१० श्रावण २०८३, आइतबार | July 27, 2026

पाल्पाको रामपुरमा खुल्यो फनपार्कः आन्तरिक पर्यटकको घुइँचो



पाल्पा । रामपुरमै पहिलो पटक खुलेको ‘चिल्ड्रेन फनपार्क’मा यतिखेर सबैको आकर्षण बढेको छ । बालबालिकालाई लक्षित गरी हालैमात्र रामपुर नगरपालिका-५ स्थित बेझाड खेतमा सुरु गरिएको फनपार्क अहिले पर्यटकको गन्तव्यस्थल बन्न थालेको छ ।

विशेषगरी यहाँ साँझपख आन्तरिक पर्यटकको भीड लाग्ने गरिन्छ । दिनभरको कार्यालयको थकान मेट्ने र बालबालिका भुलाउने माध्यम बनेको छ, फनपार्क । विद्यालय बिदाको समय र दसैँपर्व भएकाले पनि अहिले यहाँ बालबालिकाको भीड लागेको छ ।

पार्कभित्र विभिन्न प्रकारका पिङ, चिप्लेटी, जम्पिङलगायत एक दर्जनभन्दा बढी मनोरञ्जनात्मक खेलका सामग्री उपलब्ध छन् । खेलकूदका लागि प्रतिव्यक्ति रु ५० र अवलोकनका निम्ति रु २० प्रवेश शुल्क तोकिएको छ । स्थानीयवासी गोविन्द पाण्डे र शोभा पाण्डेले यहाँको पर्यटन विकास र बालबालिकालाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले करिब रु ४० लाख लगानीमा सो फनपार्क सञ्चालनमा ल्याएका हुन् ।

एक महिनाअघि देखि सुरु भएको पार्कमा दैनिक दुई सयदेखि पाँच सयसम्म बालबालिका आउने गरेका छन् । रामपुरमा जनघनत्व बढ्दै गएको अवस्थामा पर्यटन विकास गर्न र यहाँको आवश्यकतालाई मध्यनजर गर्दै बालबालिकालाई लक्षित गरी फनपार्क सञ्चालनमा ल्याएको सञ्चालक गोविन्द पाण्डेले बताए । “बालबालिकालाई बिदाको समय घुम्ने र खेल खेल्ने ठाउँ नहुँदा उनीहरुलाई दृष्टिगत गर्दै कमसेकम विभिन्न मनोरञ्जन दिन सकियो भने मानसिक विकास हुनेछ भन्ने मनसायले पार्क सञ्चालनमा ल्याइएको छ”, उनले भने । अहिले सुरुआती चरणमा बालबालिकालाई लक्षित गरी विभिन्न खेलजन्य मनोरञ्जनका सामग्री प्रयोगमा ल्याइएको छ भने अब युवायुवतीलाई पनि मनोरञ्जन प्रदान गर्ने खालका सामग्रीको बन्दोबस्त गर्ने उनको भनाइ छ ।

११ वर्ष बहराइनमा बसेका पाण्डेले विदेशको अनुभव र यहाँको प्रचुर सम्भावना देखेर पार्कको अवधारणा ल्याएका हुन् । बालबालिका मात्रै नभएर सबै उमेर समूहका व्यक्ति अवलोकनका निम्ति यहाँ आउने गरेको सञ्चालक शोभा पाण्डेले बताउँछिन् । दशवर्ष सम्मका लागि चार रोपनी जग्गा भाडामा लिएर पार्कको पूर्वाधार तयार पारी सञ्चालनमा ल्याइएको छ । हाललाई एक वर्षको भाडा एक लाख २५ हजार रुपैयाँ छ ।

विद्यालय छुट्टीको समय बेला बेलामा पार्कमा आएर खेल खेल्दा धेरै रमाइलो लागेको विधान सिग्देलले अनुभव सुनाए । रामपुरमा पहिलो पटक बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको फनपार्कले बिदाको समय बच्चाबच्ची भुलाउने माध्यम बनेको स्थानीयवासी इन्द्रराज सिग्देलले बताए । “विद्यालय बिदाको बेला बच्चाबच्चीले घुम्न जान मन गर्ने, नजिक घुमाउने खालको मनोरञ्जनको ठाउँ नहुँदा उनीहरुको रहर पूरा गर्न सकिएको थिएन, अहिले बच्चाबच्चीलाई लक्षित गरी विभिन्न मनोरञ्जन प्रदान गर्न पार्कमा ल्याउन पाइएको छ”, उनले भने ।

विशेषगरी विद्यालय बिदाको समय बालबालिकाले अन्यन्त्र घुम्न जान मन गर्छन् । मनोरञ्जनकै लागि उनीहरुले भनेको समयमा बाहिर लिएर जान कहिलेकाहीँ अभिभावकलाई समय मिल्दैन भने कतिलाई अन्यत्र लैजान आर्थिक समस्या हुन्छ । यसकारण पनि यहाँ बालबालिकालाई मनोरञ्जन दिलाउन सञ्चालन गरिएको पार्कले रामपुरको पर्यटन विकासमा ठूलो योगदान दिने रामपुर नगरपालिका-५ का सदस्य विष्णुप्रसाद बस्यालले बताए । उनले भने, “रामपुरको पर्यटन क्षेत्रको विकासका लागि फनपार्कको आवश्यकता थियो । यहाँको पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । महिना दिन अघिमात्रै सुरु गरिएको पार्कमा दिनहुँ भीड लागिरहेको छ ।”

राम्रै धान उत्पादन हुने खेतलाई पार्क बनाइएको छ । बालबालिकालाई बिदाको समय मनोरञ्जनका खेल सामग्री खेलाउन बुटवल, पोखरालगायतका सहरमा लैजानुपर्ने बाध्यता टरेको छ । यहाँभित्र बालबालिकाका लागि विभिन्न मनोरञ्जनका खेल सामग्री, फोटो खिचाउनका लागि विभिन्न दृश्य छन् । यसले गर्दा पनि बालबालिका मात्रै नभइ युवायुवती पनि फोटो खिचाउन र अवलोकनका निम्ति यहाँ पुग्ने गरेका छन् । रामपुरमै पहिलो पटक सुरुवात भएकाले पनि यसले सबैको मन तानिरहेको छ । रासस

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ७ : ४१ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले