२० माघ २०८२, मंगलबार | February 3, 2026

खुले काठमाडौं महानगरका विद्यालय



काठमाडौं । आइतबारदेखि काठमाडौं महानगर क्षेत्रका सबै विद्यालयमा भौतिक उपस्थितमै पठनपाठन सुरु भएको छ । असोज ६ गते बसेको काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा विभागको बैठकले असोज १० गतेदेखि विद्यालय खोल्न सक्ने निर्णय गरेको थियो ।

विभागका प्रमुख रामप्रसाद सुवेदीले जारी गरेको २७ बुँदे स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर काठमाडौंका सबै विद्यालय सञ्चालकले विद्यार्थीको भौतिक उपस्थितमै विद्यालय खोलेका हुन । विद्यालय आउन पाउँदा र साथीभाइ भेट्न पाउँदा विद्यार्थीहरू उत्साहित भएका छन । नानीबाबुलाई विद्यालय पठाउन पाउँदा अभिभावकहरू पनि दंग देखिएका छन ।

कालीमाटीस्थित नीलवाराही माध्यमिक विद्यालयमा बालकक्षादेखि १२ सम्मका हजार विद्यार्थी विद्यालयमा आउन पाउँदा निकै रमाए । यो विद्यालयमा तीन सिफ्टमा विद्यार्थीलाई पढाउने व्यवस्था मिलाइएको छ । बिहान ६ देखि १० बजेसम्म कक्षा ११ र १२, बिहान १० देखि दिउँसो १ बजेसम्म आधारभूत तह, दिउँसो १ देखि ४ बजेसम्म कक्षा ९ र १० सञ्चालन गर्न थालिएको विद्यालयकी प्रधानाध्यापक जानुका नेपालले बताइन ।

‘मास्क, सेनिटाइजर र भैतिक दूरी अनिवार्य रूपमा कायम गरिएको छ,’ नेपालले नागरिकसँग भनिन्, ‘बालबालिका र तिनका अभिभावकहरूमा कोभिडले निकै सचेतना जगाएको छ ।’ विगतमा केही लापरबाही गरे पनि अहिले अभिभावकहरू नानीबाबुको सिकाइ निरन्तर गराउन र स्वास्थ्य सुरक्षाको ख्याल राख्न सचेत बनेको देखिएको अनुभव उनले सुनाइन ।

विद्यालयमा भेटिएकी सविता चौधरीले नानीलाई स्कुलमा भौतिक रूपमा पठाउन पाउँदा निकै खुसी लागेको बताइन । आफू काममा जानुपरेकाले छोराको अनलाइन कक्षा राम्ररी सञ्चालन हुन नसकेको गुनासो उनमा रहँदै आएको थियो । तर, आइतबारदेखि स्कुल खुलेपछि समस्या दूर भएको उनको भनाइ थियो ।

‘घरमा बाबुलाई मोबाइल छाड्नुपर्ने, उसले अनलाइन कक्षाको भिडियो अफ गरेर गेम खेल्न थाल्ने रहेछ । अनलाइन कक्षाले छोरालाई मोबाइलको किरो पो बनायो,’ सविताले भनिन्, ‘बजार सबै खुले । म काममा जानुपर्‍यो । बच्चालाई हेरिराख्ने कि काममा जाने समस्या आइतबारबाट दूर भयो ।’ स्कुलले पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेको उनले जानकारी दिइन ।

बच्चाहरू घरभन्दा सुरक्षित रहने भएकाले स्कुल निरन्तर लाग्नुपर्नेमा उनले जोड दिइन । सोही स्कुलको कक्षा २ मा पढ्ने आयुष श्रेष्ठ पनि स्कुलमै रमाइलो भएको सुनाउँछन । ‘घरमा जेल बसेजस्तो लाग्न थालिसकेको थियो,’ उनी भन्छन्, ‘स्कुलमा गीत गाउन, खेल्न, पढ्न र साथीसँग रमाइलो गर्न पाउँछ । मलाई स्कुलमै रमाइलो लाग्छ । मास्क मैले लगाएकै छु । सेनिटाइजर पनि मसँग छ ।’

महानगर शिक्षा विभागले असोज १० गतेदेखि विद्यालय औपचारिक रूपमै खोल्न सक्ने निर्णाय गरेपछि महानगर क्षेत्रका विद्यालयहरूले आफ्ना शैक्षिक गतिविधि अगाडि बढाउन थालेको त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए । ‘महानगर शिक्षा विभागले नै आधिकारिक रूपमा विद्यालय खोल्न पाउने निर्णय गरेलगत्तै महानगरभित्रका विद्यालय केहीले भौतिक रूपमै पठनपाठन सुरु गरेका छन्, केहीले परीक्षा सञ्चालन गरीरहेका छन ।

केहीले अझै वैकल्पिक विधिबाट पठनपाठन गरिरहेका छन्,’ कँडेलले भने, ‘विश्व निकेतनमा शिशु कक्षादेखि स्नातकसम्म करिब ४ हजार विद्यार्थी छन । आइतबारदेखि विद्यालय खुलेको छ । विद्यार्थी रमाएर उत्साहित भएर स्कुल आएका छन । असोज १४ गतेदेखि कक्षा ९ र १० को अनि असोज १७ गतेदेखि कक्षा ११ र १२ को पहिलो त्रैमासिक परीक्षा सञ्चालनको तयारीमा छौं ।’

यसैगरी थापाथलीमा रहेको गुहेश्वरी बालशिक्षा माविकी प्रधानाध्यापक नीता पोखरेलका अनुसार आइतबार सबै कक्षा सञ्चालन भए । ‘हाम्रो स्कुलमा कक्षा १० सम्म २ सय विद्यार्थी मात्र छन्,’ उनले भनिन्, ‘स्वास्थ्य सुरक्षाको सम्पूर्ण मापदण्ड अपनाउनुका साथै स्कुलले कार्ड सिस्टम पनि अपनाएको छ ।’ शौचालय जानुपरे कक्षामा उपस्थित शिक्षकसँग कार्ड लिएर मात्र जाने पाउने व्यवस्था गरिएको उनले बताइन । ‘शौचालयमा भिड कम गराउन यसो गरिएको हो,’ उनले भनिन ।

विभागका प्रमुख रामप्रसाद सुवेदीका अनुसार विभागले २७ बुँदे स्वास्थ्य सुरक्षाको मपादण्डको कार्यान्वयनमा कडाइ गरेको छ। अनुगमन र नियमनको चुस्त व्यवस्था छ । ‘विद्यालयहरूले विद्यालय सञ्चालनको विस्तृत कार्ययोजना बनाई अनिवार्य रूपमा शिक्षा विभागमा पेस गर्नुपर्छ,’ प्रमुख सुवेदीले भने, ‘सम्पर्कमा रहने शिक्षक, कर्मचारी, चालक, सहचालकलगायत सबैले खोप लगाएको सुनिश्चित गर्ने यदि खोप लगाउन बाँकी भए तुरुन्त कामपा स्वास्थ्य विभागमा सम्पर्क गरी खोप लगाउनुपर्नेछ ।’ आजको नागरिक दैनिकमा रुबी रौनियारले यो समाचार लेखेकी छन ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ७ : ०८ बजे

भूमध्यसागरमा चक्रपात ह्यारीको कारण एक हजारको मृत्यु

रोम । सन् २०२६ को जनवरीमा मात्र मध्य भूमध्यसागरीय क्षेत्रमा

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

बुटवल उपमहानगरपालिकामा २५ गतेदेखि एचपिभी खोप सञ्चालन हुने

बुटवल । बुटवल उपमहानगरपालिकाले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’

प्रतिनिधिसभा निर्वाचन : झापा-१ मा मतदाता फकाउँदै दलहरु

झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा झापा निर्वाचन

एमाले जनताको विश्वासको घर हो : उपाध्यक्ष पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री बिष्णु प्रसाद पौडेलले