घायल जिन्दगी

लघुकथा
खबर कुरा
२२ कार्तिक २०७७, शनिबार

संस्कारको भूतले जकडेर आइसाको जिन्दगीको पखेटा भाँचियो । न त वार न त पार । घायल जिन्दगी । दहेज नामको त्यो संस्कारको भूतले आइसा सल्मानीको आकांक्षाका ठूला ठूला सपनाहरु भाँचिए । सदा थिचीरहन्छ सांस्कारिक भूतको ऐठनले,उसलाई । घोचिरहन्छ, परिवेशका काँडाहरुले उसलाई । सामथ्र्यहीन भए, यौवनका अकिंंचन पखेटाहरु ।

दिशाहीन भएर सिमसारमा खसेकी परेवा, आइसा । उसको अतीत, चोट लागेको फल । उसको भविष्य, सघन कुहिरोभित्र आकाशमा रन्थनिएको दिशाहीन पंक्षी । उसका आकांक्षाहरु शीतलहरले खाएका आलु टमाटरको खेति ।
उसको जीवनको नैसर्गिक अधिकारमा उसै दिन कालो पोतिएको थियो, जुन दिन ऊ पाँच बर्षकी हुँदा उसकै फुपुको छोरो रम्जान सल्मानीसंग कुसांस्कारिक बैबाहिक बन्धन “निकाह”मा बाँधिएकी थिई ।

गणेशबहादुर जीसी

विवाहको सोह्र बर्ष । दुलही घर लैजान दुलाहा रम्जान सलमानी, आफना बाबु अतिउल्ला र दलबल सहित गौना लिन ससुराल आयो । विवाहमा एकलाख नगद दिएको अब्दुलअली सल्मानीले यनकेन प्रकारेण वीस पच्चीस हजार जति नगद पु-यायो, गौनाको लागि । दुलहा पक्षको माग अनुसार पचास हजार अझ बाँकी रह्यो । पछि दिने सहमतिमा विदाई गरी पठायो,अब्दुलअलीले, छोरी आइसालाई । भान्जा आफनै थियो,आफनै बहिनीको छोरो । ज्वाई आफनै थियो,बहिनीको लोग्ने । पारम्परिक रीति, औपचारिकता पूरा गरेर घर लैजाने र पठाउने कृया सम्पन्न भयो,तत्काल ।

आइसाको बैवाहिक गृहप्रवेशसंगै अनिश्चय नेपथ्यले उसलाई आँैलो ठड्याएर आशंका सोझाइरहेको थियो । दहेज लालचभन्दा माथि पूर्व नाता सम्बन्ध गौण भयो,अतिउल्ला र रम्जानको लागि । त्यसैले सो पूर्व नाताको डोरी छिनाउने सम्भावना प्रवल भएर आयो । उसको संस्कार नै बलियो हतियार बनेको थियो । परोक्षताको रङ्गले भनिरहेको थियो, सुखी दाम्पत्य जीवनको सम्भावना कम, यातना वा तलाकको सम्भावना बढी । अन्ततः दशा बाजा नबजाएरै आयो । विचरी निश्छल, निर्दोष,अनभिज्ञ आइसाको जिन्दगीमाथि ।०
आइसाको गृह प्रबेशको छ महिना । ऋण झिक्ने प्रकृया पूरा भै नसकेकोले आकांक्षा पूरा नहुँदा अब्दुल सल्मानीले सर्त अनुसार दिनमा बाँकी रकम चुक्ता गर्न सकेको थिएन,अब्दुलअलीले । उसको योजना थियो,छोराको सादीबाट आएको दहेजबाट ज्वाइँको आकांक्षा पूरा गरिदिने । उपयुक्त दिनको तयारीमा थियो । तर त्यो दिन आइपुगेको थिएन । आइसापछिका दुई छोराको सादीबाट आएको दहेजमा सोझो अब्दुलले कसिकसाउ नगरेकाले खासै आमदानी भएको थिएन । अरु दुई चार बर्षका दुई छोरीहरु पनि विहे कर्मको पंक्तिमा थिए । सरकारी परिवार नियोजन अभियानमा पनि संस्कार बाधक भएकोले सन्तान उत्पादन कृया निरन्तर थियो, अब्दुल सल्मानीको ।
आफनै भान्जा भनेर छोरी दिइएको रम्जान र आफनै बहिनी ज्वाई भएको अतिउल्ला, द्रब्यपिचास र विवेकहीन भएपछि आइसाको गृह आगमनको छ महिना पश्चात नै घरमा तुषको आगो बल्न सुरु भयो, दाइजोको भूत जागेर । विश्वासको भित्तोमा पैरो गएर ।
पाँच बर्षको अबोध बाल्याबस्थामा बिबाह बन्धनमा बाँधिएकी आइसा सल्मानी सोह्र बर्षकी बैंँशालु तरुणी भएर बिबाहघर पस्दा, पूर्वको फुपाजु वर्तमानको ससुरो भनाउदो अतिउल्ला र पोइ भनाउदो रम्जानको भित्री अनुहार के थाहा विचरीलाई ? अनभिज्ञ थिई ऊ । जोसंग उसले जीवन बिताउनु थियो, उही द्रव्यराक्षस होला भन्ने के थाहा । दहेजमाथि गिद्देदृष्टि रहने पारम्परिक चलन सबैभन्दा कुत्सित,अधम संस्कार थियो । तत्काल उसलाई यति मात्र थाहा थियो कि ऊ, आफ्नै फुपुको घरमा प्रबेश गर्दैछे । राम्रै हुन्छ ।

तरुनी भएपछि मन छामेर,आत्म साटेर, जीवन साथी चुनेर ,ठम्याएर,अझ माया प्रीति जोडेर बिहा गर्न पाएको भए दहेज भोका सर्पहरुबाट डसिनु पर्ने थिएन, उसलाई ।

पूर्ण फक्रिएको तारुन्यता । कस्सिलो आकर्षक यौवन । सम्मोहित प्रेमपूर्ण दाम्पत्य जीवन । राग, अनुरागको आलिंंगन । रंगिला रात र यौवनको रसस्वादन । मानवको नैशर्गिक अधिकार । परन्तु यी सबै मिथ्या बनाइदियो, रम्जानको पाशविकताले आइसाको जीवनलाई ।
छोरी जातको आफनो भनिने स्थायी घर, विवाहपश्चातको घर हो । तर त्यही घर हिंंश्रक पशुको गोठ होला भन्ने आइसालाई के थाहा ?
केही दिन त रम्जान र आइसावीचको सम्बन्ध कहिले मीठो, धेरै तीतो हुँदै कामबासना तृप्ती पनि पर्याप्त गर्यो, कुटिलता भरिएको बोझिल शरीरले । त्यसपछि, क्रमशः आइसामाथि रम्जानको बाबुछोराको दानवीय हर्कत बर्षी हाल्यो
अनावश्यक बखेडा झिकेर तुच्छ ,अधम दुव्र्यवहार शुरु भयो –

“गौनाके बाँक पैसवा अभितक काहे नाइआवा ?” त्यही वहानाको फेर समातेर झुण्डिएका रम्जान र अतिउल्लाको आक्रोसको भुङग्रो दन्किएर दावानल भयो–
“तुरे बापने अभितक अपन वादा काहे पुर नाइकिइस ?”

घेरामा परेकी मृगिणी जस्तै निरीह आइसाले खुट्टा र ओठ थर्थराउदै साहस बटुल्दै दश औला जोडेर अनुनय गरी– “पैसवा नाही पौचा होई । जल्दी लाइदेहै हमार आब्बा” ।

कबुलेको पैसा पाएपछि मोज गर्ने इरादामा ढुक्क फुलेको महत्वाकांक्षी, निर्विवेकी, परामुखी, मूर्ख रम्जानको सङ्कीर्ण दिमागले आइसाको अनुनय नै स्वीकारेन । र एकतर्फी हठ पसार्दै रह्यो । बाबुलाई ढाकछोप गर्न झुठा कुरा बुनेकी भन्ने निउ पसारेर यातनाको क्रम बढाउदै लग्यो ।

एकदिन,पछाडी पिठ्युमा लुकाएको एसिड जस्तो जीवन घातक रसायन आइसाको स्याउदाने कल्कलाउँदो पुष्ट मुखमा निर्ममतापूर्वक खन्याइदियो ।

रम्जानकी आमा, आइसाकी फुपूले “काहे परेसान करथो तुलोक उके हँ?” । भनेर अघिदेखि विरोध गर्दै आएकी सारा सल्मानीको आँखा छलेर त्यो दुष्कृत्य भइछाड्यो,अतिउल्ला र रमजानबाट ।

अन्ततः सांस्कारिक दहेजको भोकको राँकोले आइसाको जिन्दगीलाई जलाएर कुरुपता पोतियो, जीवन र मृत्युको मझधारमा पारेर । उसको जिन्दगीका उत्कण्ठाका प्वाखहरुलाई मूर्ख रम्जानको महत्वाकांक्षाको हुरीले उडायो । अकस्मात उसको जिन्दगीलाई खग्रास सूर्य ग्रहणको अन्धकारले ढाक्यो ।
त्यसपछि माइतीघर नै विचरी आइसाको लामो घायल जिन्दगी धकेल्ने आश्रम स्थल बन्यो ।
०००

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*