म्याग्दी । कुनै समय भूमिगत राजनीतिमा सक्रिय रहेका म्याग्दीको मङ्गला गाउँपालिका-३ बरंजाका गमबहादुर श्रीस यतिबेला कृषि उद्यममा रमाएका छन् । अन्तरिम व्यवस्थापिका संसद् र पहिलो संविधानसभाका सदस्यसमेत रहेका श्रीस अहिले बाख्रापालन, सुन्तला खेती र मौरीपालनमार्फत गाउँमै स्वरोजगारको उदाहरण प्रस्तुत गरिरहेका छन् ।
दुई दशकभन्दा बढी समय राजनीतिमा सक्रिय रहेका श्रीसले गाउँ फर्किएर आफ्नै श्रम र लगानीमा कृषि उद्यम सुरु गरेका हुन् । उनले स्थापना गरेको श्रीस कृषि तथा पशुपन्छी फार्ममा अहिले बाख्रापालन, सुन्तला खेती र मौरीपालन सञ्चालन भइरहेको छ । पहाडी क्षेत्रमा कृषि उद्यममार्फत आत्मनिर्भर बन्न सकिने उनको विश्वास छ ।
“नागरिकको अवस्था सुधार, आर्थिक तथा सामाजिक रूपान्तरण र रोजगारी सिर्जनाका लागि कृषिमा आधारित उद्यमशीलता प्रमुख आधार हो,” श्रीसले भने, “पहाडी क्षेत्रमा आत्मनिर्भरता र स्वरोजगारको सम्भावना देखाउन आफैँ अग्रसर भएको हुँ ।”
श्रीसले छ वर्षअघि दुईवटा बाख्रा र एक लाख रुपैयाँ लगानीबाट व्यवसाय सुरु गरेका थिए । अहिले उनको फार्ममा ३० वटा बाख्रा छन् । उनले वार्षिक १५ देखि २० वटासम्म खसीबोका बिक्री गर्दै आएका छन् । खरी र जमुनापारी जातका बाख्रा पालेर उनले व्यावसायिक पशुपालनलाई निरन्तरता दिएका छन् ।
व्यवसायको सुरुआती चरण भने सहज थिएन । ताराखोलाबाट खरिद गरेर ल्याएका बाख्रा स्थानीय हावापानीमा अनुकूल हुन नसक्दा उनले क्षति बेहोर्नुपरेको थियो । तर, त्यसबाट निराश नभई व्यवसायलाई निरन्तरता दिएपछि अहिले फार्म व्यवस्थित बन्दै गएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा उनले आधुनिक खोरसमेत निर्माण गरेका छन् ।
बाख्रापालनसँगै श्रीसले सुन्तला खेतीलाई पनि विस्तार गरेका छन् । परम्परागत रूपमा खाद्यान्न खेती गरिँदै आएको जमिनमा उनले ३५० वटा सुन्तलाका बोट लगाएका छन् । ती बोटले उत्पादन दिन थालेपछि कृषि आम्दानीको अर्को आधार थपिएको छ । बाख्राका लागि आवश्यक घाँससमेत खाली जमिनमा लगाएकाले पशुपालनलाई सहज बनाएको छ ।
उनले मौरीपालन पनि सुरु गरेका छन् । अहिले उनीसँग १६ वटा मौरीका घार छन् । सिँचाइका लागि निर्माण गरिएको पोखरीमा माछापालनसमेत गर्न थालेका छन् । मङ्गला गाउँपालिकाले मौरीपालनसम्बन्धी तालिम, प्राविधिक सहयोग र घार खरिदमा अनुदान उपलब्ध गराएको छ ।
श्रीसको कृषि यात्रा व्यक्तिगत आम्दानीमा मात्र सीमित छैन । उनको अगुवाइमा नमुना कृषक समूह गठन भएपछि बरंजाका १५ घरपरिवार व्यावसायिक बाख्रापालनमा लागेका छन् । यसले गाउँमा कृषि उद्यमप्रतिको आकर्षण बढाएको छ ।
बरंजाका किसान बाख्रापालनसँगै सुन्तला खेती र गाईभैँसीपालनमा पनि संलग्न छन् । उनीहरूले उत्पादन गरेको दूध तातोपानी र बेनी बजारमा बिक्री गर्दै आएका छन् । स्थानीयस्तरमै उत्पादन र बजारको सम्भावना रहेकाले कृषिलाई दिगो आम्दानीको स्रोत बनाउन सकिने श्रीसको विश्वास छ ।
सुन्तला खेती विस्तार र बगैँचा व्यवस्थापनमा पनि उनले सहयोग पाएका छन् । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना र कृषि विकास कार्यालयले श्रीससहित बरंजाका किसानलाई सुन्तला खेती विस्तार, बगैँचा सुदृढीकरण तथा सिँचाइ सुविधा विस्तारमा सहयोग गरेका छन् ।
मध्यमवर्गीय परिवारमा जन्मिएका श्रीसले आत्मनिर्भर बन्ने उद्देश्यले कृषि उद्यम रोजेका हुन् । केही समय खाद्यान्न पसलको डिलरसमेत सञ्चालन गरेका उनी अहिले मुख्य रूपमा कृषि र पशुपालनमा केन्द्रित छन् । बिहान र बेलुका बाख्राको स्याहार तथा सुन्तलाका बोटको हेरचाहमा उनको समय बित्छ । फुर्सदको समय पनि फार्ममै बिताउने श्रीसलाई परिवारका सदस्यले साथ दिएका छन् । कृषि कर्मसँगै उनी स्थानीय सामाजिक गतिविधिमा पनि सक्रिय छन् ।
श्रीसको जीवनयात्रा भने कृषि उद्यमबाट सुरु भएको होइन । विद्यार्थी जीवनदेखि नै तत्कालीन नेकपा (माओवादी) मा आबद्ध भएका उनी विसं २०५८ देखि भूमिगत राजनीतिमा सक्रिय भएका थिए । तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका क्रममा उनी राजनीतिक गतिविधिमा संलग्न रहे ।
विसं २०६३ मा अन्तरिम व्यवस्थापिका संसद्को सदस्य बनेका श्रीसले विसं २०६४ देखि २०७० सम्म पहिलो संविधानसभामा प्रतिनिधित्व गरे । संविधानसभा सदस्यको कार्यकाल पूरा भएपछि उनी जन्मथलो बरंजा फर्किए र कृषि उद्यमलाई जीवनयापनको आधार बनाए ।
श्रीस अहिले पनि राजनीतिमा सक्रिय छन् । उनी हाल नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हुन् । राजनीति र कृषि उद्यमलाई सँगसँगै अघि बढाउने उनको योजना छ ।
कृषि उद्यमले उत्पादन बढाउनुका साथै गाउँमै रोजगारी सिर्जना गर्न सहयोग गर्ने श्रीसको अनुभव छ । पहाडी क्षेत्रमा उपलब्ध जमिन, हावापानी र स्थानीय स्रोतको सदुपयोग गर्न सके किसानले आफ्नै गाउँमा बसेर आम्दानी गर्न सक्ने उनको विश्वास छ ।
















प्रतिक्रिया