मेरो मनको देवकोटा

दीनानाथ शर्मा
२९ कार्तिक २०७७, शनिबार

सयपत्री र गोदावरीको मौसमम त्यसै रमाइलो छ । घाँसिलो मैदानमा शीतको थोपा मोतिझैं टल्किन्छ पहिलो किरणमा र नील गगनमा पङ्ख फिजेर रमेका छन् चरीहरू । तराईका फाँटहरूमा यतिखेर पहेलपुर सुन फलेछ । नीलो आकाशमुनि हरिया पहाडहरू मुस्कुराएका छन् । सुकिला हिमालका टाकुरामा हिँउ थपिन थालेको छ । यो चाडपर्वको मौसम सबैका अनुहारमा खुशीयाली छाएको छ ।

सर्जक

बत्तीको झिलिमिली र आँगनमा देउसी भैलो छ । लक्ष्मीपूजा गरिसकेपछि विक्रम सम्वत् १९६६ कार्तिक २७ साँझ ९ः५४ बजे अमरराज्यलक्ष्मी देवीको कोखबाट नेपाली साहित्यकाशमा एक चहकिलो नक्षत्रको उदय हुन्छ । उनलाई लक्ष्मीकोप्रसाद भनेर स्वागत गरे परिवारले ।

प्रतिभाका प्रसून फक्रिन थाल्छन शरदको आगमनसँगै । सिर्जनाका बहुरङ्गी फूलहरूले ढकमक्क यसै मेसोमा । यो बाली थन्काउने मौसम पनि हो किसानको । समृद्धि र शुभलाभको याम । धन कुवेरको भण्डारमा लक्ष्मी प्रवेश गर्दै गरेको साँझ नेपाली साहित्यको भण्डार भर्न सरस्वती पुत्र देवकोटाले धरतीमा पाइला टेके । प्रतिमाको कोशेली बोकेर सृष्टिको रचनाकारले पठाएको हुनुपर्छ सिर्जनाको फूलबारी सजाउन । नेपाली साहित्यको स्वर्णयुग सुरु हुन्छ उनको अगमनसँगै ।

युग अँध्यारो थियो । निरंकुशताको सिक्रीले बाँधिएका थिए नेपाल आमाका हात गोडाहरू । शिक्षाको उज्यालो प्रकाश छिर्न दिइएको थिएन देशभित्र । तिमिरताको प्रताडनाबाट पीडित थिए झोपडीहरू । चेतनाको दियो जल्न बाँकी थियो पाखा पखेरातिर । तर, अँध्यारो रातको चहकिलो नक्षत्र बनेर आएको थियो एउटा बालक जसले छोटो जीवनकालमै चेतनाको मिसाल बाल्यो र इतिहास रचेर गयो ।

संयोग वा आकस्मिक नियमितता जे भए पनि मेरो विद्यालयका प्रधानाध्यापक २०१६ भाद्र महिनाको अन्तिमसाता काठमाडौं पुगेका थिए । देवकोटाको असामसयीक निधनको खबरले उनी पनि दुःखी भएछन् । अन्तिम श्रद्धान्जली दिन आर्यघाट पुगेको कुरा फर्केर आएपछि हामी कक्षा ५ का विद्याथीलाई सविस्तार वर्णन गरेका थिए । उतिबेला म तेह्र वर्षको मात्रैे थिएँ । उति बेलै मैले देवकेटालाई मन मन्दिरमा सजाएको थिएँ । उतिबेलाको गुरुवचन मेरो मनमा गड्यो । कहिले बिर्सन सकिन ।

मेरो मनको देवकोटा । मेरो आस्थाको धरोहर । मेरो मनको गहिराईमा गडेका देवकोटा मेरो उच्च सम्मान छ । त्यसो त नेपाली साहत्यिाकाशका सबै नक्षत्रहरूप्रति उत्तिकै सम्मान छ तर पनि किनकिन मेरो मनको सिंहासनमा सँधै देवकोटा बसेको पाउँछु । मेरो गुरुले कलिलो दिमागमा देवकोटाको स्वच्छ छवि रोपिदिएर होला म देवकोटासित उतिबेलादेखि नै परिचित छु ।

केही समयपछि विद्यालयको पुस्तकालयमा देवकोटाको जीवनी पुग्यो । पुस्तक मोटै थियो । लेखकको नाम भुलेँ । तर त्यो पुस्तक गहिरो गरी पढेँ । पढ्दा पढ्दै कति ठाउँमा भावुक बनेर रोइदिएको भुलेको छैन । एक दिन नेपाली पढाउने समयमा गुरुले लक्ष्मी निबन्ध संग्रह बोकेर आउनुभयो । हाइ ! हाई !! अंग्रेजी भन्ने निबन्ध रोचक ढंगले वाचन गरेर सुनाउनु भयो । त्यस्तै अरु एक दुई निबन्ध पनि वाचन भयो । मैले उति बेलादेखि नै देवकोटा खोज्न थालेँ । दवकोटा पढ्न थालेँ । लक्ष्मी निबन्ध संग्रहले गहिरो प्रभाव पा¥यो । मुना मदनले सानैमा धेरै पटक रुवायो । पछि देवकोटालाई अद्योपान्त पढेँ । केही सिक्न खोजँे । अलिकति बुझेँ ।

