४ कार्तिक २०८३, बुधबार | October 21, 2026

पश्चिम नेपालका कम्युनिष्ट अगुवा बाबुराम गौतमको निधन



खजुरा । बाँकेका कम्युनिष्ट अगुवा तथा पूर्व प्रदेश सभा सदस्य बाबुराम गौतमको निधन भएको छ । बाँकेको कम्युनिष्ट आन्दोलनका पाका र पुराना नेता गौतमको ८० वर्षको उमेरमा खजुरा गाउँपालिका २ स्थित के गाउँको आफ्नै निवासमा आज मध्यान्ह निधन भएको हो ।

२०२३ सालमा कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठबाट कम्युनिष्ट पार्टीको सदस्यता लिएका गौतम तत्कालिन भेरी अञ्चलमा नै कम्युनिष्ट विचार फैलाउने अगुवा मध्यका नेताका रुपमा स्थापित हुँदै आएका थिए । उनी बाँके र पश्चिम नेपालमा कम्युनिष्ट आन्दोलनलाई संस्थागत गर्ने पुराना र निष्ठावान् नेताहरूममा पर्दछन् ।

गुल्मीबाट संस्कृत पढ्न बनारस पुगेका गौतमको बनारसमा सत्यदेव भट्टराईसंग भेट भयो । सत्यदेव र गौतमले बनारसमा नै पुष्पलाल श्रेष्ठबाट कम्युनिष्ट पार्टीको सदस्यता लिएर पार्टी कै निर्देशनमा गुल्मी नफर्कि सुर्खेत खटिएको गौतमका समकालिन नेता पूर्व प्रतिनिधिसभा सदस्य नन्दलाल रोकायाले बताउँछन् । सुर्खेतको गुमीमा शिक्षक बनेका गौतमले दिनभरी पढाउने र रातमा कम्युनिष्ट संगठन विस्तार गर्ने गरेको राकोयाले स्मरण गरे । रोकायाका अनुसार पार्टीकै निर्देशनमा सुर्खेतबाट बाँकेको सितापुरमा गौतम आइपुगेका थिए ।

पञ्चायतकाल तथा राजनीतिक परिवर्तनका विभिन्न चरणहरूमा भूमिगत र खुला राजनीतिमा रही उनले तत्कालिन नेकपा मार्क्सवादी हुँदै नेकपा एमालेको जिल्ला स्तरको नेतृत्व र संगठन निर्माणमा उल्लेखनिय भूमिका खेलेका थिए ।

पञ्चायत विरोधी राजनीतिमा उनको बाँकेको सावित सितापुर केगाउँ स्थित गौतमको घरमा नेपालका निष्ठावान प्रधानमन्त्रीको रुपमा नाम कमाएका पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीले लामो समय निर्वासित अवधि विताएका थिए ।

संसदीय राजनीति र जनप्रतिनिधिको भूमिकामा २०७४ को निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्र (वाम गठबन्धन) का साझा उम्मेदवारका रूपमा उनी बाँके क्षेत्र नम्बर ३ (ख) बाट ११ हजार ८७७ मत प्राप्त गरी लुम्बिनी प्रदेश सभामा निर्वाचित भएका थिए ।

प्रदेश सभा सदस्य रहँदा उनले बाँके जिल्लाको पूर्वाधार विकास, कृषि सुधार, शिक्षा र स्वास्थ्य क्षेत्रका मुद्दाहरूलाई निरन्तर संसदमा उठाएका थिए ।

पार्टीभित्र नीति निर्माण, प्रशिक्षण र वैचारिक बहसहरूमा उनको योगदान महत्वपूर्ण मानिन्थ्यो । उनले एमालेको केन्द्रीय तह तथा प्रदेशरजिल्ला स्तरका विभिन्न समिति तथा सल्लाहकार परिषद्‌हरूमा रहेर नेतृत्वलाई मार्गदर्शन प्रदान गरेका थिए ।

उनी आफ्नो सादगीपूर्ण जीवनशैली, निष्ठा र इमान्दार छविका नेताकारुपमा चिनिन्छन् । खरो स्वभाव र स्पष्ट दृष्टिकोण उनको पहिचान रहँदै आएको थियो ।

बाँकेको उत्तरी तथा पश्चिमी भेग (विशेष गरी खजुरा, मानखोला र वैजनाथ क्षेत्र) ऐतिहासिक रूपमा नै कम्युनिष्ट आन्दोलनको उर्वर भूमि मानिन्छ। खजुरा क्षेत्रलाई कम्युनिष्ट उर्वर भूमि बनाउन गौतमको अग्रणी भुमिका रहेको पुराना कम्युनिष्ट नेताहरुले बताउने गर्दछन् ।

उनको गुल्मी स्थित रिडीको कालिगण्डकी घाटमा दाहसंस्कार गरिने परिवारका सदस्यहरुले जनाएका छन् । गौतम गुल्मी रुरुक्षेत्रको थोर्गाबाट बसाई सरेर बाँके आएका हुन् । गौतमका २ छोरा र २ छोरी छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८३, बुधबार  ९ : ३५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौँ । आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

पश्चिम नेपालका कम्युनिष्ट अगुवा बाबुराम गौतमको निधन

खजुरा । बाँकेका कम्युनिष्ट अगुवा तथा पूर्व प्रदेश सभा सदस्य

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं । बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)को

एयर पेस्तोल देखाई मार्ने धम्की दिने एक जना पक्राउ

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाई मार्ने

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

पेरिस । फ्रान्सका विभिन्न सहरमा भएका दङ्गाका दृश्य विश्वभर फैलिएपछि