काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्समा अनुबन्ध भएका दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर नेपाल आइपुगेका छन् ।
बुधबार बिहान मिलर तेस्रो संस्करणको एनपीएल खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रालिका प्रतिनिधिले स्वागत गरेका थिए ।
३७ वर्षीय बायाँहाते मध्यक्रमका ब्याटर मिलरले दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीसँगै विश्वका चर्चित फ्रेन्चाइज लिगहरूमा आफ्नो प्रभाव छाडेका छन् ।
उनले भारतको इन्डियन प्रिमियर लिग (आईपीएल), अस्ट्रेलियाको बिग बास लिग, पाकिस्तान प्रिमियर लिगलगायत विभिन्न प्रतियोगिता खेलेका छन् । आईपीएलमा उनले दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किङ्स इलेभेन पञ्जाब र गुजरात टाइटन्सबाट खेलेका थिए । सन् २०२२ मा गुजरात टाइटन्सले ऐतिहासिक आईपीएल उपाधि जित्दा मिलर टोलीका प्रमुख खेलाडी थिए ।
कर्णाली याक्स स्पोर्ट्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले मिलरको आगमनले नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने बताएका छन् ।
मिलरले दक्षिण अफ्रिकाका लागि १४० टी-२० अन्तर्राष्ट्रिय खेलमा दुई हजार ८०४ रन बनाएका छन् । यसक्रममा उनले दुई शतक र नौ अर्धशतक प्रहार गरेका छन् । उनले आफ्नो टी-२० अन्तर्राष्ट्रिय करियरका दुई शतक भारत र बंगलादेशविरुद्ध बनाएका थिए ।
समग्र टी-२० क्रिकेटमा ५८४ खेल खेलेका मिलरले १२ हजार ४३५ रन बनाएका छन् । यसक्रममा उनले चार शतक र ५३ अर्धशतक प्रहार गरेका छन् । सन् २०१७ मा बंगलादेशविरुद्ध उनले ३५ बलमै शतक प्रहार गरेका थिए । यस्तै, आईपीएलमा पञ्जाबबाट खेल्दा रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध ३८ बलमै शतक बनाएका थिए ।
कात्तिक ९ गतेदेखि सुरु भएको एनपीएलमा कर्णाली याक्सले तीन खेल खेलिसकेको छ । तीमध्ये दुई खेलमा जित निकालेको कर्णालीले पहिलो खेलमा जनकपुरलाई १९ रन र दोस्रो खेलमा विराटनगरलाई चार विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा भने काठमाडौं गोर्खाजसँग चार विकेटले पराजित भएको थियो ।
कर्णाली याक्सले अब शुक्रबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । उक्त खेलमा मिलर सहभागी हुने जनाइएको छ ।
















प्रतिक्रिया