सफल स्रष्टाले वर्तमानको गीत मात्रै गाउँदैन । भविष्यको बाटो देखाउँछ । वर्तमानसित मात्रै रमाउँदैन भविष्यको गोरेटो कोरिदिन्छ । देवकोटा स्वप्नदर्शी थिए । उनले सपना देख्न सिकाए गुरु बनेर । विन्दास बनेर झोक्राए सुदुर क्षितिजलाई नियाल्दै । विस्फारित नयनले निकै परसम्म देख्न सोजिरहन्थ्यो । समयको विरुद्ध उभिएर विद्रोह गर्न सिकाए । कयौं बारबन्देज र सीमा भत्काई दिए परम्पराका । सिंङ्ग जुधाउन पछि परेनन मै हुँ भन्नेहरूसित ।

कल्पनाको उडान मात्रै होइन वस्तुगत धरातलमा उभिएका थिए देवकोटाका भावनाहरू । सूदुर भविष्यसम्म देख्न सक्थे उनले । श्रमको सम्मान गर्थे । विवेकका पारखी थिए । उडानको अन्तरआत्माबाट उनका भावना यसरी प्रस्फुटन भएका थिए :

के हो ठूलो जगतमा ? पसिना विवेक
उद्देश्य के लिनु उडी छुनु चन्द्र एक ।

उनी एक आरोही थिए र सँधै उचाई चुम्न चाहन्थे । सगरमाथाको चुचुरो चुमिसकेपछि पनि उनको मन साँखुम भएन । अनि मनको भाव यसरी पोखे :

पृथ्वीको यो विजय सकिँदा, एक सिंढी उचाली
आत्मालाई मनुजहरूको चन्द्र ताक्ने प्रणाली
होला अर्को सुरु जगतमा काल कोल्टो लिएर
नेपालीकै विजयी भरमा विश्व उठ्ने छ हेर ।

उनको यो अग्रचेतना उनको मृत्युपश्चात लगत्तै यथार्थतामा अनुवाद भयो ।

देवकोटा पढ्दाको मजा अलगै हुन्छ । देवकोटाको साहित्यमा सत्य, न्याय, र यथार्थ छ । समाजको यथार्थ चित्र कोर्न रसिक पारखी प्रतिभाले मात्रै सक्छ । यान्त्रिकता र औपचारिकता कतै भेटिएन देवकोटाको सिर्जनामा । रचना कालजयी छन् । उनको रचनामा वर्तमान बोल्छ । आँत उधिनेर उजागर गर्न सक्ने चातुरी प्रतिभा देवकोटामा भेटिन्छ । चम्पा उपन्यास पढिसकेपछि उन्ताका चम्पाले बेहोरेको बुहारीको बुहार्तन अहिले पनि मध्यम वर्गीय परिवारमा जीवितै देख्छु मैले ।

देवकोटाको काव्यभित्र छिर्दा विषयवस्तु, मर्म, भाव, प्रस्तुती र शैलीले मलाई पगाली दिन्छ । शकुन्तलभित्र छिरेपछि काव्यकलाको सरिताभित्र छालमा तैरिएको पत्तै हुँदैन । शब्द चयन र संयोजनको वैशिष्ठता अदुभूतलाग्छ । देवकोटाकी लेखनी सलिल सरिताभित्र कञ्चन भाव तरङगिणी बनेर कल्पनाकाशमा पौडिखेलेकी हुन्छिन ।

स्वस्थ्य कल्पनाका सर्जक हुन देवकोटा । बेलगाम दौडिन्छ देवकोटाको लेखनी । तीन महिनामा शकुन्तला महाकाव्य लेखेँ भन्दा नाक खुम्चाउने कविहरूलाई दश दिनमै सुलोचना हातमा थमाएर आफ्नो पहिचान बनाएका थिए उनले । ‘अस्वस्थ कल्पनाले मानिस पागल हुन्छ स्वस्थ कपनाले बन्छ कवि’ भन्न पछि पर्दैनन उनी । पागल कवितामा आँफै पागल बनिदिन्छन् । पागल बन्न सोख छ स्वस्थय काल्पनिक संसारमा ।

विद्रोहको गीत गाए सुतेको संसार ब्युँझाउन । लोकलय र लोकभाकामा मुनामदन खण्डकाव्य रचेर सामाजिक परिवर्तनको विगुल फुके देवकोटाले ।

