ : २० बजे

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौं । वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा बडादसैंको शुभकामना

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले बडादसैँ २०८३

दसैंले गाउँबस्तीमा बढायो रौनक

भोजपुर। बडादसैँले भोजपुरका गाउँबस्तीमा रौनक थपेको छ । रोजगारी, अध्ययन

शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

न्युयोर्क । शरद ऋतुमा बगैँचा सफा गर्दा सबै बिरुवा काटेर

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला । जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको