२१ बैशाख २०८३, सोमबार | May 4, 2026

धवलागिरि आधार शिविर जोड्ने नयाँ पदमार्गमा पूर्वाधार निर्माण सुरु



म्याग्द । म्याग्दीस्थित संसारको सातौँ (८,१६७) मिटर अग्लो धवलागिरि हिमालको आधार शिविर जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ ।

अन्नपूर्ण गाउँपालिकाले पहिचान गरेको जलथले–फगाम–सुवा–मतिचौर–कालीबराह हुँदै रघुगङ्गा गाउँपालिकास्थित धवलागिरि हिमालको दक्षिणी आधार शिविर जोड्ने पदमार्गमा पूर्वाधार निर्माण शुरु भएको हो ।

दानाका बासिन्दाले भेडाबाख्रा र गाईभैँसीको गोठ लेक–बेँसी गराउन प्रयोग गरेको परम्परागत बाटोलाई पर्यटन पदमार्गमा रुपान्तरण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए।

“सडक विस्तारसँगै पुराना पदमार्ग र पर्यटकको बसाइ छोटिएकाले नयाँ पदमार्ग पहिचान गरेका हौँ”, उनले भने, “गोठालाले प्रयोग गरेको बाटोमा पूर्वाधार तयार पारेर पदमार्गमा रुपान्तरण गर्न थालिएको छ ।”

यसअघि पहिचान भएको नारच्याङ हँुदै संसारमै पहिलोपटक आरोहण भएको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने “मौरिस हर्गोज” पदमार्गमा पर्यटन विभागले पूर्वाधार निर्माण शुरु गरेको छ । जलथले हुँदै चारदेखि पाँच दिन पैदलयात्रा गरेर धवलागिरि आधार शिविरमा पुग्न सकिने स्थानीयवासीले बताएका छन् । गाउँपालिकाले चालु आर्थिक वर्षमा पदमार्गको प्रवेशविन्दु जलथलेबाट पदमार्ग निर्माण शुरु गरेको छ ।

उपभोक्ता समितिका अध्यक्ष दुर्गादत्त सुवेदीले जलथलेबाट फगामको चिहानडाँडाको टावरसम्म पदमार्ग निर्माण शुरु भएको जानकारी दिए । सुवेदीका अनुसार उकालोमा १।५ मिटर फराकिलो सिँढी चिनेर एक हजार १३३ मिटर पदमार्ग बनाउन लागिएको छ । “२० सेन्टिमिटर उचाइ र ४५ सेन्टिमिटर चौडाइ भएको सिँढी बनाउने डिजाइन छ”, अध्यक्ष सुवेदीले भने, “विभिन्न ठाउँमा पाँच चौतारी पनि बनाउने लक्ष्य छ ।” गाउँपालिकाले रु १० लाख विनियोजन गरेको जलथले–फगाम पदमार्ग निर्माणमा उपभोक्ताले एक लाख २३ हजार रुपैयाँ बराबरको श्रमदान गर्नुपर्नेछ ।

फगाम, सुवा र जलथलेका बासिन्दा पदमार्ग निर्माणमा खटिएका छन् । ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाउन लागिएको हो । गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले गत आवमा बजेट विनियोजन भए पनि बन्दाबन्दीका कारण कार्यान्वयन हुन नसकेको योजनालाई यसपालि निरन्तरता दिएको बताए ।

धवलागिरि आधार शिविर पुगेपछि रघुगङ्गा, अन्नपूर्ण र थासाङ गाउँपालिकाको सिमानामा पर्ने कालीबराह हुँदै मुस्ताङ निस्कने अर्को धवलागिरि आइसफल पदमार्ग छ । यो पदमार्गअन्तर्गत पर्ने दानाको मतिचौर बराहमा १०८ धारा निर्माण शुरु भएको छ । धारा निर्माण गर्न गाउँपालिकाले आठ लाख विनियोजन गरेको छ ।

जनै पूर्णिमाको दिन पूजाआजा र मेला लाग्ने मतिचौर बराहलाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने उद्देश्यले धारा निर्माण गर्न लागिएको उपभोक्ता समितिका सचिव गङ्गा पुनले बताए। मतिचौर बराहमा जनैपूर्णिमाका दिन पूजाआजा र भाकल गरेमा मनले चिताएको कुरा पूरा हुने विश्वास छ ।

पदमार्गमा पूर्वाधार निर्माणलाई निरन्तरता दिनुका साथै नक्शा तयार पार्न प्राविधिक टोलीसहित स्थलगत सम्भाव्यता अध्ययन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पुनले बताए ।

ग्रामीण बस्ती, जनजीवन, वनजङ्गल, झरना, वन पैदावार, वन्यजन्तु, तालतलैया र अग्ला पहाडबाट हिमालको दृश्यावलोकन गर्न पाउनु यो पदमार्गको विशेषता हो । पूर्वाधार तयार भएपछि पदमार्ग सञ्चालनमा ल्याउने गाउँपालिकाको तयारी छ । -रासस

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ९ : ३६ बजे

नेपाल रेडक्रसद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

गृहसचिवद्वारा सशस्त्र प्रहरीका महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका

भूमिहीनलाई घरबारविहीन नबनाइने : प्रधानमन्त्री शाह

काठमाडौं । बालेन्द्र शाह ले काठमाडौं उपत्यकाका नदीकिनार र सरकारी

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ । नेपाल-चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ-१ ढालुङ र