जनकपुरधाम । भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म जोड्ने नयाँ रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’ मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार (मंसिर ७) भारतको नयाँदिल्लीबाट संयुक्त रूपमा भर्चुअल माध्यमबाट रेल सेवाको उद्घाटन गरेका थिए ।
उद्घाटनपछि सोमबार दिउँसो १२ः३० बजे अयोध्याधामबाट प्रस्थान गरेको रेल मंगलबार बिहान ९ः४० बजे जनकपुरधाम रेल्वे स्टेसनमा आइपुगेको हो ।
रेलको स्वागतका लागि जनकपुरधाम रेल्वे स्टेसनमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा परम्परागत झाँकी आयोजना गरिएको थियो । रेलमा आएका यात्रु तथा भारतीय प्रतिनिधिमण्डलका सदस्यहरूलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र संघीय श्रममन्त्री रामजी यादवले स्वागत गरेका थिए ।
करिब ६०४ किलोमिटर दूरी तय गर्ने यो रेलले भारतको उत्तर प्रदेश र बिहार हुँदै नेपालको जनकपुरधामलाई जोडेको छ । यात्राका क्रममा रेलले मन्कापुर, बस्ती, गोरखपुर, नरकटियागञ्ज, रक्सौल, सीतामढी, शिशो, मधुबनी र जयनगरलगायतका स्टेसनमा रोकिएको छ।
१७ वटा डिब्बा रहेको रेलमा स्लीपर, एसी थ्री टियर, एसी थ्री टियर इकोनोमी र एसी टु टियरका सुविधा उपलब्ध छन् । रेल सेवा सातामा एकपटक सञ्चालन हुने व्यवस्था गरिएको छ ।
भगवान् रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरधामलाई जोड्ने यस रेल सेवाले नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक तथा पर्यटन सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । साथै, दुवै देशका धार्मिक पर्यटकीय गन्तव्यबीच आवागमन सहज बनाउँदै पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने विश्वास गरिएको छ ।
















प्रतिक्रिया