क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुदैन
मानिस ठूलो दिलले हुन्छ जातले हुदैन ।

भन्दै भेदभाव र उचानिचाको परम्परामाथि धावा बोले । भौतिक सम्पत्तिले मात्रैसुखी हुन सकिदैन भन्ने सन्देश दिदै उनले भने :

हातको मैला सुनको थैला केगर्नु ? धनले
साग र सिस्नु खाएको बेस आनन्दी मनले ।

यो जीवन दर्शन हो देवकोटाको । चेतनाको लहर फैलाए सामाजिक परिवर्तनका लागि । युगको प्रतिनिधि कलमले विचार रोप्यो ढुंगाको अक्षरमा । चन्द्रनगिरिको भञ्याङमा उभिएर यात्री कविता कोरे र सिर्जनाको नविन बहार ल्याइदिए नेपाली साहित्यको इतिहासमा ।

आँशु पसिना र अभावका निर्झरिणी बनेर बगेका छन् देवकोटाका रचनाहरू र ढकमक्क फूलेका छन् प्रतिभाका कुमीदिनीहरू । बादलमा बुट्टा भरेर सजाई दिन सपिालु थिए उनी । ल्हासाको सुन बेकार बनाई दिए मदनको । भौतिक सम्पत्तिले मात्रै सुखी हुन सकिँदैन भन्ने सन्देश दिदै :

हातको मैला सुनको थैला केगर्नु ? धनले
साग र सिस्नु खाएको बेस आनन्दी मनले ।

सुनको भोक थिएन । नत भोगको सोख नै । तर नुनको सोझो गर्न चुकेनन् देशको । विणाको भङ्कारमा लठाई दिए युगलाई । कलममा जादु थियो । जुनसुकै बेला बगिदिन्थ्यो बेरोकटोक । उनी युगको प्रतिनिधि थिए । इतिहासका निर्माता थिए । विचारका बहाक र स्वप्नद्रष्टा थिए ।

देवकोटाले चन्द्र र मंगललाई भेट्न चाहे । नौलाखे तारा टिपेर पोल्टाभरी सजाउने रहर साँचे । चन्द्रमासित मितेरी गाँसेर बस्ती बसाउन आतुर छ कविमन । पूर्णेको साँझ बगैंचातिर शीतल तापेर पूर्वी क्षितिजमा नियाल्दा एकैचोटी हाँसिदिन्छन चन्द्रमा र मंगल । अनि कविलाई ताजूव लाग्छ :

चन्द्रमाले यो जाति
माथि डाक्छ ?
मंगलले के नव आवादी
यसको लाग्छ ?
बन्ला हृदय कि ? सीमा नाघ्छ ?
अहो ! मलाई ताजूव लाग्छ

यो उद्गार एक सचेत स्वप्नद्रष्टाको हो । एक अग्रगामी चेतनाले मात्रै देख्न सक्छ अलिपरको कुरा । प्रकृतिको गीत गाउने धेरै थिए । सिर्जनाको खेलो गर्ने कम थिएनन् तर सीमा नाघेर अन्तरिक्षको उडान भर्ने उनी मात्रै थिए । अहिले विज्ञानले उत्खनन गर्न थालेको छ मंगल र चन्द्रमाको ।

चौडा छाती बोकेर जन्मेछन् तीर्थमाधव देवकोटा । लक्ष्मीको उज्यालो अनुहार कहिल्यै देख्न पाएनन् विचराले ! लक्ष्मीप्रसाद भनेर उनको नामको अपमान भयो । सरस्वतीको वरदान थियो यथार्थमा । सँधै सरस्वती नाचिन उनको नजरमा । समयको वायुपङ्खी चढेर उडान भर्न उनले नै सिकाइन । राष्ट्रको लागि न्यौछारवर गरिदिए आफ्नो प्रतिभा र उर्जाशील क्षमतालाई । पाँच दशक बितेको पत्तै भएन ।

पौरखी प्रतिभाले आफ्नो लागि केही साँचेन केही राखेन । सडकमा पोखियो र आफूभित्रको सबै खनाइ दियो नेपाली साहित्यको झोलीमा । हात थाप्नेलाई नाई भनेन साँहिला बाजेले । सँधै खोजी हुन्थ्यो कलम र कापीको । धन दौलत ऐश आरामको खोजी गर्ने फुर्सद भएन । उदात्त उँचो विचार हुनेहरूको मन रित्तो हुँदैन विचार र विवेकको धनी थियो तीर्थे । त्यसैले भन्छ :

गरीब भन्छ सुखको मन झैं धनी
मिल्दैन संसार भरी कतै पनि
विलासको लालस दास छैन म
मीठो छ मेरो रसिलो परिश्रम

