३ पुस २०८२, बिहिबार | December 18, 2025

सेवा अवधि बढाउन सशस्त्रका ६ डीआईजीको लबिङ, सर्वाेच्चको आदेशमा के छ ?



काठमाडौं । नेपाली सेनाबाट स्थानान्तरण भई आएका सशस्त्र प्रहरी बलका ६ जना नायब महानिरीक्षक (डीआईजी) र एक जना वरिष्ठ उपरीक्षक (एसएसपी) सेवा अवधि बढाउने खेलमा लागेका छन् ।

२०५८ सालमा नेपाली सेनाबाट सेवा परिवर्तन गरी सशस्त्र प्रहरी बलमा आई हाल डीआईजी पदमा कार्यरत ६ र एक जना एसएसपीले तालिम अवधि गणना नगरी सेवा अवधि कायम गर्न माग गर्दै गृह मन्त्रालयमा निवेदन दिएका छन् ।

सेनामा गरेको तालिम अवधिभरको १८ महिनालाई सेवा अवधिमा गणना नगर्न अनुरोध गर्दै उनीहरूले गृहमा निवेदन दिएका हुन् । सेवा अवधि बढाउन उनीहरूले सशस्त्र मुख्यालयलाई समेत बाइपास गरी सिधै गृह मन्त्रालयमा निवेदन दर्ता गरेको पाइएको छ ।

३० बर्से सेवा अवधि सकिन तीन साता बाँकी रहँदा जागिर लम्ब्याउन गृह मन्त्रालय गुुहार्ने डीआईजीहरूमा नगेन्द्र थापा, कवीन्द्रमान श्रेष्ठ, कृष्णभक्त बम्हाचार्य, हरिशंकर बुढाथोकी, राजेन्द्र बस्नेत र हरिशचन्द्र अधिकारी छन् ।

यस्तै, एसएसपी राजेन्द्र शाक्यसमेत जागिर लम्ब्याउने प्रयासमा गृह मन्त्रालय पुगेका छन् । २८ मंसिर २०४७ मा सेनामा प्रवेश गरेका उनीहरूको ३० बर्से सेवा अवधि यही २७ मंसिरमा सकिँदै छ ।

सेवा अवधि लम्ब्याउन गृह गुुहार्ने ६ जना डीआईजीमध्ये चार जना अहिले पनि बाहिनीपतिकै रूपमा कार्यरत छन् । ब्रम्हाचार्य प्रदेश २, बस्नेत गण्डकी प्रदेश, अधिकारी कर्णाली प्रदेश र बुढाथोकी सुदूरपश्चिम प्रदेशको बाहिनीपतिका रूपमा कार्यरत छन् ।

अवकाशको मिति नजिकिँदै जाँदा पनि ब्रम्हाचार्य, बुढाथोकी, बस्नेत र अधिकारीले बाहिनीको नेतृत्व गरिरहेका छन् । उनीहरूमध्ये ब्रम्हाचार्यमाथि आर्थिक असुलीसम्बन्धी आरोप लागेको छ ।

उनलाई सशस्त्र मुख्यालयले बोलाएर मौखिक स्पष्टीकरणसमेत लिइसकेको छ । अनिवार्य अवकाश पाउनु एक महिनाअघि बिदामा बस्ने चलन भए पनि उनीहरू बिदामा बसेका छैनन् ।

यसअघि अवकाशको मुखमा पुगेका बाहिनीपतिलाई प्रधान कार्यालय बोलाएर अन्य डीआईजीलाई बाहिनीपतिको जिम्मेवारी दिइन्थ्यो । सशस्त्र प्रहरी बलमा यस प्रकृतिको यो नै पहिलो घटना भने होइन । कोषराज वन्त सशस्त्र प्रहरी महानिरीक्षक हुँदा २०७१ सालमा तत्कालीन एआईजी ऋषभदेव भट्टराई र सुशीलकुमार श्रेष्ठले पनि सेवा अवधिको गणना थप माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

तर, उनीहरूको ३० बर्से सेवा अवधि सकिन पाँच दिन बाँकी रहँदा तत्कालीन न्यायाधीश गोपाल पराजुली र ओमप्रकाश मिश्रको संयुक्त इजलासले सो मुद्दाका बारेमा अन्तरिम आदेश जारी गर्नु नपर्ने फैसला गर्दै सेवा अवधिमा तालिम अवधि पनि जोडिने फैसला गरेको थियो ।

सो रिटमाथिको ११ भदौको आदेशमा भनिएको छ, ‘यसमा निवेदकले सेवा प्रवेश गरेपछि भएको सिटरोल फारामको व्यक्तिगत विवरणको क्रमसंख्या १८ मा २०४१/०५/१७ बाट सेवा अवधि गणना हुने भनी उल्लेख गरेका र तत्काल प्रचलित शाही सैनिक नियुक्ति प्रमोसन र अरू विविध व्यवस्था साधारण नियमहरू २०२० को नियम २ को उपनियम (२) मा क्याडेटको नोकरी अवधि तथा ज्येष्ठताको गणना निज तालिममा सरिक भएको मितिदेखि गरिने व्यवस्था भएकामा यी निवेदकहरू २०४१/०५/१७ देखि नै तालिममा सहभागी भई २०४२/१०/११ देखि आयुक्त पद पाएकामा विवाद नरहेकाले निवेदकहरूको मागबमोजिम अन्तरिम आदेश जारी गरिरहनु परेन, कानुनबमोजिम गर्नू ।’

सर्वोच्चले अन्तरिम आदेश नदिएपछि तत्कालीन एआईजी भट्टराई र श्रेष्ठले १६ भदौ २०७१ बाट ३० बर्से सेवाकाल पूरा गरी अनिवार्य अवकाश पाएका थिए । सोही मुद्दामा सर्वोच्चका तत्कालीन न्यायाधीश रामकुमार प्रसाद शाह र चोलेन्द्रशमशेर जबराको संयुक्त इजलासले २१ पुस २०७१ मा आवश्यक प्रमाण नपुग्ने भन्दै सो मुद्दा तामेलीमा राख्ने निर्णय गरेको थियो ।

सेनाबाट स्थानान्तरण भई सशस्त्रमा आई आईजीपी बनेका सनतकुमार बस्नेत र शैलेन्द्रकुमार श्रेष्ठले पनि ३० बर्से सेवा अवधिकै कारण अवकाश पाएका थिए ।

गृहले सेवा अवधि थपे के हन्छ ?

गृह मन्त्रालयले निवेदक डीआईजी र एसएसपीको निवेदनबमोजिम सेवा अवधि थपे सबै जनाको १८ महिना सेवा अवधि थपिन्छ । तर, यसले सशस्त्र प्रहरी बलमा कार्यरत अधिकांश अधिकृतको वृत्ति विकासमा गम्भीर असर पर्ने देखिन्छ । आगामी डेढ वर्षसम्म माथिल्लो निकायमा बढुवा ठप्पजस्तै हुनेछ ।

हाल डीआईजीको रोल क्रममा रहेका एसएसपी गणेश ठाडा मगर, कमल गिरी र अभिकुमार खत्रीको बढुवा पनि रोकिनेछ । सिसं १ मा सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भई हाल एसपी रहेकाहरू पनि बढुवामा प्रत्यक्ष प्रभावित हुनेछन् ।

सेवा अवधि बढाइ पाऊँ भनी निवेदन दिनेमध्ये सबैभन्दा बढी फाइदा डीआईजी नगेन्द्र थापा र कवीन्द्रमान श्रेष्ठलाई हुने देखिन्छ । किनभने उस्तै परे उनीहरूमध्ये एक जना सशस्त्र प्रहरी महानिरीक्षकसमेत बन्न सक्छन् । १८ महिना सेवा अवधि थपिँदा उनीहरूको सेवा अवधि २०७९ जेठसम्म पग्छ । जबकि, वर्तमान आईजीपी शैलेन्द्र खनालले २८ चैत २०७८ मै अनिवार्य अवकाश पाउँछन् ।

त्यसपछि तीन साता हालका वरिष्ठ एआईजी पुष्पराम केसी २२ दिन आईजीपी बन्नेछन् । त्यसपछि एक महिनाका लागि वरिष्ठताका आधारमा थापा वा श्रेष्ठ आईजीपी बन्छन् । १० असार २०७४ मा डीआईजीमा बढुवा भएकाले उनीहरूलाई पाँच बर्से डीआईजीकालका कारण पनि आईजीपी बन्न साथ दिन्छ ।

उनीहरूको १८ महिने सेवा अवधि थपिँदा हाल डीआईजी र एसएसपीमा कार्यरत कतिपयले सोही पदबाट अनिवार्य अवकाश पाउनेछन् । यसले समग्र सशस्त्र प्रहरी अधिकृतमै नैराश्य छाउने देखिन्छ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ७ : ०७ बजे

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको

रविलाई रिहा गर्न उच्च अदालतको आदेश, रुपन्देही अदालतमा कागज गरेपछि मात्र छुट्ने

लुम्बिनी ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर,

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार

काठमाडौँ, ३ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको

एमाले नेतृत्वलाई छोएकै दिनदेखि देश ठप्प हुन्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमाले

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत