पेरिस । सप्ताहान्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सका अधिकारीहरूले राजधानी पेरिससहित प्रमुख सहरका विभिन्न क्षेत्रमा रात्रिकालीन कर्फ्यु लागू गरेका छन् ।
पेरिस प्रहरीले प्रदर्शनकारी भेला भएका ‘प्लेस दे ला रिपब्लिक’ र ‘लेस हालेस’ किनमेल क्षेत्रमा स्थानीय समयअनुसार राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु जारी रहने जनाएको छ ।
त्यसैगरी, सहरका विभिन्न क्षेत्रमा अनुमति नलिई भेला हुन प्रतिबन्ध लगाइएको छ । फ्रान्सका दक्षिणी सहर मार्से, बोर्दो, निस र लियोन तथा उत्तरी सहर लिललगायतका स्थानमा युवाको आवतजावत र भीडभाड नियन्त्रण गर्न आंशिक कर्फ्यु घोषणा गरिएको छ ।
विद्यालयको अवस्था सुधार गर्नुपर्ने मागसहित विद्यार्थीहरूले गत महिना सुरु गरेको आन्दोलनमा अहिले ट्रेड युनियन तथा अन्य विरोध समूह पनि सहभागी भएका छन् । आन्दोलन चर्किँदै जाँदा केही सहरमा तोडफोड र लुटपाटका घटना भएका छन् ।
प्रदर्शन नियन्त्रणबाहिर जाँदा केही सहरमा प्रहरीले अवस्था नियन्त्रण गर्न नसकेको गृहमन्त्री लोरियान्ट न्युनेजले स्वीकार गरेका छन् । उनले दिएको राजीनामा राष्ट्रपति इम्यानुएल म्याक्रोंले अस्वीकार गर्दै सुरक्षा निकायको नेतृत्व निरन्तर कायम राख्नुपर्ने बताएका छन् ।
प्रदर्शनका क्रममा हालसम्म २ हजार ५०० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेको र करिब १ हजार प्रहरी घाइते भएको समाचारमा उल्लेख छ । प्रहरीले प्रहार गरेको अश्रुग्यास र ग्रिनेड लागेर एक प्रदर्शनकारीको हात गम्भीर रूपमा क्षतिग्रस्त भएको जनाइएको छ ।
प्रधानमन्त्री सेबस्टियन लेकोर्नुले संकटकाल घोषणा गर्ने सम्भावनालाई अस्वीकार गर्दै सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्याउनेहरूबाटै क्षतिपूर्ति असुल्ने बताएका छन् । “सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्याउने व्यक्तिहरूबाटै क्षतिपूर्ति भराउने गरी कानुन ल्याइनेछ,” उनले भने ।
फ्रान्सको चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सीसीआई) का अनुसार सप्ताहान्तको हिंसाबाट २ हजारभन्दा बढी पसल तथा व्यवसाय प्रत्यक्ष प्रभावित भएका छन् । घटनाका कारण करोडौँ युरोबराबरको भौतिक क्षति भएको अनुमान गरिएको छ ।


















प्रतिक्रिया