१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

काठमाडौं भित्रिने प्रमुख नाका नागढुङ्गामा डिस्इन्फेक्सन टनेल सञ्चालन



काठमाडौं । राजधानी प्रवेश गर्ने प्रमुख नाकाका रुपमा रहेको नागढुङ्गामा निजी क्षेत्रको पहलमा सवारी साधन निःसङ्क्रमण गराउने ‘डिस्इन्फेक्सन टनेल’ सञ्चालनमा आएको छ ।

काठमाडौँ उपत्यकामा विद्युतीय सवारी साधन सञ्चालन गर्दै आएको सुन्दर यातायातको पहलमा तयार भएको उक्त टनेल शुक्रबारदेखि सञ्चालनमा ल्याएको हो । काठमाडौँ भित्रने सवारी साधनलाई कोरोना भाइरसको जोखिम हुन नदिइ प्रवेश गराउने लक्ष्यका साथ सरकारको स्वीकृतिमा सो यातायातले टनेल निर्माण गरेको हो ।

लकडाउनको समयमा खाद्य पदार्थ तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई निःसङ्क्रमण गराएर प्रवेश गराउन टनेल निर्माण गरिएको सो यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको २४ घण्टामा नै आफूहरुले टनेल निर्माण गरेको, ठूला सवारी साधन एक मिनेटमा र साना सवारी साधन ३० सेकेण्डमा नै निःसङ्क्रमण गर्न सकिने उहाँले बताउनुभयो ।

स्वास्थ्य सेवा विभागले स्वीकृत गरेको क्लोरिनजस्तै झोल राख्नका लागि सोही कम्पनीले नै दुई हजार लिटर क्षमताका दुई र एक हजार लिटर क्षमताका दुई गरी कूल छ हजार लिटर क्षमताका ट्याङ्की राखिएको छ । हरेक दिन पानी र क्लोरिन झोल मिलाएर सवारी साधनलाई निःसङ्क्रमण गरिने छ । क्लोरिनका लागि मात्रै दैनिक रु एक हजार २०० खर्च हुनेछ ।

“हामीले स्वीमिङ पुलको पानी शुद्ध बनाउन प्रयोग हुने औषधि प्रयोग गरेका छौँ, जुन क्लोरिनजस्तै हो । मानव स्वास्थ्यका लागि त्यसले कुनै हानी गर्दैन”, अध्यक्ष थापाले भन्नुभयो । सो यातायातले रु चार लाखको लगानीमा उक्त टनेल निर्माण गरेको हो । टनेल निर्माणका लागि १७ मजदुर खटिएको जानकारी दिँदै उहाँले सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर काम गरेको बताउनुभयो ।

एक लिटर क्लोरिन झोलसहितको पानीले ठूला सवारी साधन र सानाका लागि भने असाध्यै कम परिमाणमा समेत निःसङ्क्रमण गराउन सकिने उहाँको भनाइ छ । अध्यक्ष थापाका अनुसार कूल २० फिट लम्बाइ र १६ फिट उचाइको टनेल निर्माण गरिएको हो । तीन इन्चका पाइपले चारैतिरबाट क्लोरिन झोल फाल्ने भएकाले राजधानी भित्रने सबै सवारी साधन निःसङ्क्रमण हुने छ ।

सवारी साधनलाई निःसङ्क्रमण गराएर मात्रै राजधानी प्रवेश हुन दिँदा त्यसले राजधानीवासीलाई थप सुरक्षित बनाउनेछ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले कोरोनाबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्ने लक्ष्यका साथ नगरपालिकाको संयोजनमा डिस्इन्फेक्सन टनेल सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार नाकामा सुरक्षाका लागि बस्ने नेपाल प्रहरीले टनेलको व्यवस्थापन एवं सञ्चालन गर्नेछ । आवश्यक पानी उपत्यका खानेपानी व्यवसायी सङ्घले दैनिक एक ट्याङ्कर उपलब्ध गराउनेछ । टनेल सञ्चालनका लागि चन्द्रागिरि नगरपालिकाको २ नं वडाले विद्युत् सेवा उपलब्ध गराएको छ ।

सवारी साधनलाई मात्रै निःसङ्क्रमण गराउँदा पनि ठूलो राहत महसुस हुने भए पनि काठमाडौँ छिर्ने यात्रुलाई भने स्वास्थ्य परीक्षण गरेर आउने वातावरण मिलाइएको छ । नेपाल चिकित्सक सङ्घ र नेपाल रेडक्रस काठमाडौ जिल्ला शाखाले स्वास्थ्य परीक्षणको लागि आवश्यक स्वास्थ्यकर्मीको व्यवस्थापन गरिरहेका जनाइएको छ । कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख लिशा नकर्मी, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की र सुरक्षाकर्मीको उपस्थिति थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  २ : ४३ बजे

इलाम-२ मा सुहाङ नेम्वाङ विजयी

इलाम । इलाम-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङ विजयी भएका

तेस्रो लगानी सम्मेलन : ‘पर्यटनमा लगानीको ढोका खुल्यो’

काठमाडौं । मुगुको प्रसिद्ध रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि