२२ बैशाख २०८१, शनिबार | May 4, 2024

हुम्लीको पीडाः चार किलो चामल लिन पनि नागरिकता अनिवार्य



हुम्ला । नेपाल खाद्य संस्थानबाट सहुलियतमा बिक्रीवितरण हुँदै आएको चामल लिन हुम्लीहरूले अनिवार्य रूपमा नागरिकताको फोटोकपी पेस गर्नुपर्ने भएको छ ।

पछिल्ला दिनमा हुम्लाका नागरिकले चार किलो चामलका लागि नागरिकताको फोटोकपी बुझाउनुपर्ने नियम बनाइएको हो । समयमै ढुवानी नहुँदा अनुदानको खाद्यान्न पाउनबाट यहाँका बासिन्दाले झन्झट बेहोर्नुपरेको हो ।

तीन महिनासम्म चामल बिक्रीवितरण बन्द गरेको खाद्य लिमिटेड शाखा हुम्लाले शुक्रबारबाट पुनः बिक्रीवितरण थालेकोमा चामल मौज्दात कमी भएको भन्दै नागरिकता पेस गर्नुपर्ने उर्दी गरेको हो । चामल भने चार किलो मात्रै दिइनेछ ।

खाद्य लिमिटेड शाखा हुम्लाको यो नियमले हुम्लाका जनता आक्रोशित भएका छन् । ४-४ घण्टा पैदल हिँडेर आउँदा पनि जम्मा चार किलो चामलका लागि नागरिकता पेस गर्नुपरेको भन्दै उनीहरूले आक्रोश पोखेका हुन् ।

नागरिकताको फोटोकपी पेस नगर्दा चामल नपाइने स्थानीयवासी गणेश बोहराले बताए । उनले भने, ‘यसअघि चामल लिन वडाले दिने रासन कार्ड भए हुन्थ्यो, यसपटक भने नागरिकता नै अनिवार्य गरिएको छ, नागरिकताको फोटोकपी गर्न पनि १० रुपैयाँ लाग्छ । यसले गर्दा सर्वसाधारण थप मारमा परेका छन् ।’

प्रत्येक महिना पाउनुपर्ने भए पनि समयमै ढुवानी नहुँदा यहाँका नागरिक चामल पाउनबाट वञ्चित भएका छन् । भौगोलिक रूपमा विकट हुम्लामा लिमिटेडले समयमै चामल ढुवानी नगरिदिँदा करिब ६० हजार सर्वसाधारण समस्यामा परेका छन् । कमिसनको खेलले तीन महिना बित्दासमेत चामल ढुवानी हुन नसकेको उनीहरूको आरोप छ ।

तीन महिनापछि बल्ल चामल वितरण गरेको भए पनि उनीहरूले एक महिनाको मात्रै चामल पाएका छन् । लिमिटेडको हुम्ला शाखामा मौज्दात न्यून भएका कारण चामल बिक्रीवितरण नभएको संस्थानले जनाएको छ ।

चामल पाउन लाइन बस्नुपर्ने बाध्यता छँदै छ । अनुदानमा ढुवानी भएर आएको चामल लिनका लागि आफ्नो नागरिकता दिनुपर्ने यो कस्तो नियम भन्दै स्थानीयवासी जानकी भण्डारीले गुनासो पोखिन् ।

यता प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले चामल पाउने नागरिक नदोहोरिऊन् र उनीहरूले चामल पाए-नपाएको विवरण राख्न नागरिकता अनिवार्य गरिएको बताए । चामल पाउनबाट कोही नछुटून् भन्नका लागि उनीहरूको नागरिकता माग गर्ने निर्णय भएको उनले बताए ।

यसअघिको राशन कार्डको व्यवस्थाले अनियमितता भएको गुनासा आएकाले नागरिकता अनिवार्य गरिएको उनको भनाइ थियो ।

खाद्य व्यवस्था समितिको बैठकले जन्म, मृत्यु र अति आवश्यकका लागि साताको एक दिन शुक्रबार कार्यालय खोल्ने निर्णय गरेको छ । तर, लिमिटेडले त्यसविपरीत गोदाम खोलर आफ्नो अनुकूल चामल वितरण गरिरहेको छ ।

समितिले गोदाममा चामल मौज्दात गरेर महिनाको एकपटक सिमकोट गाउँपालिका–१ देखि ८ सम्मका साथै बजारवासी र कर्मचारीका लागि वितरण गर्ने नियम बनाएको भए पनि यसको कुनै कार्यान्वयन नभएको बताइएको छ ।

अहिले झन्डै १ हजार २ सय क्विन्टल मात्रै चामल मौज्दात रहेको लिमिटेड शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले बताए । त्यही मौज्दात रहेको चामल तीन महिनादेखि नपाएका सर्वसाधारणलाई वितरण गर्न थालिएको उनले बताए ।

गत असोजपछि सर्वसाधारणका लागि बिक्रीवितरण बन्द गरिएको उनले बताए । साउन, भदौ र असोज महिनामा भने अघिल्लो वर्षको मौज्दात खाद्यान्नबाट बिक्री गरिएको थियो । शाखाबाट ३ हजारभन्दा बढी मासिक रूपमा खाद्यान्न पाउने ग्राहक रहेका छन् । आजको राजधानी दैनिकमा मिमसिंह नेपालीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ७ : ५३ बजे

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी सुरु

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तराष्ट्रिय

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

सुर्खेत । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘सिद्धार्थ

गुरुकुल एकेडेमीमा शिक्षक प्रशिक्षण सम्पन्न

कपिलवस्तु । कपिलवस्तु-६, बर्मेलीमा अवस्थित गुरुकुल एकेडेमीमा विद्यालयका शिक्षक शिक्षिकाहरुलाई

मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैन, यहाँका जनताको आर्थिक एवं सामाजिक विकासमा लाग्नेछु : प्रधानमन्त्री प्रचण्ड

सर्लाही । प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको

सुदूरपश्चिमको प्रदेश सभा बैठक आजपनि स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि