९ चैत्र २०८२, सोमबार | March 23, 2026

अन्तरगृह परिक्रमा गरी मिथिला परिक्रमा सम्पन्न



जनकपुर । अनेकतामा एकताको विशिष्ट उदाहरणका रूपमा रहेको मिथिला परिक्रमाअन्तर्गत आज श्रद्धालुले जनकपुरधामको अन्तरगृह परिक्रमा गरी मिथिला परिक्रमा सम्पन्न गरेका छन् ।

पन्ध्रदिने उक्त परिक्रमा फागुन प्रतिपदामा शुरू भई पूर्णिमाका दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरी सम्पन्न हुन्छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई केन्द्रबिन्दु मानी यसको चारैतिरका क्षेत्रसँग जोडिएका गाउँ, नगरमा स्थितका तीर्थस्थलको भ्रमण गरिने परिक्रमालाई मिथिला मध्यमा परिक्रमा भनिन्छ ।

मिथिला महात्म्यका अनुसार मिथिलापुरीको यात्राफल राम्रो मानिन्छ । मिथिला क्षेत्रमा भाग्यले जन्म हुन्छ, यस क्षेत्रको यात्रा गर्नाले अनन्त फल प्राप्त हुनुका साथै मुण्डन, एकाध साँझ उपवास र बास बसेमा लाभ हुने विश्वास पनि मिथिला महात्म्यमा उल्लेख छ ।

यस प्रकारको धार्मिक आस्थाका कारण नेपालका कुनाकाप्चा र भारतलगायत अन्य राष्ट्रका श्रद्धालुसमेत मिथिला क्षेत्रको यात्रामा सामेल हुन्छ । ‘जय सिया राम, जय सीताराम’ को ध्वनि घन्काउँदै झ्याली, ढोलक, डमरू, करतल ध्वनिसँगै श्रद्धालु श्री मिथिला विहारीका डोलाका पछिपछि श्रद्धाभक्तिका साथ परिक्रमा गरिहेको दृश्यले जो कोहीलाई पनि मोहित पार्छ ।

सामान्य अर्थमा परिक्रमा भन्नाले कुनै व्यक्ति, देवमूर्ति र पवित्रस्थललाई केन्द्र मानी श्रद्धापूर्वक चारैदिशामा सुनिश्चित भूभागमा घुम्ने धार्मिक क्रियाकलाप हो । हिन्दूधर्म, संस्कृति र परम्परामा यसको ठूलो महत्व रहेको छ । परिक्रमालाई प्रदक्षिणा पनि भनिन्छ । प्रदक्षिणाको परम्परा अति प्राचीन मानिन्छ । यसलाई षड्शोपचार पूजाको अङ्ग मानिएको छ । वैदिककालदेखि नै परिक्रमाद्वारा श्रद्धालुले देवमूर्ति र पवित्रस्थललाई प्रभावित गर्न वा सम्मानका लागि यो कार्य गर्ने गरेको पाइएको छ ।

यज्ञ, मन्दिर, नदी तथा व्यक्ति आदिको परिक्रमा पुण्यदायी हुने गरेको आस्थाअनुरूप मिथिला परिक्रमाअन्तर्गत १३० किलोमिटरका क्षेत्रमा पदयात्रा गरिन्छ । यो परिक्रमा मेलामा सामेल भएमा पापबाट मुक्ति पाउने, रोगव्याधी निको हुने तथा जीवनको अन्त्यमा स्वर्ग प्राप्त हुने जनविश्वास छ ।

यस अवसरमा नेपाल र भारतका मिथिला क्षेत्र उत्सवमय हुन्छ । लाखौँ श्रद्धालुको सहभागिता रहने गरेको सो परिक्रमामा हरेक, धर्म, जातजाति, छरछिमेकका गाउँवासी, इष्टमित्र, घरपरिवारका नातेदारलगायत कर कुटुम्बका लागिसमेत उत्सव आस्थाको केन्द्र रहेको छ ।

अत्यन्त निष्ठा, श्रद्धा र भक्तिपूर्वक नाङ्गै खुट्टा पदयात्रामा सामेल हुने ब्रह्मचर्य जीवनपालन गर्नुपर्ने हुन्छ । वैष्णव, शैव र शाक्त सम्प्रदायको धार्मिक अनुष्ठानका रूपमा माध्यमिकी परिक्रमालाई लिइन्छ । यस अवधिमा साधुसन्तको अवस्था, सानिध्य ल्याउने, भगवत कृपाप्रतिको आस्था, अरूप्रति आश्रित जीवनका कथा, व्यथासमेत सुन्न र अवलोकन गर्न पाइन्छ । सो यात्रामा सामजिक उत्तरदायित्व बहनताको समृद्धि, आपसी सम्बन्ध प्रगाढताको सन्देश लुकेको पाइन्छ । यात्रा गरिरहँदा शारीरिक सङ्कुचन पर जान्छ, मानिस फूर्तिला, जोशिला र जाँगरिला बन्ने प्रेरणा पनि दिन्छ ।

इतिहासकारहरूका अनुसार यो परिक्रमा विसं १८१० मा प्रारम्भ भएको हो । पहिले यस मार्गमा जङ्गल थियो भने हाल बस्ती रहेको छ । अचारी बाबाको सत्प्रयासले परिक्रममा पथ हाल सहज भएको बताइन्छ । अचारी बाबापछि उहाँका शिष्य लाडली शरण सो जिम्मेवारी सम्हाले । उनले कचुरी पठका महन्त थिए । त्यसैबेला खेअि परिक्रमाको मूल डोला कचुरी मठबाट शुरू हुने परम्पराको थालनी भएको हो ।

परिक्रमा पथको जटिलताका कारण केही वर्ष बन्द हुन गएकामा विसं १९६४ मा सीतामढीबाट आएका प्रेमलताले यसलाई पुनःप्रारम्भ गरेको प्रेमलता चरितममा उल्लेख गरिएको छ । यो परिक्रमाको डोला धनुषा जिल्लाको कचुरी गाउँको मिथिला विहारी मठबाट उठेर हनुमाननगरमा राति बास बस्दछ । त्यहाँ नित्यकर्म सकेर भजनकीर्तन गरी भगवान् सीतारामको पूजनपछि हनुमानमूर्तिको दर्शन र आशीष लिने चलन छ ।

परिक्रमा मेलामा जनकपुरधामको अग्निकुण्डबाट माता जानकी र कचुरी मठबाट भगवान् रामको डोलाको नेतृत्वमा १५ दिने परिक्रमा गरिन्छ । परिक्रमाका दोस्रो दिन हनुमाननगरबाट प्रस्थान गरी भारत विहार प्रान्तको कल्याणेश्वर स्थानमा पुगेर कल्याणेश्वर महादेवको दर्शन गरिन्छ । भोलिपल्ट गिरिजास्थानका लागि प्रस्थान गरी राति बाास बस्ने र अन्य दिन झैँ भक्तिभावमा लीन हुने चलन छ । प्राचीन समयमा जानकी माता गिरिजास्थानमा रहेको कुण्डमा स्नान गरी गिरिजाको पूजाअर्चना गर्ने गरिएको विश्वास छ ।

गिरिजास्थानबाट महोत्तरी जिल्लाको मटिहानी बजारमा डोला प्रस्थान गर्छ । मटिहानी जानकी माताको विवाहमा मटकोर गरिएको ठाउँले ख्याति प्राप्त गरेको हो । मटिहानीमा उक्त दिन ठूलो मेला लाग्ने र सीमापारि मधवापुरबाटसमेत श्रद्धालु आउने गर्छन् ।

मटिहानीबाट परिक्रमाको डोला जलेश्वर प्रस्थान गर्छ । उक्त ठाउँमा भगवान् शङ्कर जलमा निवास गरेकाले पनि बेग्लै धार्मिक महत्व छ । पञ्चमी तिथिमा जलेश्वरबाट मडई भन्ने ठाउँमा परिक्रमा डोला बास बस्दछ । उक्त ठाउँ माण्डव्य ऋषिको बासस्थानले प्रख्यात छ ।

यहाँबाट ध्रुवको तपोभूमि धु्रवकुण्ड पुगेर डोला कञ्चन वन पुग्दछ । उक्त ठाउँ इच्छावती गङ्गा र विरजा गङ्गाको सङ्गमस्थल रहेको छ । इच्छावती नदी भगवान् रामको होली उत्सव मनाउन सिर्जना भएको थियो ।

कञ्चन वनबाट परवतामा विश्राम गरिन्छ । यो स्थान पाँच पर्वतको सङ्गमस्थल रहेको छ । परवताबाट धनुषाधाममा परिक्रमाले विश्राम लिने र सो ठाउँमा श्रीरामले भाँचेका धनुषको टुक्रा खसेका कारण धनुष दर्शनका लागि पनि अनुकूल अवसर प्राप्त हुन्छ ।

दशमी तिथिमा सतोखर भन्ने ठाउँमा तीर्थालु बास बस्छन् । यो स्थल सप्तऋषिको तपोभूमि रहेका कारण ख्याति कमाएको छ । त्यसपछि औरही, करूणा हुँदै पुनःकल्याणेश्वर स्थान भई बिसौलमा विश्राम गरिन्छ । यो स्थलमा विश्वामित्रको मन्दिरमा पूजापाठ गरिन्छ । चतुर्दशीका दिन उक्त ठाउँबाट डोला जनकपुरधाम आई विश्राम गरी भोलिपल्ट पूर्णिमाका दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरी मेला सम्पन्न हुने परम्परा रहेको छ । परिक्रमा सम्पन्न भएको भोलिपल्ट यस क्षेत्रमा होली मनाइने परम्परा रहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  १ : २८ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा