११ भदौ २०८३, बिहिबार | August 27, 2026

वैशाखमा नआउने भयो पाइपलाइनबाट पेट्रोल



भारतबाट पाइपलाइनमार्फत आउने भनिएको पेट्रोलियम पदार्थ आउन अझै केही समय लाग्ने भएको छ। वैशाखसम्म सबै काम सकेर पेट्रोलियम पदार्थ ल्याउने लक्ष्य भए पनि पाइप बिच्छ्याउन बाँकी रहेकाले केही समय लम्बिने नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए।

जम्मा ७० किलोमिटरको पाइपलाइन भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म बिछ्याउनुपर्ने हो। निर्देशक पौडेलका अनुसार पथलैयादेखि अमलेखगञ्जसम्म अझै ८ किलोमिटर पाइप बिछ्याउन बाँकी छ। यो क्षेत्रमा रूख कटानको काम लम्बिएपछि वैशाखमा भनिएको पेट्रोलियम पदार्थ नआउने भएको हो।

रूख कटानका निम्ति क्याविनेटले निर्णय गरेपछि टिम्बर कर्पोरेशन अफ नेपाल (टिसिएन) ले टेण्डर आह्वान गरेको हो। टेण्डर प्रक्रियामा जाँदा समय लम्बिएकाले वैशाखमा नै आउने सम्भावना कम भएको पौडेलको भनाइ छ।

‘धेरै ढिला त हुँदैन। एक महिना जति हो। वैशाखको अन्तिमसम्म भए पनि ल्याउने योजना छ। त्यहीअनुसार काम गरिरहेका छौं,’ उनले भने। वैशाखको अन्तिमसम्म पहिलो परीक्षणका रूपमा भए पनि ल्याउने योजना रहेको उनले बताए।

भारततर्फ भने पाइपलाइन बिच्छ्याउने काम सकिएको उनले जानकारी दिए। टिसिएनले एक साताअघिबाट रूख काट्न थालिसकेको छ। नौ किमीमध्ये सात किमीमा रूख कटान काम बाँकी छ। रूख काट्दै जाने र काटिएको ठाउँमा पाइपलाइन बिच्छ्याउँदै लगिने पौडेलले बताए।

पौडेलका अनुसार पथलैयादेखि अमलेखगञ्जसम्म ६ हजार ९ सय ५३ टा रूख काट्नु पर्नेछ। ती रुखबाट आएका दाउरा स्थानीयलाई दिने नेपाल सरकारको नीति छ।

दाउरामा स्थानीयबीचको विवादले पनि पाइप लाइनको काम लम्बिएको निर्देशक पौडेलले बताए। आ–आफ्नो क्षेत्रमा परेको रूख त्यस क्षेत्रका स्थानीयले लिनेगरी सहमति भएको छ।

गत चैतको अन्तिम साता भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा उनका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुक्तरुपमा मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका थिए। त्यसपछि जमिनमुनि पाइप बिछ्याउने काम सुरु भएको हो।

अमलेखगञ्ज डिपोभित्र ४ वटा ट्यांकी छन्। दुइटा ट्यांकीको मर्मतसम्भार र पाइप फेर्ने काम सकिएको छ। दुइटाको बाँकी छ। यो सफा गर्ने काम भारतीय आयल कर्पोरेशनले गर्दै आएको छ।

पाइपलाइनबाट प्रतिघण्टा ३ सय किलोलिटर पेट्रोलियम पदार्थ आउने अनुमान गरिएको छ। यसरी पेट्रोलियम पदार्थ भित्रिएपछि निगमको वार्षिक ७० देखि ८० करोड रूपैयाँ बचत हुने अनुमान छ।

यो परियोजनाका लागि भारतीय आयल कर्पोरेशनले भारू २ सय करोड अनुदान दिएको छ। नेपाल तर्फबाट ७५ करोड लगानी गर्ने निगमले जानकारी दिएको छ।

नेपालको ७५ करोड अहिले खर्च भएको छैन। यो रकम ४ हजार केएल क्षमताको पेट्रोलियम भण्डारण, ट्यांकर लोडिङको संरचना लगायत अन्य क्षेत्रमा खर्च गरिने निगमको भनाइ छ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ५ : ५१ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि