२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

कानुन अभावले रेल सञ्चालनमा ढिलाइ



काठमाडौं । झन्डै डेढ वर्षअघि भारतबाट करिब १ अर्ब रुपैयाँ खर्च गरेर ल्याइएको रेल सञ्चालनमा फेरि ढिलाइ हुन पुगेको छ । रेल सञ्चालनका लागि १ फागुनदेखि नै ड्राई रन सुरु गरिए पनि उद्घाटन नहुँदा औपचारिक सञ्चालन हुन सकेको छैन । सरकारले उद्घाटन गरेर रेल सञ्चालनको तयारी गर्दै गर्दा अध्यादेश नै निष्क्रिय बनेपछि कानुन अभाव सिर्जना भएको थियो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् अवरोध गरेका कारण विधेयक प्रक्रिया पनि अघि बढ्न सकेन । संसद् अधिवेशन अन्त्य भएसँगै सरकारले पुनः अध्यादेश ल्याएपछि अब भने रेल सञ्चालनका लागि कानुनी बाटो खुलेको छ ।

रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले अब चाँडै उद्घाटन मिति तय गरेर औपचारिक रूपमा रेल सञ्चालनमा ल्याउने बताएका छन् । ‘रेल सञ्चालन गर्ने तयारी भइरहेको बेला कानुनको अभाव सिर्जना भयो, कानुन नै थिएन, फेरि अध्यादेश जारी भएकाले अब चाँडै उद्घाटन गर्छौं,’ उनले भने ।

गत १ फागुनयता हर्न बजाउँदै दिनहुँ नेपाली रेल रित्तै जनकपुर हुँदै कुर्था पुगेर फर्किने गरेको थियो । उद्घाटनको प्रतीक्षामा यसरी दिनहुँ कुद्ने रेल आजभोलि भने दिन बिराएर कुदाउन थालिएको छ । ‘आजभोलि दिन बिराएर ड्राइ रन हुँदै आएको छ, कति ठाउँमा ढुंगा सम्याउनुपर्ने भएकाले रेल रन हुँदा सम्भव नभएकाले दिन बिराएर रन हुने गरेको छ,’ झाले भने ।

यसअघि, फागुन तेस्रो साताभित्र रेलको उद्घाटन गर्ने लक्ष्य राखेर १ फागुनदेखि नै नेपाल रेलवे कम्पनीले ड्राई रन सुरु गरेको थियो । सरकारले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट संयुक्त रूपमा उदघाटन गर्ने तयारी गर्दै आएको छ ।

दुवै देशका प्रधानमन्त्रीबाट उद्घाटन गराउने समय नजुर्दा रेल सञ्चालनमा ढिलाइ हुन पुगेको बताइन्छ । रेलवे कम्पनीले भने दुवै देशका प्रधानमन्त्रीको समय नमिल्दा भन्दा पनि योबीचमा कानुनको रिक्तताका कारण सञ्चालन हुन नसकेको जनाएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री देउवाको चैत तेस्रो साता हुन गइरहेको भारत भ्रमणका क्रममा जनकपुर–जयनगर रेल सेवा शुभारम्भ गर्ने तयारी छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा १८-२० चैतमा हुन गइरहेको भारत भ्रमणका क्रममा देउवा र मोदीले संयुक्त रूपमा रेल सेवा शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ ।

स्रोतका अनुसार बिहीबार साँझसम्म प्रधानमन्त्रीको भारत भ्रमणबारे औपचारिक निर्णय हुने सम्भावना छ । भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा जनकपुर-जयनगर रेल सेवा शुभारम्भ गर्ने तयारी छ ।

रेलको ड्राई रन गर्न भारतको कोंकण रेलवे कम्पनीका १४ जना प्राविधिक र नेपाली टोली अहिले खटिएको जनाइएको छ । कोंकण कम्पनीका २६ जना प्राविधिकसहितको टिमले भने उदघाटनपछि रेलवे सञ्चालन गर्नछ । कोंकण कम्पनीका बाँकी १२ जना कर्मचारी उद्घाटनपछि मात्र आउने नेपाल रेलवे कम्पनीले जनाएको छ ।

१६ महिनाअघि रेलका दुईवटा सेट ३ असोज २०७७ मा भारतबाट ल्याइएको थियो । रेलको ड्राई रन सुरु गर्नुअघि धनुषाको इनरुवास्थित रेल्वे स्टेसनमा १ वर्ष बढी समय पालले छोपेर रेल राखिँदै आएको थियो ।

भारतीय रेल्वे कम्पनीसँग एक वर्षको वारेन्टीमा खरिद गरिएको रेलको वारेन्टीसमेत समाप्त भइसकेको छ । तत्कालीन सरकारले कानुन, भौतिक पूर्वाधार तथा जनशक्तिको व्यवस्थापन तथा तयारी नै नगरी हतारमा रेल ल्याउँदा लामो समय सञ्चालनबिनै थन्किन पुगेको थियो ।

सन् २०१४ देखि बन्द रहेको नेपालको एक मात्र रेलमार्ग पुनः सुरु गर्न लागिएको हो । यो रेलमार्गमा २०७५ पुसमै रेल सञ्चालन गर्ने घोषणा सरकारले गरेको थियो । आजको राजधानी दैनिकमा टेनिस रोकाले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ७ : १८ बजे

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं। राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

लोकतन्त्रको विकासमा जगतको अहम् भूमिका हुन्छ : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास,

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती-१७ का मीनबहादुर महतोले धान

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु

डढेलो बस्तीमा पस्दा रामेछापमा एक जनाको मृत्यु

दोलखा । रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो