१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित



इलाम । अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका छन् । मुख्य उत्पादन दिने सिजनमै बोट मर्न थालेपछि व्यावसायिक अकबरेखेती गर्दै आएका जिल्लाका किसान चिन्तित बनेका हुन् । बोट एकाएक पहेँलिने र मर्ने समस्या देखिएको माङसेबुङ गाउँपालिका-६ का किसान प्रदीप राईले बताए । अकबरे खुर्सानीमा फल लाग्न थालेसँगै पात पहेँलिने, हाँगा सुक्ने र पूरै बोट मर्ने समस्या देखिएको उनले बताए ।

राम्रो आम्दानीको अपेक्षा गरेका राईको अकबरे खुर्सानी बगानमा एकाएक रोग देखापरेको हो । उनले बारीमा लगाएको अधिकांश बोट मर्न थालेका छन् । सुरुमा बोट राम्रोसँग हुर्किए पनि उत्पादन सुरु भएसँगै पाक्ने बेलामा डढ्ने, कुहिने र बोट मर्न थालेपछि आफू चिन्तित भएको उनले बताए ।

राईले विगत दुई वर्षदेखि व्यावसायिक अकबरे खुर्सानीखेती गर्दै आएका छन । अघिल्लो वर्ष अकबरे खुर्सानी बेचेर रु तीन लाख ५० हजार हात पारेका उनले यस वर्ष आम्दानी अझ बढाउने उद्देश्यका साथ खेती विस्तार गरेका थिए । राईले यस वर्ष दुई रोपनी क्षेत्रफलमा एक हजार ८०० बोट अबकरेको बिरुवा रोपेका थिए । तर एकाएक बोट मर्न थालेपछि लगानी नै नउठ्ने भएपछि उनी चिन्तित बनेका हुन ।

“यस वर्ष उत्पादन बढाउने उद्देश्यले अकबरे खुर्सानीको खेती विस्तार गरेको थिएँ”, उनले भने, “तर बोट हुर्किएर फल लाग्न थालेपछि फलको आधा भाग डढ्ने, कालो हुने र कुहिने समस्या बढ्यो । यसले गर्दा सबै लगानी डुब्यो ।”

प्रदीप जस्तै व्यावसायिक रूपमा खेती गरिरहेका त्यहाँका अन्य किसानले पनि यस्तै समस्या भोगिरहेका छन् । अर्का किसान जीवन राईका अनुसार खुर्सानीमा फलमा फलमा डढुवा लाग्ने, कीरा लाग्ने, बोट पहुँलो हुने र कहिने समस्या देखिएको बताए ।

“अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुने आशाले अन्नबाली हुने बारीमा दुई हजार बोट अकबरे खुर्सानीको बोट रोपेको थिएँ”, उनले भने, “तर फल लाग्ने समयमा रोगको प्रकोप देखिएपछि उत्पादन लिनै नपाई अधिकांश बोट नष्ट भए । मिहिनेत र लगानी दुवै खेर गएपछि अहिले के गर्ने भन्ने चिन्ता थपिएको छ ।”

खुर्सानी पाक्ने र टिप्ने समयमा डढुवा लाग्ने, कीरा पर्ने, बोट सुक्नेजस्ता रोग फैलिएपछि किसान समस्यामा परेको अर्की किसान कल्पना राईले बताईन । रोगको सङ्क्रमण सुरु भएको एक महिनामा बारीको खुर्सानी पूर्ण रूपमा नष्ट भएको उनले बताईन ।

रोगका कारण किसानको वर्षभरिको मिहिनेत खेर गएको उनको गुनासो छ । “यो वर्ष एकाएक खुर्सानीमा रोगको प्रकोप बढेको छ”, उनले भनिन, “फल लागेको खुर्सानीको बगान सखाप भयो, मिहिनेत सबै खेर गयो । अब अन्य बाली लगाउन थालेको छु ।”

यहाँ उत्पादित अकबरे स्थानीय बजारसहित झापाको दमक बजारमा पुग्ने गर्दछ । स्थानीय व्यापारीले प्रतिकेजी रु २०० देखि २५० सम्ममा बगानबाटै खरिद गरेर लैजाने गरेका छन् । इलाममा पछिल्लो समय परम्परागत खाद्यान्न बालीको विकल्पका रुपमा अकबरे खुर्सानीको व्यावसायिक खेतीप्रति किसानको आकर्षण बढ्दो छ । नगदे बालीका रूपमा राम्रो आम्दानी दिने भएकाले यसतर्फ किसानको आकर्षण बढेको हो ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  ८ : १८ बजे

कांग्रेस सभापति थापाद्वारा विशेष बैठक आह्वान, सरकारका गतिविधिबारे छलफल हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले

चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार

जनकपुरधाम । दीपावली र छठको पूर्व सन्ध्यामा जनकनन्दनी गाउँपालिका–४ खजुरीका

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

काठमाडौं । लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो बगेर सडकमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक

नागढुंगा-सिस्नेखोला सुरुङमार्गमा आजदेखि टोल शुल्क, कुन सवारीलाई कति ?

काठमाडौं । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आज आइतबार (कात्तिक