९ कार्तिक २०८३, सोमबार | October 26, 2026

सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको भेट




काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राज्य अमेरिकाको तल्लो सदनको वेज एण्ड मिन्स कमिटीका सभापति जेसन स्मिथसहितको संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

त्यस अवसरमा उनीहरुबीच नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध, आपसी सहयोग, आर्थिक साझेदारी, जलवायु परिवर्तनबाट उत्पन्न विपद् व्यवस्थापन तथा संसदीय सहकार्यलगायतका साझा चासोका विषयमा विचार आदानप्रदान भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।

सो अवसरमा सभामुख अर्यालले रसुवा तथा भोटेकोशी बाढीबाट उत्पन्न विपद् व्यवस्थापनका लागि सरकारले हरसम्भव प्रयास गरेको उल्लेख गर्दै विपद्को कठिन घडीमा अमेरिकाले नेपालप्रति देखाएको ऐक्यबद्धता र सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।

सभामुख अर्यालले तान्जानियाको आरुषामा हालै सम्पन्न अन्तरव्यवस्थापिका सङ्घ (आइपियू)को १५३औँ महासभामा नेपालका तर्फबाट प्रस्तुत ‘जलवायुसम्बन्धी विपद्को सामना गर्न तथा हिमालय क्षेत्र र अन्य जोखिममा रहेका क्षेत्रको उत्थानशीलता सुदृढ गर्न तत्काल संसदीय पहल’ विषयक आपत्कालीन एजेन्डा दुई तिहाइभन्दा बढी मतसहित पारित भएको जानकारी गराए ।

उनले जलवायु परिवर्तनका कारण विपद्को उच्च जोखिममा रहेका क्षेत्रको क्षति न्यूनीकरण, विपद् पूर्वतयारी तथा उत्थानशीलता सुदृढ गर्न अन्तरराष्ट्रिय र अन्तरसंसदीय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।

सभामुख अर्यालले जलवायुजन्य विपद्को सामना गर्न अनुदानमा मात्र निर्भर नभई आर्थिक तथा प्राविधिक क्षमता भएका राष्ट्रले जिम्मेवारीपूर्वक सहकार्य र सहयोग गर्नुपर्ने धारणा राखे ।

नेपाल–अमेरिका सम्बन्धलाई परम्परागत अनुदान सहयोगमा मात्र सीमित नराखी लगानी तथा आर्थिक साझेदारी अभिवृद्धितर्फ अघि बढाउनुपर्ने उल्लेख गर्दै उनले नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न तथा लगानीकर्ताको मनोबल उच्च राख्न आवश्यक नीतिगत र कानुनी सुधारका लागि प्रतिबद्ध रहेको बताए।

सभामुख अर्यालले अमेरिकी संसद्मा रहेका संसदीय ककस तथा नेपाल–अमेरिका संसदीयमैत्री समूहबीच निरन्तर सहकार्य र संवादलाई अघि बढाउने विश्वास व्यक्त गरे ।

उनले संसदीय भ्रमण तथा आदानप्रदानले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र संसदीय कूटनीति प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै अमेरिकी प्रतिनिधिमण्डललाई नेपाल भ्रमण गरेकोमा धन्यवाद दिए ।

सो अवसरमा अमेरिकी संसदीय प्रतिनिधिमण्डलले भोटेकोशीको बाढीबाट नेपालले भोग्नुपरेको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो दुःख व्यक्त गरेको थियो । प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाले समृद्ध नेपाल भ्रमणले आफूहरुलाई नयाँ ऊर्जा थपेको उल्लेख गर्दै प्रतिनिधिमण्डलले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध सुमधुर तथा विश्वासमा आधारित रहेको बताएको थियो ।

प्रतिनिधिमण्डलले नेपालको आर्थिक, सामाजिक, भौतिक तथा मानवीय विकासमा निरन्तर सहयोग गर्न र दुई देशबीचको संसदीय कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउन इच्छुक रहेको धारणा व्यक्त गरेको थियो ।

भेटका अवसरमा प्रतिनिधिसभाको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र संसदीय सुनुवाइ समितिका सभापतिसमेत सहभागी थिए ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  ३ : ५४ बजे

कुसुन्तीको आकाशेपुल : ‘युनिक आर्किटेक्चर’, सुरक्षित र सहज यात्राको अपेक्षा (फोटोफिचर)

ललितपुर । ललितपुर महानगरपालिकाले ललितपुर महानगरपालिका–१३, कुसुन्ती हाइटस्थित चक्रपथमा लिफ्टसहितको

लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल

चितवन । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सञ्चारमन्त्रीद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र विकास

दसैं बिदापछिको पहिलो कारोबार दिन झन्डै साढे चार अंकले घट्यो नेप्से

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक झिनो

सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको भेट

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राज्य अमेरिकाको तल्लो