त्रिगुण 

निबन्ध
गणेशबहादुर जीसी
२९ कार्तिक २०७७, शनिबार

स्वार्रर…स्वार्र…स्वार्र…। अदृश्य शक्तिबाट नेपथ्यमा सास फेरेको जस्तो आवाज —युवक युवति अन्यौलमा । उनीहरुको किंकर्तव्य विमुढता देखेर अज्ञात अमूर्त शक्तिले पुनःध्यानाकर्षण गर्दै भन्यो—“हाऽऽऽआ…हाऽऽऽ हे युवा मानवहरु हो ! तिमीहरुले देख्ने दृश्य बस्तु म हैन । म त तिमीहरु भित्र रहने अदृश्य शक्ति हुँ । त्यसैले तिमीहरुले भू धरातलीयमा हेरेर हैन,आ—आफनो मानसपटलमा झाँकेर सुन ।”

युवक– एऽऽ त्यसो भए हाम्रै आत्मा बोलेको हो त?

युवकको प्रश्नमा त्यो अदृश्य शक्तिले फेरि आवाज प्रस्फुटन ग-यो– हो । तर हैन ।

युवकः– त्यो हो, हैन भनेको केहो प्रभु ?

वाणीः– तिमीहरुको आत्म पनि हुँ तर आत्मालाई पनि सञ्चालन गर्ने अन्तरनिहित प्रकृति तत्व हुँ म । अर्थात प्रकृतिकै छोरो । प्रकृति

गणेशबहादुर जीसी

माताका छोरा हामी तीन दाजुभाई छौं,सत्व,रज,तम । जसमध्ये म जेठो सत्व हुँ । हामी तीनभाईलाई मान्छेहरुले त्रिगुण भन्छन् । म मान्छेलाई दिग्भ्रमित हुनबाट बचाएर सचेतना,सदबुद्धि दिएर सफल र सत्यबाटो हिडाउने मेरो काम हो । यही मेरो गुण हो ।

युवतिले जिज्ञासा राखी—मान्छे भूलबस स्वयं गलतबाटो तिर लाग्यो भने ?

सत्वले प्रष्ट पा-यो—अहँ, म उसमा विद्यमान भएसम्म मान्छेको बुद्धि अँध्यारो गलतबाटोतिर सोझिदै सोझिदैन । निरावरोध सदा सदचितको सहीबाटामा रहिरहन्छ ।

घर्रर…घर्रर…आवाज । युवक युवती र सत्वको सम्वाद भैरहेको बेला अर्को अदृश्य आवाज आयो । युवकले सोध्यो—उह्..फेरि आवाज आयो, यो कस्को आवाज होला …?

रजले भन्यो—म माइलो गुण रज हुँ । मेरो कामको भूमिका प्राय दाजु सत्वको सहयोगी नै हो । सत्यको फाँटमा मान्छेलाई कृयाशील बनाउने,सिर्जनशील बनाउने,आलस्यतालाई दूर भगाउने, दिग्भ्रमित,गलत कृयाकलापहरुबाट सुरक्षित राख्ने, यिनै हुन मेरा कामहरु । कहिलेकाहीँ भने सत्वलाई पनि उछिनेर/उलंघन गरेर उद्दण्ड कामहरु समेत गरिन्छ । मूलतः मानवलाई साहसिक बनाउनु मेरो काम हो ।

किर्रर..क्वार्रर…किर्रर..क्वार्रर…आवाज । युवतीले अनिष्टकारी आवाजको संकेत पाएपछि सशंकित हुँदै सोधी—कहाँबाट को बोल्नु भाको ?
आवाज—म तम हुँ ,मानव जगतमा निवास गर्ने कान्छो गुण । यानीकी सत्व,रजकै कान्छो भाई ।

युवकले सोध्यो—अनि तपाईको गुणको रुप कस्तो हुन्छ नि ?

आवाज—रुपको कुरा गर्नुहुन्छ भने, जेठा दाई सत्व, बशन्तकालीन दहको पानी जस्तो कञ्चन, चौतारीको पीपलले दिएको वाशन्तीपवन जस्तो शीतल, धोएको लुगा जस्तो धवल, दूध जस्तो सेतो, र सरल रेखा जस्तो सोझो हुनुहुन्छ । माइला दाई रज, पाकेको आँखा जस्तो रातो हुनुहुन्छ । बाटोको धर्का झैँ काहीँ सरल र काँही बक्र भएको हुनुहुन्छ भने म निस्पट्ट कालो अँध्यारो छु, रेखा पनि बक्र । त्यसैले मलाई अँध्यारे काले पनि भन्ने गर्छन मान्छेहरु । मेरो रेखा सदा बक्र नै हुन्छ । किनकी म अनुभूति पनि हुँ ।

म मान्छेलाई काम नलाग्ने भए पनि सृष्टिका लागि भने कामयाबी/बोधगम्य छु । किनभने सृष्टिमा अँध्यारो नभए उज्यालोको अनुभूति कसरी हुन्छ र ? यस्तै असत्य, अधम, तुच्छ नभए सत्य र उच्चताको मूल्यांकन र अनुभूति कसरी हुन्छ र । एकार्थमा भन्नु पर्दा मलाई मान्छेले सुन उध्याउने कसी वा कसौटी भने हुन्छ । यही हो मेरो गुण ।

मेरो लक्षण भनेको मान्छेमा आलस्यता, उद्दण्डता र तामसी जगाउने ,मान्छेका मनमा कुविचार,दुराचारिता आदि भराइदिएर समाजमा अशान्तिको आगो सल्काइदिने र मान्छेका सकारात्मक लक्ष्यलाई खल्बलाइदिने काम र लक्षण मेरो हो । परन्तु मबाट ठक्कर खाएर मान्छेहरु माझिने वा परिस्कृत हुने एउटा मात्र मेरो सदगुण भने पक्कै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*