श्रमको संसारमा रम्नेलाई धनको लालच हुँदैन । तीर्थे कहिले दुःखी भएन । कसैसित गुनासो गरेन । साहित्य साधनाको आफ्नै संसार बनायो । आफ्नै संसारमा रमायो ।

पागलहरूको वस्ती बसाउन खोज्यो एउटा पागलले । पागल उत्पादन गर्ने कारखाना खोल्यो कीर्तिपुरको डाँडोमा । लाखौं पागल उत्पादन भैसके त्यहाँबाट । कति नक्कली पागलहरू विदेशतिर पलायन भए । सक्कली पागलको खोजीमा टोलाई रहेछ उदासिन अनुहार लगाएर अहिले पनि ।

देवकोटाको गणित आफ्नै छ । हिसाब किताब आफ्नै छ । उसको गणितमा एकबाट एक घटाउँदा एकै बाँकी रहन्छ । न्यूटनको फूलवारीमा स्याउ तल झर्छ । देवकोटाको बगैंचामा पाकेको अम्वा अन्तरिक्षतिर जान थालेको छ माथितिर । अरुको पकेट छाम्ने सद्दे मान्छेको गणित देखेर लजाउँदै छ देवकोटा । इतिहासको यो विडम्वना देखेर लाज मर्नुभएकोे छ । सद्दे मान्छे गन्हाउन थालेको छ । त्यसैले मलाई पनि पागल हुने रहर जागेको छ आजभोलि ।

मलाई पनि देवकोटा जस्तै सच्चा पागल बन्न मन लागेको छ सद्देहरूको माझमा । मलाई पनि बहुलठ्ठी र गधा हुन मन छ । गधाले अरुलाई दुःख दिन जानेन । सबै सहिदिन्छ चुपचाप । भोकै तिर्खै हिँड्यो कति दिन । गुनासो गरेन कतै पनि । अरुको बारीमा पसेर पेट भरेन । गधा इमान्दार छ । पसिना बगाउँछ । गधाको पसिना पिएर मोटाएका छन् मालिकहरू । गधाको पनि मन छ मुटु छ । कोर्राको चोटले उसलाई पनि दुख्छ । गधा लालची छैन । परिश्रमी छ । परिश्रममै बाँचेको छ । चौरमा आफ्नै मुख चरेर बाँचेको छ । त्यसैले मलाई गधालाई ढोगिदिन मन छ ।

उ भाग्यमानी हामी अभागी । उ पागल हामी सद्दे । अल्पायुमै शिखर चुमेर ढल्यो । हामी बाँचेर पनि आधारशिविर देख्न सकेको छैनौ ।

इतिहास रचेर छोड्यो उसले । युगको प्रतिनिधि बनेर आफ्नो शलिक आफै ठडायो । परिस्थिति र परिवेशसित पौंठेजोरी खेल्यो । स्वतन्त्रताको आवाज बुलक गर्दा निर्वासन हुनु परेको बेला आफ्नो उँचाइ थप्न चुकेन । एक स्वतन्त्रता सेनानी बनेर उभियो युगको सारथी बनेर । मिसाल बोकेको एउटा सर्जक एउटा साधकी सिर्जनाको उपहार टक्राउँदै गयो ।

स्रष्ठाको संसारमा जुनकिरीको पिलपिल पछायो उज्यालोको खोजीमा । चेतनाको चारै ढोका खोल्यो र आखिर चन्द्रमालाई छोइ छाड्यो । चन्द्रमाको उडान भरे पनि माटो बिर्सेन कहिले पनि । गुन बिर्सेन मातृभूमिको

कसले सुन्छ ? कसले सुन्छ
मातृभूमिको माटो रुन्छ ।
……………………….
कविको भाखा !
एउटा भीम कुहुन्छ !
मातृभूमिको माटो रुन्छ ।

भन्ने चेतावनी दिएर ढल्यो । चितामा चढिसकेपछि पनि अनुभव पस्कदै :

रहेछ संसार निशा समान
आउन ज्युँदै रहदानी ज्ञान
……………………………..
जन्मे म यो स्वर्ग विषे पलाएँ
आखिर भै खाक त्यसै विलाएँ ।

भन्ने अन्तिम सन्देश दिएर छाड्यो । कालजयी एउटा पागल महाकवि बनेर सधैका लागि बिदा भयो । तर नेपाली साहित्याकाशमा सधैंका लागि ध्रुवतारा बन्यो ।

मेरो मनको देवकोटा । मेरो आस्थाको धरोहर । मन मन्दिरमा सजाइराखेको छु मेरो प्रण मेरो प्रेरणा । आज लक्ष्मीपूजाको झिलिमिली साँझ श्रद्धाञ्जलीको एक थुङगा सयपत्री ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*